|

गोरखा : बारपाकका धनीराम घले ६६ वर्षका भए। उनका अनुसार पाँच/सात वर्ष अघि सम्म हरेक वर्ष मंसिरको दोस्रो हप्ता कटेपछि बारपाकमा हिउँ पथ्र्याे। विस्तारै हरेक वर्ष बारपाकमा हिउँ पर्ने समय पछि हुँदै गयो। गएको हिउँदमा पनि बारपाकमा हिउँ परेन।

‘यो वर्ष बारपाकमा झर्नु त परको कुरा बुद्ध हिमालमा पनि हिउँ सकिँदै गयो’ धनीराम भन्छन् ‘बारपाकभरी हिउँको थुप्रो लाग्थ्यो। अहिले त बुद्ध हिमालमा नै छैन। हिमाल नजिकैका डाँडाहरु सेतै हुन्थ्यो कालो ढुङ्गाहरु मात्रै देखिएको छ। हिउँदमा हिउँ पथ्र्यो। बर्खायाममा पनि हिमाल कालो त देखिँदैनथ्यो। अहिले त हिमाल नै कालो देखिएको छ। 

बारपाकबाट देखिने पारीका डाँडा र बुद्ध हिमाल वरपर अहिले कालो पत्थर बाहेक केही देखिन्न। आफूले ६६ वर्ष उमेर काट्नै लाग्दा बारपाकमा पहिलो पटक यस्तो मौसम भएको धनीराम सुनाउँछन्।

धनीराम जस्तै बारपाकै ८१ वर्षकी बुधमाया गुरुङ पनि दंग छिन्। ‘यसपाली त के पो भएको हो’ उनी थप्छिन् ‘लाप्राकको गुप्सी हुँदै बारपाकमा हरेक वर्षको हिउँदमा हिउँको थुप्रो लाग्थ्यो। अहिले त सेता हुने डाँडा सबै कालो हुँदै गए। रुविनाला भञ्ज्याङ नागेपोखरीको डाडाँ छेउमा सेताम्मै हुन्थ्यो।’ 

जलवायु परिवर्तनको असरले यस्तो भएको भन्नेकुरा बुधमायाले पनि सुनेकी छन्। ‘ठूला ठूला देशहरुले उद्योग खोलेर हाम्रो देशको हिमाल पग्लेको भनेर भनेको सुन्छु हो कि होइन’ उनले भनिन् ‘त्यसै हो भने त नेताहरुले भन्नुपर्‍यो हिमाल कालो भयो भनेर।’ हिउँ नपरेकोले बारी जोत्न पनि समस्या हुने बारपाकीहरु बताउँछन्। बारपाक समुन्द्री सतहदेखि दुई हजार मिटर उचाईमा  रहेको बस्ती हो। बारपाकमै पर्ने बुद्ध हिमालमा हिउँ दिनदिनै पग्लँदै जाने, हिउँले ढाकेर सेताम्मै हुने डाँडाहरु कालो पत्थरमात्रै देखिनाले बारपाकीहरु अचम्मित छन्। 

जलवायु परिवर्तनको असर हिमालसम्म पुगेको भन्दै असरलाई रोक्न सरकारले विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनीहरुको भनाइ छ। जलवायू परिवर्तनले बारपाकबाट देखिने अन्य हिमाल तथा पहाडहरु पनि कालो पत्थरहरु बढी देखिन थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.