|

  • मिलन विक

पाल्पा : गएराति तिनाउ खोलाले जिप बगाउँदा बेपत्ता भएकाहरु अझै भेटिएका छैनन्। बिहे भोजमा सहभागी भएर फर्किएका ४ जना सवार लु१ज १२१७ नम्बरको जिप गएराति १२ बजे पाल्पाको माथागढी– ३ साराईबाट तिनाउ खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए।

बेपत्ता हुनेहरुमा तानसेन– १ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी–१ का ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा र ४० वर्षीय पदम बहादुर कवँर मगर रहेको प्रहरीले जानकारी दिएको छ। गाडी चालक शक्ति श्रेष्ठको भने शकुसल उद्धार गरिएको छ।

आइतबार अपराह्नदेखिको वर्षाले तिनाउमा पानीको बहाब निकै उच्च छ। अहिले पानी रोकिए पनि खोलामा पानी नघट्दा खोजी कार्यमा कठिनाइ भएको प्रहरी उपरीक्षक वाग्लेले बताए। उनका अनुसार खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरीले गाडीको ट्युब प्रयोग गरेर खोजी गरिरहेको छ।

बुटवलतर्फबाट पनि खोजी भइरहेको वाग्लेले जानकारी दिए। लेदो सहितको धमिलो पानी र खोलामा उच्च बहाब रहेको छ। 

डेढ घण्टासम्म उद्धार हुन नसक्दा बगायो जिप

चालक श्रेष्ठका अनुसार खोलामा पुग्दा गाडीको स्टार्ट बन्द भयो। पटक–पटक प्रयास गर्दापनि स्टार्ट नभएपछि उनीहरुले फोनमार्फत आफन्तलाई खबर गरेका थिए। करिब डेढ घण्टापछि आइपुगेका आफन्तले डोरीमार्फत गाडीमा रहेकाहरुलाई उद्धार गर्न प्रयास गरेका थिए।

त्यसक्रममा आफूमात्र निस्किन सफल भएको चालक श्रेष्ठले बताए। बाँकी चारजनालाई गाडीसहित नै खोलाले बगायो। बेपत्तामध्ये तिलवीर जिल्ला वन कार्यालयका सवारी चालक हुन् भने श्रीमती माया जिल्ला कृषि विकास कार्यालयकी कर्मचारी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.