'उपयोग' ले दिलायो दुई वडामा जित

|
फाइल फोटो

काठमाडौं : २०७० सालको संविधान सभा निर्वाचन बहिस्कार गरेको मोहन वैद्य किरण नेतृत्वको दलको स्थानीय तह निर्वाचनमा सहभागिता यसपटक चर्चामा रह्‍यो।

२०७३ फागुन अन्तिमसम्म स्थानीय तहको निर्वाचनलाई औचित्यहीन भनिरहेको वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चैतमा सम्पन्न केन्द्रीय समिति बैठकबाट चुनावलाई उपयोग गर्ने निर्णय गरेको थियो।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नाममा पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको क्रान्तिकारी माओवादीले पहिलो चरणमा दुईवटा स्थानीय तहमा केही पद जितेर आफ्नो अस्तित्व जोगाएको छ। दोस्रो चरणमा भने उसका उम्मेदवारहरूले कतै जित्न सकेनन्। 

तत्कालीन एकीकृत नेकपा माओवादी र उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'दक्षिणपन्थी संशोधनवादमा पतन भएको' आरोप लगाउँदै २०६९ असार ४ गते बाहिरिएको समूहले नयाँ दल नेकपा-माओवादी गठन गरेको थियो। पछि नेत्रविक्रम चन्द विप्लवसहितको समूह यो पार्टीबाट बाहिरिएर नेकपा माओवादी (पछि नेकपा) गठन गरेपछि पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राखिएको थियो।

कहाँ कहाँ थियो उम्मेदवारी?

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले २९ जिल्लामा उम्मेदवारी दर्ता गरेको थियो। जसमध्ये दुई वडामा उसले आफ्नो अस्तित्व जोगाउन सफल भयो।

असार १४ गते सम्पन्न दोश्रो चरणको निर्वाचनमा मोर्चाले प्रदेश नम्बर १ मा २४ स्थानीय तह, प्रदेश नम्बर ५ मा २३ स्थानीय तह र प्रदेश नम्बर ७ मा ९ स्थानीय तह गरी जम्मा ५६ स्थानीय तहमा उम्मेदवारी दिएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य इन्द्र राउतले जानकारी दिए। 

प्रदेश नम्बर १ मा तेह्रथुमका दुई, खोटाङका ४, मोरङका ७, धनकुटाका दुई, उदयपुरका ३ र  सुनसरीमा  ६ गरी जम्मा २४ स्थानीय  तहमा उसले उम्मेदवारी दिएको थियो। प्रदेश नम्बर ५ मा रुपन्देहीका ७, कपिलवस्तुका ५,नवलपरासीका ३, दाङका ५ र प्युठानका ३ गरी २३ स्थानीय तहमा क्रान्तिकारी माओवादीले उम्मेदवारी दिएको थियो। प्रदेश नम्बर ७ मा बैतडीको एक, कैलालीका ४, कञ्चनपुरमा दुई र बर्दियामा दुई गरी ९ तहमा उम्मेदवारी दर्ता गरेको थियो। 

कस्तो रह्‍यो नतिजा?

वैशाख ३१ मा निर्वाचन भएका ३४ मध्ये २९ जिल्लामा क्रान्तिकारी माओवादीले उम्मेदवारी दिएको थियो। ती मध्ये प्रदेश नम्बर ४ को बाग्लुङ र प्रदेश नम्बर ३ को काभ्रेमा एक/एक वडामा उसले जित हात पार्‍यो।

बाग्लुङको निशीखोला गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षसहित सबै पदमा क्रान्तिकारी माओवादीका उम्मेदवारले जित हात पारे। तेजेन्द्र विक्रम कुँवरले ४१३ मतसहित वडा अध्यक्ष निर्वाचित भए। दुई खुला वडा सदस्यमा लालबहादुर कुँवर ३५५ र रुपेश प्रसाद श्रेष्ठले ३४९ मतका साथ जित हात पारे। महिला वडा सदस्यमा टिका कुमारी कुँवर ३८४ र दलित महिला सदस्यमा अमृता परियार ३७३ मत प्राप्त गरी विजयी भए।

यस्तै काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा तेजबहादुर मगर (१८४) र महिला सदस्य पदमा गोपीमाया मगर(१६९) ले जित हात पारे।

ठूला दलहरूले जितहारको हिसाबसहित चुनावी तालमेल गरेका बेला क्रान्तिकारी माओवादीले भने आफ्नो मतरक्षा गर्ने भन्दै कसैसँग तालमेल गरेको थिएन। तर पार्टीकोनीति विपरीत बाग्लु‌ङमा चुनाव जितेका उम्मेदवारले माओवादी केन्द्रसँग तालमेल गरेका थिए।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको गृहनगर दाङको घोराही उपमहानगरपालिकामा वैद्यकै भाइ बुहारी सुशीला आचार्य वैद्य उपमहानगर प्रमुखको उम्मेदवार थिइन्। उनले जम्मा ८१ मत पाइन्। दाङ जिल्लामा क्रान्तिकारी माओवादीले जम्मा १६९ मत पायो। त्यसैगरी प्युठानमा उसले जम्मा २२१ मत पायो।

पहिलो चरणको निर्वाचनमा तीन प्रदेशमा दुई वडामा अस्तित्व जोगाउन सके पनि दोश्रो चरणको निर्वाचनमा परिणाम निराशाजनक रह्‍यो।  

पार्टीलाई थाहा छैन प्राप्त मतको तथ्यांक

पहिलो र दोश्रो चरणको निर्वाचनमा क्रान्तिकारी माओवादीले कति मत पायो भन्ने तथ्यांक उक्त पार्टीमा छैन। नेकपा क्रान्तिकारी माओवादीका कार्यालय सचिवसमेत रहेका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले पार्टीको आन्तरिक काममा व्यस्त रहनुपरेकोले आफ्ना उम्मेदवारहरूले कति मत ल्याए भनेर हेर्ने फुर्सद नभएको प्रतिक्रिया दिए।

अपेक्षित मत नआउनुका ५ कारणः वैद्यको विश्लेषण

चुनाव उपयोग गर्ने नीति भएकाले परिणाम जे भएपनि तेश्रो चरणअन्तर्गत असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावमा सक्रियतापूर्वक भाग लिने क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण बताउँछन्।

‘चुनाव उपयोग गर्ने कुरामा नीतिगत रुपमा हामी सफल भएका छौं’, मंगलबार बिहान बुद्धनगरस्थित पार्टी कार्यालयमा भेटिएका अध्यक्ष मोहन वैद्य किरणले थाहाखबरसँग भने, 'हामीले चुनावमा सिधै भाग लिएका होइनौँ। मोर्चामार्फत नितान्त उपयोग गर्ने हिसाबले भाग लिएका हौँ।'

चुनावको उपयोगले पार्टी बनाउन सहयोग गरेको वैद्यको दावी छ। 'पार्टी जनताको घरदैलोमा पुगेको' भन्दै उनले चुनावमा देखिएको उभारलाई पार्टी बनाउन प्रयोग गरेको बताए। जित्न मात्र चुनावमा नगएको भन्दै अध्यक्ष वैद्यले चुनाव उपयोगले पार्टीलाई फाइदा गरेको बताए। यद्यपि चुनावमा अपेक्षित मत प्राप्त गर्न नसक्नुका कारण उनले यसरी विश्लेषण गरेः

१) मतदाता नामावलीमा नाम नहुनु

अध्यक्ष वैद्यका अनुसार आफ्ना अधिकांश मतदाताको नाम मतदाता सूचीमा थिएन। २०७० सालको स‌‌विधान सभा निर्वाचन बहिष्कार गरेका कारण फोटोसहितको मतदाता नामावलीमा पार्टीका समर्थकको नाम छुटेको थियो। स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय ढिलो भएका कारण पनि आफ्ना समर्थकले मतदाता नामावलीमा चाहेर पनि नाम लेखाउन नपाएको उनको विश्लेषण छ।

२) चुनाव चिह्न नहुनु

पार्टीको आफ्नै चुनाव चिह्न नहुँदा पनि अपेक्षित मत नआएको वैद्यको दावी छ। कुनै वडामा पूरै टिमले उम्मेदवारी दर्ता गर्दा पनि फरक फरक चुनाव चिह्न भएका कारण उम्मेदवार चिनेका मतदाताले पनि चुनाव चिह्न चिन्न नसक्दा आफ्नो मत अन्तै गएको उनको भनाई छ।

३) प्रचारका लागि कम समया

चुनावको प्रचारप्रसारका लागि समय कम हुँदा अपेक्षित मत ल्याउन नसकेको अध्यक्ष वैद्यको भनाई छ।

४) ठूला स्थानीय तह

स्थानीय तहको पुनर्संरचना गर्दा बनाइएको तहको आकारका कारण पनि चुनावको सही ढंगले उपयोग गर्न नसकेको उनी बताउँछन्। 'भूगोल ठूलो भयो। जसले गर्दा मतदातालाई चुनाव चिह्न चिनाउन र सचेत गराउन सकिएन', वैद्य भन्छन्।

५) प्रचार अभाव

वैद्यले ठूला पार्टीहरूको जस्तो मिडियाबाजी र प्रचारप्रसार नगर्दा पनि अपेक्षित परिणाम ल्याउन नसकेको दावी गरे। 'हामीसँग आर्थिक पनि अभाव रह्‍यो। मिडियाबाजी र प्रचारप्रसारमा पनि समस्या रह्‍यो, यसको असर चुनावको परिणाममा पनि पर्‍यो', उनी भन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.