|

काठमाडौँ: वैदेशिक रोजगार यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन असार ३० गते हुँदै छ। निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरू भने मत माग्न व्यस्त छन्।

छ सय रुपैयाँ शुल्क तिरेर सदस्यता नवीकरण गर्ने यस संघमा रहेका ८९७ सदस्यमध्ये ८५२ सदस्यले मतदान अधिकार पाएका छन्।

निर्वाचनको क्रममा दुई समूहमा देखिएका व्यवसायीहरूले आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट वर्तमान अध्यक्ष विमलप्रसाद ढकाल र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट वर्तमान महासचिव रोहन गुरुङको समूहले उम्मेदवारी दिएका छन्। विभिन्न राजनीतिक दल तथा क्षेत्र तथा जातविशेषमा गरी वैदेशिक रोजगार व्यवसायी संघभित्र आठवटा समूह रहेका छन्। यीमध्ये छ समूहले प्रगितशील समूहलाई समर्थन गरेका छन् भने दुई समूहले लोकतान्त्रिक समूहलाई समर्थन गरेका छन्।

निर्वाचनका लागि तिलक रानाभाटको संयोजकत्वमा कुमार खत्री र शम्भु निरौला सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ। यो समितिले असार ३० गते निर्वाचन गराउनेछ। २१ जनाको कार्यसमिति रहने यस समूहमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष गरी सात जना पदाधिकारी र १० जना सदस्य निर्वाचनबाट आउनेछन्। निर्वाचित कार्यसमितिले पूर्व अध्यक्षमध्येबाट चार जना सदस्य छनोट गर्नेछ।

लोकतान्त्रिक समूह

दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र तराई वैदेशिक रोजगार समाजबीच तालमेल गरिएको छ। कांग्रेस समर्थित र तराई वैदेशिक रोजगार समाजबीच धेरै पहिलेदेखि नै एकता रहेको र यसलाई निरन्तरता दिएको महासचिवका उम्मेदवार सुजित श्रेष्ठले बताए। यस समूहबाट अध्यक्षका उम्मेदवार वर्तमान अध्यक्ष विमलप्रसाद ढकाल रहेका छन्। त्यस्तै प्रथम उपाध्यक्षको उम्मेदवारका रूपमा प्रज्ञान न्यौपाने रहेका छन् भने द्वितीय र तृतीय उपाध्यक्ष क्रमश: भुवन गुरुङ र नवलकिशोर यादव रहेका छन्।

महासचिवमा सुजित श्रेष्ठ र  सचिवमा विनोदजंग केसीले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा राधिका कटुवालले उम्मेदवारी दिएकी छन्।

प्रगतिशील समूह

प्रगतिशील समूहमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाजबीच तालमेल भएको छ। यस समूहबाट अध्यक्ष रोहन गुरुङ, प्रथम उपाध्यक्ष रामप्रसाद भान्तना, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमश: सुवर्ण श्रेष्ठ र शुक्र पाख्रिन रहेका छन्।

त्यस्तै, महासचिवको उम्मेदवारका रूपमा नरेश गेलाल रहेका छन् भने सचिव र कोषाध्यक्षको उम्मेदवारका रूपमा क्रमश: ईश्वर जीसी र रमिला ताम्राकार रोकाया मगरसहित १० जना सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।

२०४९ सालबाट सुरु भएको यस संघको प्रथम अध्यक्ष महेन्द्र शेरचन रहेका थिए भने अहले १५अौँ अध्यक्षको पर्खाइमा व्यवसायीहरू रहेका छन्। यस संघमा अहिलेसम्म प्रेमबहादुर गुरुङ र निर्मल गुरुङ दोहोरिएर अध्यक्ष भएका छन्। विमलराज ढकालले दोस्रो कार्यकालका लागि पुन: उम्मेदवारी दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.