|

गुल्मीः अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आइतबार रातीदेखि अवरुद्ध बनेको छ।

उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बाँदरे भीर र चिउरेनी भीरलगायतका दर्जनौँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो।

जिल्लामा सबैभन्दा बढी सवारी साधन संचालन हुँदै आएको अतिव्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँका लागि छुट्ने सवारी साधनहरू संचालनमा आउन सकेका छैनन्।

पानी परिरहेको र माथिबाट पहिरो खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको र मानिसहरूलाई पैदल हिँड्न पनि समस्या भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताए।

पहिरो गएका कारण आइतबार रातीदेखि गुल्मीको मुसिकोटदेखि तम्घास सडकखण्डसमेत अवरुद्ध बनेको छ। अविरल वर्षाका कारण गुल्मी जिल्लाका तीन दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। जिल्लाको सदरमुकाम तम्घासबाट जिल्ला इस्मा, अर्जै, सिमलटारी, पुर्कोटदह, पौदी अमराई, नेटालगायतका स्थानमा पुग्ने कच्ची सडक बिग्रिएकाले सवारी साधन सञ्चालन बन्द भएका छन्।

ग्रामीण भेगका कच्ची सडक वर्षातको पानीले बगाउँदा सडकमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सडक जोखिममा पारेको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.