|

सुर्खेत : जिल्ला सदरमुकाम जोड्ने सडकहरुको अवस्था दयनीय छ। ग्रामीण सडकहरुको समयमै स्तरोन्नती नहुँदा सुर्खेतमा यातायात संचालनमा समस्या छ। सडकको मर्मत सुधार नहुँदा यात्रुहरुलाई असहज यात्रा गर्नुपर्ने बाध्यता छ।

पानी पर्ने बित्तिकै सडक हिलाम्मे हुने गरेकाले आवतजावतमा समस्या हुने गरेको स्थानीयहरु बताउँछन्। ठाउँ–ठाउँमा गाडी रोकिने गरेका कारण स्थानीय बासिन्दाहरु चढ्दै र झर्दै गाडी धकेल्छन्।

सुर्खेत सदरमुकामसँग जोडिएको लेकबेसी नगरपालिका अन्तर्गत धुलियाबिट भेडाबारी सडक कच्ची भएकोले स्थानीय बासिन्दाले सास्ती व्यहोर्नु परेको छ। कच्ची सडकको सास्ती खेप्दै आएका यात्रुहरुले उक्त सडक खण्डमा वर्षातमा आउने पानीले सडक हिलाम्मे हुने गरेकाले थप सास्ती खेप्नु पर्ने बाध्यता छ।

सदरमुकाम वीरेन्द्रनगर आउनका लागि मुख्य सडकका रुपमा रहेको उक्त सडकको समयमै स्तरोन्नती नहुँदा यात्रा गर्न आफुहरुलाई समस्या भएको यात्रुहरुको गुनासो छ। वर्षा लागेको समयमा हिलाम्मे हुँदा सडकमा गाडी चलाउन जोखिम मोल्नुपर्ने बाध्यता रहेको चालकहरुले बताए।

खासगरी सुर्खेत जिल्लाका पश्चिम क्षेत्रका ग्रामीण सडकहरु पनि वर्षातका कारण हिलाम्मे हुने गरेका छन्। पानीका कारण सडक भत्किने, पानी जम्ने लगायतका समस्या हुने भएकोले झनै सास्ती खेप्नुपरेको सवारी चालकहरुले अनुभव सुनाए। सम्बन्धित निकायले कहिल्यै चासो नदिएका कारण वर्षाको समयमा यहाँका स्थानीयहरु सधैं समस्या व्यहोर्न बाध्य हुन्छन्।

पुल नबन्दा थप सास्ती

सुर्खेत सदरमुकामसँग जोडिएको लेकबेशी नगरपालिका सम्मपुग्नका लागि यात्रुहरुले कच्ची र हिलाम्मे सडकको सास्ती खेप्नुपरेको त छ नै, सडकखण्डमा पर्ने चिंगाड खोलामा पुल नबन्दा स्थानीय यात्रुहरुको सास्ती दोब्बर भएको छ।

यस खोलामा निर्माणधीन पुलले वीरेन्द्रनगर लेकबेसी जोड्ने काम गर्छ। तर समयमै पुल नबन्दा वर्षाको समयमा गाडी सञ्चालन गर्न कठिनाई हुने गरेको छ।
ठेकेदारको लापरबाही र सम्बन्धित निकायको उदासिनताका कारण पुल निर्माणमा ढिलाई भएको स्थानीयको गुनासो छ।

सम्बन्धित निकायको उदासिनताका कारण पुल निर्माण कार्य सुरु भएको ७ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। स्थानीयबासीहरु सरदार वर्षायाममा पुल नभएका कारण सास्ती खप्नु परिरहेको बताउँछन्। पुल नबन्दा चिंगाड खोला नजिकैको अफ्ठयारो बाटोबाट जोखिम मोलैरे सवारी साधनहरु आवत-जावत गर्नुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.