|
प्रतीकात्मक तस्विर

हुम्ला : १८ वर्षदेखि ओडारमा कष्टपूर्ण जीवन बिताइरहेकी वृद्धा गोला शाहीको उद्धार गरिएको छ। कुष्ठरोगी भएकाले गाउँले र घरपरिवारले उनलाई १८ वर्षदेखि ओडारमा राखेका थिए।

शाहीको उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टरमार्फत सिमकोटसम्म उद्धार गरिएको छ। शाहीलाई ओडारबाट बोक्ने मानिस तथा घोडा नपाएकाले विभिन्न निकाय तथा व्यक्तिको सहयोगमा हेलिकोप्टरबाट उद्धार गरी सिमकोट पुर्‍याइएको हो। गत १५ असारदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यममा समाचार अाएपछि उनलाई सहयोग गर्न विभिन्न दातृ निकायको ओइरोसमेत लागेको पाइएको छ।

उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ हजार, जिल्ला पशु सेवाबाट ३ हजार, जिल्ला समन्वय समितिबाट १ लाख, महिला तथा बालबालिका कार्यालयबाट ५ हजार, जिल्ला स्वास्थ्य कार्यालयबाट ७ हजार, इन्सेकबाट १ हजार र महिला कल्याण सेवाबाट ५ हजार गरी ४३ हजार हेलिकोप्टरको भाडा जम्मा गरेर उद्धार गरिएको छ।

प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौड्याल महिला तथा बालबालिका कार्यालय नेपाल पत्रकार महासंघ जिल्ला स्वास्थ्य कार्यालयको विशेष पहलमा शाहीको उद्धार गरिएको हो।

उद्धारपछि पीडित शाहीले नयाँ जीवन पाउने आशासाथ खुसी भएको बताएकी छिन्। ओडारमा बस्दा दैनिक गुजाराका लागि मागेर जीविकोपार्जन गर्दै आएकी शाही खाना समेत बनाउन नसक्ने अवस्थामा पुगेकी छिन् । १ घण्टा परको ओडारमा १८ वर्षदेखि उनी एक्लै बस्दै आएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.