|

काठमाडौं : नुवाकोट विदुर नगरपालिकाका ५५ वर्षीय धनबहादुर सारु (नाम परिवर्तन) राति लगातार पिसाब लागिरहने, पिसाब गरेपछि पनि नसकिएको जस्तो अनुभव हुने भएपछि जाँच गराउन त्रिवि शिक्षण अस्पताल आए। जाँच गराउँदा प्रोस्टेट ग्रन्थीमा समस्या भएको थाहा भयो। अस्पताल परिसरमा भेटिएका उनले भने 'पिसाब गरेपछि पिसाब नसकिएको जस्तो हुने भएपछि जचाउन आएको डाक्टरले प्रोस्टेटको समस्या  छ, उपचार गरेपछि ठीक हुन्छ भन्नुभएको छ।'

दोलखाका ४० वर्षीय एक आशिष दाहाल पनि पिसाब ननिख्रने, पिसाब लागिरहेको जस्तो हुने तर पिसाब गर्न जाँदा नआउने समस्या भएपछि  उपचार गराउन आए। प्रोस्टेट ग्रन्थीको समस्या भएको थाहा पाएपछि उनी पनि डाक्टरको सल्लाहमा औषधी सेवन गरिरहेका छन्।

त्रिवि शिक्षण अस्पतालमा यस्ता बिरामी दिनमा १० देखि २० जनासम्म आउँछन्। अस्पतालका वरिष्ठ युरोलोजिस्ट डा. पवनराज चालिसेले प्रोस्टेटको समस्या लिएर आउनेमा धेरैजसो ५० वर्ष माथिका पुरुषहरु रहेका छन्। ३५/४० वर्षका पुरुषहरु पनि केही संख्यामा भेटिएका डा. चालिसेले बताए।

'५० वर्षमाथिको पुरुषहरुमा पिसाब फेर्न अप्ठेरो हुने, राति धेरै पटक पिसाब लागिरहने, पिसाबको धारा पातलो हुने जस्तो समस्या लिएर हिजोआज ३५/४० वर्षका पुरुषहरु पनि आउने गरेका छन्। यो प्रोस्टेट ग्रन्थीको समस्या हो' उनले भने। 

के हो पोटेष्ट ग्रन्थी ?

प्रोस्टेट ग्रन्थीलाई पुरुषहरुको प्रजनन ग्रन्थी पनि भन्ने गरिन्छ। पिसाब ग्रन्थीको तल रहने यस ग्रन्थीले मुख्यतय वीर्यलाई स्वस्थ राख्न र हुर्काउन मद्दत गर्छ। युवा अवस्थामा झण्डै १२ देखि १५ ग्रामको हुने यो ग्रन्थी उमेर वृद्धिसंगै यसको आकार पनि बढ्दै जान्छ।

'प्रोस्टेट ग्रन्थी एक किसिमको झोल पदार्थले बनेको हुन्छ। यसले वीर्यलाई हुर्काउन मद्दत गर्छ' डा. चालिसेले भने 'यदि प्रोस्टेट ग्रन्थीमा संक्रमण भयो भने वीर्य मर्न सक्छ। वीर्य मरेमा सन्तान उत्पादनको सम्भावना समेत हुँदैन।'  

सामान्यतया प्रोस्टेटको समस्या उमेर बढ्दै गएपछि बढ्दै जान्छ। यो समस्याबाट नेपालका कति पुरुषहरु पीडित छन् भन्ने यकिन तथ्याङ्क त छैन। तर पछिल्लो समयमा कम उमेरका पुरुषहरूमा पनि प्रोस्टेटको समस्या देखिएको डा. चालिसे बताउँछन्।

'सामान्यतया  ५० वर्ष उमेर पुगेपछि प्रोस्टेट ग्रन्थी बढ्दै जान्छ। जसले पिसाबको बाटोलाई अवरुद्ध पार्छ। यस्तो समस्या चाँडै पत्ता लाग्न पनि गाह्रो हुन्छ। जसका कारण समयमै उपचार हुन सक्दैन। संक्रमण हुँदा प्रोस्टेट ग्रन्थी सुन्निन पनि सक्छ' उनले भने।

समान्यतया उमेर बढ्दै गए पछि पुरुषमा हर्मोनको गडबडीका कारण प्रोस्टेटको समस्या देखिन्छ। तर हिजोआज कम उमेरमा हर्मोनको गडबडी हुन थालेकाले समस्या बढेको डा. चालिसे बताउँछन्।

लक्षणहरु

प्रोस्टेट ग्रन्थीको मुख्य लक्षण भनेको पिसाबमा देखिने गडबडी हो। प्रोस्टेट समस्या देखिएको पुरुषमा  पिसाब फेर्न  अप्ठ्यारो हुने, राति धेरै पटक पिसाब लागिरहने, छिटो छिटो पिसाब लाग्ने, पिसाबको धारा पातलो हुने, पिसाब रोकिँदै आउने र पिसाब गरिसकेपछि पनि नसकिएको जस्तो अनुभव हुन्छ। त्यस्तै यौनशक्तिमा कमी आउने, पिसाब गर्न बल गर्नुपर्ने,  पिसाब लागेपछि रोक्न नसक्ने, नाइटो र मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब लागेजस्तो हुने तर नआउने लक्षण पनि प्रोस्टेटको हो।

कुनै पनि ब्याक्टेरिया पिसाबको माध्यमबाट प्रोस्टेट ग्रन्थीमा पुग्यो भने संक्रमण हुन सक्छ। त्यसैले समय समयमा पिसाबको जाँच गराउन डा. चालिसेको सुझाव छ। यसको समस्याबाट बच्न काजु, बदाम, पिस्ता बदाम, आलमण्ड, ओखर जस्ता म्याग्नेसियम तथा जिंकयुक्त खानेकुरा खानुपर्छ। फास्टफुड, तारेका झानेका खानेकुरा, बढी रसायन तत्व प्रयोग भएका खानेकुराहरू सकभर नखानु नै बेस हुने डा. चालिसे बताउँछन्।

समयमानै उपचार नगरे के हुन्छ ?

धेरैले पुरुषले प्रोस्टेट ग्रन्थीको समस्यालाई सामान्य रुपमा लिएर उपचार नगरेको पाइन्छ। तर लामो समयसम्म प्रोस्टेट ग्रन्थीको समस्याको लक्षण देखिएर पनि उपचार नगर्ने पुरुषहरुमा यौन जीवनमा समस्या आउनुका साथै ज्यान नै जोखिममा पर्ने खतरा हुन्छ। लामो समयसम्म यसको उपचार नगरेमा पिसाब थैलीको पत्थरी समेत हुन सक्छ।

प्रोस्टेट ग्रन्थीमा समस्या आएपछि पिसाब ननिख्रने भएकाले लामो समयसम्म पिसाब जम्मा भएकाले पत्थरी हुन सक्छ। यस्तै पिसाबसँगै रगत पनि जान सक्छ। विशेषत प्रोस्टेटको क्यान्सरको कारण पिसाबबाट रगत जाने भए पनि कहिलेकाहीँ प्रोस्टेटको समस्याको कारणले पनि पिसाबमा रगत देखिन थाल्छ। सबैभन्दा गम्भीर समस्या भनेको लामो समयसम्म प्रोस्टेट समस्याको उपचार नगरेमा पिसाब थैलीमा आउने समस्याको कारण मिर्गौला समेत काम नलाग्ने हुने डा. चालिसे बताउँछन्।

युवा उमेरमै प्रोस्टेटको समस्या देखियो र उपचार गरिएन भने पुरुषमा वीर्य स्वस्थ नहुने र मर्ने पनि हुन सक्छ। यस्तो भएमा सन्तान उत्पादनको समस्या पनि कम हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.