|

दाङ : तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती पूजा घर्ती लगायत ३ जना भारतबाट पक्राउ परेका छन्। व्यवसायी श्रेष्ठलाई अपहरण गराउन प्रमुख भूमिका रहेकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने पूजा घर्ती, उनका बाबु टीकाराम घर्ती र अपहरणको मुख्य योजनाकार सल्यान झिम्पे ४ का मानबहादुर भण्डारीलाई झण्डै १ महिना पछि भारतबाट पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख ज्ञानबिक्रम शाहले जानकारी दिए।

जेठ २६ गते तुलसीपुरबाट अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न युवती पूजा, उनका बाबु टीकाराम र मुख्य योजनाकार भण्डारीलाई भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई तुलसीपुर ल्याएको छ भने मंगलबार नै अपरान्ह ५ बजे प्रहरीले सार्वजनिक गर्दैछ। पूजाले फोन गरेर बोलाएर श्रेष्ठलाई नाटकीय ढंगले अपहरणकारीले रातारात सल्यान पुर्‍याएका थिए। शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो।

अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत जेठ २६ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो। तुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक ६० वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुल्न आएको छ।

यसअघि तुलसीपुर १२ का २५ वर्षीय कमल भन्ने अविरल महतारा, घोराही उपमहानगरपालिका १४ नयाँ बजार बस्ने ३८ वर्षका जमा पुन, रोल्पा जम्मकोट १ घर भई हाल घोराही ४ बस्ने बर्ष ४० का रमेश भन्ने मनहादुर पुन र पवननगर १ घरभई हाल तुलसीपुर ६ बस्ने बर्ष २३ का रुगत थापा मगरलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार अपहरणकारीले परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए। तर त्यतिबेला श्रेष्ठको हत्या भइसकेको प्रहरीको भनाइ छ। श्रेष्ठसँगै वेपत्ता भएका भनिएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन गरेको छ। अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.