|

‘दार्जिलिङको दुःख र पीडाले मलाई पनि पोल्छ। दार्जिलिङ हाँस्दा मात्र म मुस्कुराउँछु, रुँदा मेरा आँसु झर्छन्। अरूले जस्तो पराई ठान्दिनँ म दार्जिलिङलाई।’
हालकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले निर्वाचनताका सत्ताको रथमा उक्लिन यी र यस्तै खालका बकम्फुसे गफ दिएकी थिइन्। सत्तारूपी घोडामा उक्लिन उनका यी बतासे गफ अन्ततः सत्ताको भर्‍याङ बन्न पुगे।

दार्जिलिङवासीलाई पनि कताकता लागेको हुनुपर्छ, सायद अब हाम्रो ग्रहदशा कट्छन्। ओइलाएको हाम्रो सुन्दर सपनामा जाँगर छिर्छ होला! तर आज उनीहरू धौकैधोकाबाट घेरिएको अन्धकारमा बाँच्न विवश छन् अर्थात् नारायण गोपालले गाएको गीतझैँ– बिहान जो खुसी थियो, जलेर खाक भइसक्यो!

जसलाई आफ्नो ठानिएको थियो, दूध खुवाएर पालिएको थियो, उही गोमन साप बनी डसिरहेको छ। जति सुन्दर देखिन्छ दार्जिलिङ, त्यसभन्दा बढी दर्दमा पाकेको छ, पिल्सिएको छ। लाग्छ, त्यो दुःखैदुःखको पहाड हो। आशा, विश्वास, भरोसा र अनुमानविपरीत खेल सुरु भयो। अन्ततः मुख्यमन्त्रीले ‘म्याउँ’ गरेरै छोडिन् अर्थात् आफ्नो चाहना पोखिन्– बङ्गाली भाषाविनाको शिक्षा म सोच्न पनि सक्दिनँ!

कक्षा एकदेखि १० सम्म दार्जिलिङले अब बङ्गाली भाषामा पठनपाठन गर्छ। यसको उल्लङ्घन गर्ने छुट कसैलाई पनि छैन। के सोचेँ मैले, के भयो अहिले? उडायो सपना हुरीले भनेजस्तो! अहिले यही क्रूर नियति मडारिइरहेको छ दार्जिलिङमा। यही उर्दीसँगै पुनः दार्जिलिङ आन्दोलनको राप र तापमा छ। अब कि वार कि पार भनी स्वतन्त्रताको विगुल फुकिरहेको छ दार्जिलिङ।

गोर्खाल्याण्ड अलग राज्य भनी नक्सा कोरिरहेको छ। भारतको केन्द्रीय सरकार र बङ्गाल सरकारलाई यो स्वतन्त्रताको नक्सा मनपरेको छैन। ऊ सुन्न र हेर्न चाहिरहेको छैन यसलाई। लोकतन्त्रको बारीमा निरङ्कुशताका कर्कश धूनहरू बजाउनमा ऊ आनन्द मान्छ। बन्दुकको भाषा ओकलिरहेको छ। बन्दुककै नालबाट हालसम्म आधा दर्जन सग्ला ज्यान सिध्याइसकेको छ भने दर्जन बढी ज्यानहरूलाई अङ्गभङ्ग र घाइतेमा अनुवाद गरिसकेको छ। उसको चरित्रले भन्छ– शान्तिपूर्ण आन्दोलनमा शान्तिसुरक्षाको नाममा बन्दुकहरू पड्किरहनेछन्।

अहिले सिङ्गो दार्जिलिङ गोर्खाल्याण्डको माग तेस्र्याएर आमहड्तालको बाटो हिँडिरहेको छ। मुख्यमन्त्री यस आन्दोलनमा नेपालीले धाप मारेको, आतङ्ककारी संघसंगठनले मलजल गरिरहेको भनी अप्रत्यक्ष भाषा बोलिरहेकी छन्। केन्द्र सरकार यसबारे मौनता तापेर बसिररहेको छ।

छुट्टै गोर्खाल्याण्डको रार्जमार्ग खन्न यसपूर्व पनि दार्जिलिङले धेरै आँधीबेहरीका सुस्केराहरू हालिसकेको छ। घात प्रतिघातको स्वाद चाखिसकेको छ। आन्दोलन, वार्ता, सम्झौता, धोका, आपसमा लडाऊ, फुटाऊ र शासन गर भन्ने वृटिस मन्त्रको परिणाम पनि बेहोरिसकेको छ। शताब्दी वर्ष पुरानो इतिहास बोकेको यो आन्दोलन तीन दशकअगाडि सुवास घिसिङको नेतृत्वमा गठित राष्ट्रिय मुक्ति मोर्चाका नाममा सन् १९८६ मा २८ महिनासम्म आन्दोलनमा होमियो। आन्दोलन हिंसाको बाटोतिर डोरियो, १२ सयभन्दा ज्यान सिद्धिए।

अर्धस्वायत्त अधिकार प्राप्तिको सम्झौतामा आन्दोलन टुङ्गियो। त्यसको २१ वर्षपछि (सन् २००७–२०११) मा गोर्खा जनमुक्ति मोर्चा उही मागको लागि तात्यो। चार वर्षे यो आन्दोलन पूर्ववत् अधिकारमा थप गर्ने भनेपछि पूर्णविराम लागेको थियो।

विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकभित्रको प्रजातन्त्र! आफूभन्दा साना, कमजोर, आर्थिक विपन्नताको जुवामा नारिएका देशमा यस खालका हर्कत भएका भए ऊ विशेषतः राजनीतिक/आर्थिक रूपमा जोड–घटाउ, भागा–गुना सबै हिसाब–किताब गर्थ्यो र आफ्नो स्वार्थको तोप तेर्स्याउँथ्यो। सुरुमा विनम्र भाषामा बिन्ती बिसाउँथ्यो– छिमेकीको हाम्रो नाता, तिमीविनाको जिन्दगी सोच्न पनि सक्दिनँ! यस्तै–उस्तै मायाप्रीतिका बात हाल्थ्यो।

आन्तरिक मामिला, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता आफ्ना विषय होलान् तर त्यसभन्दा पर अर्को विषय छ, जो आफ्नो मात्र हुँदैन। अरूको पनि चासो र सरोकारको विषय हो। जसको कुनै सीमा हुँदैन, कसैबाट छेकबार हुँदैन। नेपाललाई लाग्ने भारतलाई नलाग्ने यसको स्वभाव होइन। यसको सिद्धान्त हो–विश्वव्यापी र सबैका लागि समान! त्यो हो– मानवअधिकार।

छिमेकी गफको आगोमा पग्ले ठीकै छ, बुहारी झारझैँ ओइलाए उत्तमै भयो, खेल नै खलाँस्! होइन, अस्वीकृत जवाफ आएमा उही लोकतन्त्रको हतियार अगाडि सार्छ र भन्छ– तिम्रो घरमा प्रजातन्त्र होइन, निरङ्कुशताको अजिङ्गर बसेको छ। प्रजातान्त्रिक छिमेकीको नाताले हामी टुलुटुलु रमिता हेर्न वा रसस्वादन गर्न असमर्थ छौँ। घोर आपत्ति, गम्भीर नियमापत्ति...! अनि थाल्छ बर्बराउन र हर्कत मच्चाउन, उचाल्न, पछार्न, थेचार्न!

उचालिएकाहरूले भाका ल्याएनन्, बलबुताले भ्याएन भने बाँकी छिमेकी गुहार्छ, पुगेन भने सात समुद्रपारिकालाई पनि पोल लगाउँछ। संयुक्त वक्तव्य जारी गर्छ।
नभन्ने होइन, भन्छ। नकहने होइन, कहन्छ– नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुक हो। समानताको व्यवहार हाम्रो चाहना हो। ऊ आफ्नो निर्णय लिन स्वतन्त्र र सक्षम छ। हेर्दा बोलाइ मीठो छ तर व्यवहारले त्यस्तो अनभूति गराउँदैन।

हाम्रो वर्तमान संविधानकै नालीबेली हेरौँ। बेमौसममा दूत खटायो र अरनखटनको भाषा पस्क्योे– तैँले संविधान जन्माउने बेला भएको छैन। केही समय पख, अलि पछि जन्माउनु भन्दै ट्राफिकले गाडी रोक्न खोजेझैँ गर्‍यो। अन्ततः उसको दाल गलेन। संविधान जन्मियो। ऊ पूरै व्यथा लागेझैँ गरी छट्पटियो, रन्थनियो, तिर्मिरायो। बर्बरायो– तेरो संविधानले तराईलाई ठग्यो, मधेसी समुदायको अधिकार अपहरण गर्‍यो। संविधानमा समावेशी गन्ध आएन, एकाङ्गी दुर्गन्धले भरिएको छ। यसलाई तुरुन्त सच्याइहाल्!

अन्ततः उसको मागले हावा खाएपछि असल छिमेकीको नाताले नाकाबन्दी ढोका ढेप्यो। दोष यतै फर्कायो– यो मैले होइन, तैँले गरेको खेती हो भन्यो। मलाई त नाकाबन्दी लगाउनै आउँदैन। जे भएको छ, तेरो बलबुद्धिको उपज हो भन्न भ्यायो। त्यतिले अघाएन, साथी खोज्न थाल्यो। संविधानभित्र खोटैखोटको चाङ छ भन्दै पोल सुनाउन कहाँ पुगेन? ब्रसेल्स विज्ञप्ति जारी गरेन कि बेलायततिर भौँतारिएन कि!

भुटानी शरणार्थीको कथा कसलाई थाहा छैन र! भुटानी विदेश नीति र सुरक्षा नीति आफ्नो दाम्लोमा बाँधेको छ। नेपाली मूलका भुटानीलाई भुटानले बाघले बाख्रा लखेटेझैँ लखेट्यो। ‘यसो नगर, यो तमासा नदेखा’ भनेर भुटानलाई सम्झाइबुझाइ गर्ने लेठो गरेन। आउनलाई ढाट तेस्र्याएन, बाटो दियो। त्यतिले अघाएन, गाडीमा भेडाबाख्रा कोचेको नियतिमा गाडीमा हाली भुटानीलाई नेपाली भूमिमा झारेर गयो।

नेपाली बगर शरणार्थीले भरिए। जहाँबाट आयौँ, उतै लाग्छौँ भन्दा शान्तिसुरक्षा दुब्लाउँछ। ‘यो दुई मुलुकको हिसाब–किताब हो, मिलाउनू, म जान्दिनँ’ भनी कुटिल भाषा बोलिरह्यो। अन्ततः प्रजातन्त्रका डफ्फेदारहरू अमेरिका र पश्चिमा मुलुकहरूले शरणार्थीहरू भागबण्डा लगाए, उतै लगे। यसरी इतिहास भयो, एउटा कहानी! लेखनाथ पौड्यालले भनेझैँ ‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत, छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित।’ यहाँ उल्लेख गर्न खोजिएको यति हो, ऊ भन्छ एउटा, कोरल्छ अर्को। तर ठूलो उही छ, दबदबा उसैको छ।

अहिले दार्जिलिङले बोलेको स्वतन्त्रताको भाषालाई ऊ के भन्छ? भारतको कुरा हो। उसले यो हाम्रो निजी मामिला हो, चोखे नलगाऊ। यो हाम्रो शान्तिसुरक्षा र अमनचयनको पाटो हो, चासो प्रकट नगर। यो भारतको सार्वभौमसत्ता र अखण्डतासँग गाँसिएको सवाल हो, यसमा हस्तक्षेपका नङ्ग्रा नतेस्र्याऊ। बाठो नबन, हाम्रो घरेलु सवाल हो, हामी आफैँ जान्नेछौँ, हामी नै मजासँग सल्टाउछौँ।

ठीक छ, यिनै तर्क सदर तर साथीको बाबु मास छर्न गए। ऊ पीरले रुन थाल्यो। नजिकको मित्रले सम्झायो– यस्तै हो, जन्मेपछि सबैले एक दिन जानै पर्छ। पछि सम्झाउने साथीका बाले पनि उही बाटो समाते। उसलाई सम्झाउने क्रम चल्यो तर उसको जवाफ थियो– तेरा बाबु जस्ता मेरा बाबु हुन् र? अहिलेसम्मको भारतीय शासकको सोचाइ यही छ।

आन्तरिक मामिला, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता आफ्ना विषय होलान् तर त्यसभन्दा पर अर्को विषय छ, जो आफ्नो मात्र हुँदैन। अरूको पनि चासो र सरोकारको विषय हो। जसको कुनै सीमा हुँदैन, कसैबाट छेकबार हुँदैन। नेपाललाई लाग्ने भारतलाई नलाग्ने यसको स्वभाव होइन। यसको सिद्धान्त हो–विश्वव्यापी र सबैका लागि समान! त्यो हो– मानवअधिकार।

अतः शान्तिपूर्ण आन्दोलनमा जनताको छातीमा बन्दुकले दाग्ने अधिकार तिमीमा छैन। यो तिम्रो नितान्त निजी विषय होइन, सबैको सरोकार र चासोको सवाल हो। भलै, यसो भन्दा चित्त कुँडिएला। बलवान् भइञ्जेलसम्म ठीकै होला तर यसको उत्खनन् गर्ने दिन पनि आउला! समय बाँकी नै छ। अरूले सोधिरहेछन्, ऐना होइन, मुहार सफा गर। अरूमाथि लाद्ने अर्ति आफैँबाट आरम्भ गर किनकि बुद्धिमान त्यो हो, जो आफैँ आदर्श बन्छ।

अहिले संवादका ढोकाहरू ड्याम्म लगाइएका छन्। आमहड्तालको दुखाइबाट देशको एक भूभाग रोइरहेको छ। तिनका लागि चाहिने दानापानी रोकिएका छन्।

अतः अराजकताको बादलभित्र आन्दोलनलाई नधकेल। बन्दुक नमुसार। आरोप र प्रत्यारोपको तीर होइन, वार्ताका धूनहरू ओकल। न्यायोचित र दीर्घकालीन उपचार खोज। सम्झ, यो तिमीले बजाउने जस्तो हस्तक्षेपकारी ढोल होइन, सबैको लागि सधैँको लागि हितकारी सङ्गीत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.