|

काठमाडौँ: मरिस्का मेरी पोखरेल नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान खोज्दै गरेको नाम हो। 'के म तिम्रो हैन र'बाट नेपाली फिल्म क्षेत्रमा फड्को मारेकी उनले 'चपली हाइट २' मा पनि काम गरिसकेकी छन्। उनको अभिनय रहने अर्को फिल्म 'लम्फु'को अहिले निर्माण भइरहेको छ। उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छन्।

'मरिस्का मेरी' नामै पनि फरक छ। हुन त उनी नेपाली नै हुन् तर उनको नामको 'मरिस्का' हिब्रु भाषाको शब्द हो भने 'मेरी' जापानमा रहँदा राखिएको उनको 'स्ट्याम्प' नाम हो।

उनी नेपालमा आफ्नो उच्च शिक्षाको पढाइ सकेर जापान गएकी थिइन्। जापानमा उनी 'बाल मनोविज्ञान' विषय अध्ययन गर्थिन्। जापानमा रहँदा जापानकै एक विद्यालयको शिक्षिका पनि थिइन्। भन्छिन्, 'म जापानमा रहँदा टिचिङ गर्थें। म त्यहीँको एक विद्यालयमा आर्ट पढाउँथेँ।'

जापानमा राम्रै थियो उनलाई। रमाइरहेकै थिइन्। पढ्ने अनि पढाउने दुवै गर्थिन। तर चार वर्षको बसाइपछि उनी एक्कासि नेपाल आउनुपर्‍यो। उनी नेपाल आउनुको मुख्य कारण उनकी आमाको स्वास्थ्यमा आएको समस्या थियो। उनी भन्छिन्, 'आमा निकै बिरामी हुनुहुन्छ भन्ने थाहा पाएपछि नेपाल आएकी हुँ।'

नेपाल आएपश्चात उनले केही 'फेशन शो'मा भाग लिइन्। उनको रुचि त्यता पनि थियो। उनी भन्छिन्, 'मैले नेपाल आएर १० ‍ओटा फेशन शोमा भाग लिए।' उनी फोटो सुट पनि गरिरहन्थिन्। प्रज्वल सुजल गिरीसँग गरेको फोटो सुट उनको लागि फिल्म खेल्ने अवसर बनिदियो।

कुरा २०७२ साल असारतिरको हो। फिल्म 'के म तिम्रो हैन र' निर्माण हुने क्रममा थियो। केही कलाकार फाइनल पनि भइसकेका थिए। हिरोइनको खोजी भइरहेको थियो। फिल्म 'के म तिम्रो हैन र' मा प्रज्वल सुजल गिरी पनि फाइनल भएका थिए। हिरोइनको खोजी भइरहँदा प्रज्वललाई केही समय पहिले सँगै फोटो सुट गरेकी मरिस्काको याद आयो। उनले निर्माण युनिटलाई मरिस्काको बारेमा भने। निर्माण युनिटले पनि उनलाई भेट्न चाह्यो।

मरिस्कालाई एक दिन बिहानै प्रज्वलको फोन आयो। कुरा थियो, त्यही फिल्म 'के म तिम्रो हैन र' को। 'प्रज्वलले मलाई त्यही फिल्मको कुरा गर्न फोन गरेको रहेछ। उसले मलाई फिल्मको बारेमा सबै भन्यो', उनले भनिन्।

निर्माण युनिट र उनीबीच सामान्य अडिसन भयो। उनी छनोट भइन र पहिलो पटक 'के म तिम्रो हैन र'मा काम गर्ने मौका पाइन्। उनी भन्छिन्, 'उहाँहरूलाई मैले प्रभावित गर्न सकेँ होला र म सेलेक्ट पनि भए।'

उनले 'के म तिम्रो हैन र' मा अर्का नवअभिनेता आर्यन अधिकारीसँग जोडी बाँधेकी थिइन्। फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका थिए। यो फिल्म २०७३ सालको बैशाखमा प्रदर्शन भएको थियो।

'के म तिम्रो हैन र' मा काम गरिरहँदा नै उनलाई अर्को फिल्म 'चपली हाइट २' को अफर आयो। उनी एक फिल्मको काम नसकिँदै अर्को फिल्ममा काम पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन्। उनलाई 'चपली हाईट २' को अफर निर्देशक दीपेन्द्र के खनालले नै गरेका थिए। दीपेन्द्र एक पटक 'के म तिम्रो हैन र' को सुटिङ सेटमा पुगेका थिए। मरिस्का भन्छिन्, 'सायद उहाँलाई मेरो काम मनपर्‍यो होला र मलाई आफ्नो प्रोजेक्टमा लिनुभयो।' मरिस्का 'चपली हाईट २' मा पनि मुख्य भूमिकामा प्रस्तुत भएकी थिइन्।

उनले दुई फिल्मबाट आफ्नो अभिनयकला दर्शकलाई देखाइसकेकी छन्। अहिले उनी फिल्म 'लम्फु'मा काम गर्दै छन्। 'के म तिम्रो हैन र' बाट केही मात्रमा दर्शकको मन जिते पनि 'चपली हाइट २' बाट उनले आफ्नो करियरको हाइटलाई बढाउन सकिनन्। उनको अभिनयलाई खास दर्शकले मनपराएनन्। फिल्म 'चपली हाइट २' मा आयुष्मान देशराज जोशी र उनकी पूर्व प्रेमिका प्रमिता राणाले पनि अभिनय गरेको हुनाले मरिष्का अलि छायामा परिन्।

दुई फिल्मबाट पनि खास उचाइ प्रप्त गर्न नसकेकी उनलाई 'लम्फु'ले कति सफलता देला, त्यो भावी दिनमा थाहा हुनेछ। यदि 'लम्फु'ले पनि उनलाई सफलता दिलाएन भने उनको करियर कतातिर जाला? यो प्रश्न भने बाँकी नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.