|
फोटोः YouTube

काठमाडौं : वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटा नेपालमा मात्र नभइ विदेशमा पनि उत्तिकै परिचित छन्। उनले हालसम्म ३० हजार जनाको टाउको शल्यक्रिया गरिसकेका छन्, भने १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन्।

लामो समय वीर अस्पतालमा काम गरेका डा. देवकोटा हाल बाँसबारीस्थित न्युरो हस्पिटल सञ्चालन गर्छन्। ७ महिना स्वास्थ्य मन्त्री समेत भएका उनको व्यस्तता ६० वर्षको उमेर पार भइसक्दा पनि घटेको छैन। हरेक दिन आठ बजे घरबाट काममा निस्कने देवकोटा बेलुका अबेरमात्रै घर पुग्छन्। उनको धेरै समय अस्पतालमा विरामीहरुसँगै बित्ने भए पनि समय मिलाएर कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा पनि पुग्छन्। सँधैको व्यस्तताबीच उनले आफ्नो दैनिक कार्यतालिका कसरी व्यवस्थापन गरेका छन्? उनले आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्छन्?

नियमित व्यायाम

हरेक दिन बिहान ६ बजे उठिसकेको हुन्छु। उठ्ने वित्तिकै घरभित्रै ३० मिनेट पैदल हिँड्छु। विहान आधा घन्टा हिँड्दा शरीरलाई एक्सरसाइज पुग्ने भएकाले अरु एक्सरसाइज खासै गर्दिन। त्यसपछि नुहाउछु र पानी खाएर केहीबेर आराम गरेर ब्रेकफास्ट लिन्छु। ब्रेकफास्टमा यही नै खाने भन्ने छैन, प्राय कर्नफ्लेक्स, एक गिलास दूध, फ्रुट जुस र फलफूल खान्छु। ब्रेकफास्ट लिएपछि विहान ८ बजेतिर घरबाट निस्कन्छु।

खाना घरबाटै लैजान्छु

विहान आठ बजे घरबाट निस्किएपछि साँझ १० बजे मात्र घर पुग्ने भएकाले विहानको खाना घरमा खान पाउँदिन। घरमै नखाए पनि खाना भने सधै घरबाटै लिएर जान्छु। अस्पतालमा १२ देखि १ बजेभित्र खाना खान्छु। बेलुकाको खाना भने सँधै घरमा नै खान्छु। खानामा मासु कहिल्यै टुट्दैन। मासु यही भन्ने छैन, रातो मासु कम खान्छु। साग र सलाद पनि खानामा अनिवार्य रुपमा हुन्छ।

फुर्सदमा कविता पढ्छु

विहान आठ बजे घरबाट निस्किएदेखि घर नपुग्दासम्म काममा नै व्यस्त हुन्छु। तर फुर्सदको समयमा कविताहरु पढ्ने गर्छु। पहिले पहिले समय भएको बेलामा आफैले कविता लेखेँ, हिजोआज भने लेख्दिन। हरेक दिन वेलुका खाना खाएपछि केही बेर टेलिभिजन हेर्छु। बीबीसी र सीएनन च्यानल मैले धेरै हेर्ने टेलिभिजन च्यानल हुन्। अरु च्यानलमा राम्रो कार्यक्रम आएको रहेछ भने त्यो पनि हेर्छु। धेरै जसको समय विरामीसंगै बित्ने भए पनि कहिलेकाहिँ सार्वजनिक कार्यक्रमहरुमा पनि पुग्छु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.