|

उदयपुर : स्थानीय तहको निर्वाचन अन्तर्गत त्रियुगा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ८ दलका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुको जमानत जफत भएको छ।

राप्रपाबाट त्रियुगा नगरपालिकामा प्रमुखको उम्मेदवार बनेका धुब्रकुमार रायमाझी, उपप्रमुख दिलु बोटे दुबैको जमानत जफत भयो। नियमअनुसार निर्वाचनमा खसेको सदर मतको१० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने गर्छ।

त्रियुगा नगरपालिकामा सदर मत ३१ हजार ४ सय २५ को १० प्रतिशतले ३ हजार १ सय ४२ भन्दा बढी मत ल्याउनुपर्ने थियो,’ जिल्ला निर्वाचन कार्यालय उदयपुरका सुचना अधिकारी अर्जुन खड्काले भने,‘तीन ठूला दलबाहेक अन्य कुनै दलले १० प्रतिशत मत ल्याउन सकेनन्।’ 

राप्रपाबाट प्रमुखको उम्मेदवार रायमाझीले ७ सय २० मत ल्याएका थिए भने बोटेले ६ सय ८५ मत ल्याएकी थिइन्। यस्तै मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का प्रमुख उम्मेदवार प्रशुराम चौधरी र उपप्रमुखकी उम्मेदवार सुजिता कुमारी पंजियारको पनि जमानत जफत भएको छ।

प्रशुरामले २ सय ३६ र पंजियारले १ सय ५९ मत मात्र पाएकी छन्। नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएपनि संयुक्त गठबन्धनमा उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्।

नयाँ शक्ति पार्टीबाट प्रमुखका  उम्मेदवार भैरव श्रेष्ठले १ सय २४ र संघिय समाजवादी फोरम नेपालबाट उपप्रमुखकी उम्मेदवार सम्झना राईले २ सय ७९ मत ल्याए। 
राष्ट्रिय जनमोर्चाबाट प्रमुखका उम्मेदवार लिल कुमार राई र उपप्रमुखका उम्मेदवार मैया विश्वकर्माको पनि जमानत जफत भयोे। समाजवादी जनता पार्टीका प्रमुख उम्मेदवार मणीराम पुरी, बहुजन शक्ति पार्टीका प्रमुख उम्मेदवार निर्मल कुमारी नेपाली र उप–प्रमुखकी   उम्मेदवार नीर बहादुर सार्कीको पनि जमानत जफत भयो।

स्वतन्त्र उम्मेदवारहरुले पनि जमानत जोगाउन सकेनन्। प्रमुखका स्वतन्त्र उम्मेदवार मदन बहादुर खड्का र लखन चौधरीको साथै स्वतन्त्रबाट उपप्रमुखको उम्मेदवार बनेका अशोककुमार राई, शान्ता कुमारी गोतामे, हेम कुमारी तामाङको पनि जमानत जफत भयो। 

जिल्लाका ८ वटै स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतहरुले आप्mनो स्थानीय तहको प्रतिवेदनसहितको रिपोर्ट नपठाएकाले त्रियुगाबाहेक अन्य स्थानीय तहको विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। जिल्लाका ८ स्थानीय तहअन्तर्गतका ७५ वडामा १ हजार ५ सय जनाले उम्मेदवारी दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.