|

इलाम : प्राविधिक ज्ञान तथा उचित मूल्यको अभावमा इलामको दक्षिणी भेगका केरा कृषकहरुले यस व्यवसायबाट सोचेजस्तो उत्पादन गर्न पाएका छैनन्। दक्षिणी क्षेत्र माइ नगरपालिका, चुलाचुली, माङसेवुङको तल्लो भाग लगायतका क्षेत्र केराखेतीका लागि संभावनायुक्त क्षेत्र मानिन्छन्। 

तर यस पेशालाई व्यवसाहिक रुपमा अघि बढाउनु निकै चुनौतीपूर्ण रहेको कृषकहरुको भनाइ छ।  यस क्षेत्रमा १ हजार बढी किसानहरुले केरा खेती गर्ने गरेका छन्।

यहाँ उत्पादित केरा दिनहुँ झापाका बजार हुँदै काठमाण्डौसम्म पुग्ने गरेका छन्। माइ नगरपालिका–५ कालीखोलाको केरा राजधानीमा पनि लोकप्रिय छ। केरा खेती गर्दा आम्दानीसँगै अन्य बोटविरुवाको संरक्षण समेत हुने भएकाले किसानहरू व्यवसाहिक रुपमा केराखेतीमा लाग्न चाहन्छन्।

तर मलको अभाव, प्राविधिक शिक्षाको कमी लगायत विविध कारणले गर्दा उनीहरुले सोचेजस्तो आम्दानी लिन नसकेको स्थानीय कृषक विशाल आचार्यले बताए। 

हिउँदमा पनि हरियो नै रहने केराका बोटले अन्य बिरुवा हुर्काउँदा छहारीको काम गर्छ। यस्तै केराको बुङ्गाको प्रयोगबाट अचार र दाम्चाको पशु आहारा बनाउने गरिन्छ।

स्थानीय किसानले चिनीचम्पा, मालभोग, धुस्रे, झप्री, जहाजी जातका केरा मिश्रित रुपमा खेती गर्ने गरेका छन्। तर सरकारी स्तरबाट प्राविधिक सहयोग नपाँउदा केराको बोट नै सुक्ने गरेको र मेहनत अनुसारको आम्दानी लिन समस्या भएको किसानहरुको गुनासो छ।

जिल्ला कृषि विकास कार्यालयले २ वर्ष अघि मोरङको कानेपोखरीबाट २ हजार उन्नत जातको रोवेस्ट्रा जातको केराको बिरुवा ल्याएर किसानहरुलाई वितरण गरेको थियो। तर त्यसपछि केराखेतीको प्रवद्र्धनका लागि अर्को कार्यक्रम लग्न नसकेको कृषि सेवा केन्द्र प्रमुख अनिलकुमार तिम्सिना बताउँछन्।

पानी पर्याप्त नभएका झोडा क्षेत्रमा जङ्गल सरह केराका बगान भेटिन्छन्। केराखेतीलाई पानीे समेत त्यत्ति आवश्यक नपर्ने भएकाले उपयोगमा आउन नसकेको जमिनमा खेती गरेर किसानले आम्दानी लिने गरेका छन्। यहाँको केराले तराईका शहरमा पनि बजार पाउने गरेको छ। 

पछिल्लो समयमा झापाको खुदुनाबारीदेखि दानाबारीसम्मको सडक ग्राभेल भएपछि नियमित सवारीसाधन चल्न थालेकाले आफ्नो उत्पादनलाई राजधानी र तराईका बजारमा पुर्‍याउन सहज भएको किसानहरु बताउँछन्। 

स्थानीयले निजी बगानमा रहेका केरा झापाका व्यापारीलाई घरीको ५० देखि २ सय रुपैयाँका दरले बेच्ने गरेका छन्। त्यही केरा व्यापारीहरुले बजारमा ५ सय रुपैयाँभन्दा बढीमा बिक्री गर्छन्। यसरी राम्रो मुल्य नपाएपछि केही कृषकहरुले साइकल वा ट्याक्टरमा राखेर सोझै सङ्कलन केन्द्रमा केरा पुर्‍‍याउने गरेका छन्।

जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क अनुसार माइ नगरपालिकाको २५ हेक्टर बढी क्षेत्रफलमा केरा उत्पादन गरिएको छ। यहाँ गत वर्ष २६० मेट्रिक टन अर्थात १ करोड मूल्य बराबरको केरा उत्पादन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.