|

चितवनः चितवन जिल्लामा रोपाइँका लागि जिल्लाकै सबैभन्दा महत्त्वपूर्ण मानिने नारायणी र खगेरी लिफ्ट सिँचाइको नहर सञ्चालनमा आएको छ।

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा मूल फुटेर खोलानालामा पानीको सतह बढ्न थालेको र यहाँका दुई नहरसमेत सञ्चालनमा आएकाले रोपाइँका लागि किसानलाई राहत मिलेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेले पानी कम हुँदा खगेरीको नहर राम्ररी सञ्चालन हुन नसकेका बेला केही दिनदेखिको वर्षाले जिल्लाका किसानहरूलाई राहत मिलेको बताए।

मध्य असारसम्मै पानी नपर्दा प्रभावित भएका किसानहरू वर्षा हुन थालेको साथै नहरसमेत सञ्चालनमा आएपछि खुसी भएका छन्। अहिले जिल्लामा धमाधम रोपाइँ चलिरहेको लामिछाने बताउँछन्।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन खनालका अनुसार आउँदो कात्तिकसम्म नहर सञ्चालनमा हुनेछ।

नारायणीले तीन हजार २१२ र खगेरीले चार हजार २०० हेक्टर क्षेत्रफल सिँचाइ गर्दै आएको खनालको भनाइ छ। दुवै नगरले सिञ्चन गर्ने क्षेत्र पश्चिम चितवन हो।

हालसम्म चितवनको पूर्वी क्षेत्रमा ९० प्रतिशत रोपाइँ सकिएको छ भने माडी क्षेत्रमा करिव ७५ प्रतिशत हाराहारीमा रोपाइँ भएको उनको भनाइ छ। पूर्वी चितवनको भण्डाराका किसान राजु सेढाईं सो क्षेत्रमा सबैले रोपाइँ सकेको बताउँछन्।

पश्चिम चितवनमा भने वर्षासँगै भर्खरैबाट रोपाइँ सुरु भएकाले १५ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि कार्यालय चितवनले जनाएको छ। जिल्लाको समग्र मूल्यांकन गर्दा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको अनुमान कार्यालयको छ।

नारायणी र खगेरीको नहर सञ्चालनमा आएकाले अब एक हप्ताको अन्तरालमा पश्चिम चितवनका धेरै क्षेत्रमा रोपाइँ सकिने जनाइएको छ। असारको तेस्रो हप्ता लागेसँगै वर्षा राम्रो भएकाले यो वर्ष जिल्लाको २९ हजार २०० हेक्टर क्षेत्रफलमै रोपाइँ हुने कार्यालयले जनाएको छ।

असार १५ सम्म जिल्लामा जम्मा २० प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ भएको थियो। अहिले पश्चिम चितवनमा किसानलाई रोपाइँको चटारो भएको छ।

चैते धान चार हजार ५७५ हेक्टरमा लाग्ने र यसबाट करिव २० हजार मेट्रिक टन धान उतपादन हुँदै आएको छ। जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ब्लक छुट्याएर धान उत्पादन गरिँदै छ।

जिल्लामा किसानलाई धान खेतीमा आकर्षित गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको कृषि कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.