|

रूपन्देहीः स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भई धेरै ठाउँमा जनप्रतिनिधिले शपथ लिई काम सुरु गरिसकेको अवस्थामा रूपन्देही र गुल्मीका केही वडा अध्यक्षका उम्मेदवार पुनः मतगणनाको माग गर्दै अदालत पुगेका छन्।

पुनः मत गणनाको माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गर्नेहरूमा रूपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. ५ का कांग्रेसका वडा अध्यक्षका उम्मेदवार माधवप्रसाद बातर थारू, मायादेवी गाउँपालिका वडा नं. १ को संघीय समाजवादी फोरमका वडा अध्यक्षका उम्मेदवार तप्पानाथ पाण्डे, मायादेवी गाउँपालिकाकै वडा नं. ४ का बहुजन शक्ति पार्टीका उम्मेदवार हरिलाल यादव र गुल्मीको चन्द्रकोट गाउँपालिकाको वडा नं. ८ का माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार भीमबहादुर राना रहेका छन्।

शुद्धोदन गाउँपालिकाको वडा नं. ५ को भगलापुर मावि र पुरैना मावि बुथमा जम्मा दुई हजार ३८१ मत खसेकोमा विभिन्न पार्टीका उम्मेदवारहरूले जम्मा दुई हजार १७१ मत प्राप्त गरेको माधवप्रसाद बातर थारूले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ।

निर्वाचन आयोगले ८२ मत बदर देखाएको तर १२८ मतको हिसाबै नदेखाएको थारूले दाबी गरेका छन्। सो वडामा एमाले उम्मेदवार पुन्नेराम गौतम ८९८ मत प्राप्त गरी विजयी भएको र आफूलाई ८५५ मत मात्रै प्राप्त गरेको देखाइएको थारूको जिकीर छ।

त्यसैगरी मायादेवी गाउँपालिकाकै वडा नं. १ मा संघीय समाजवादी फोरम नेपाल पार्टीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार तप्पानाथ पाण्डेले आफूले प्राप्त गरेको ६०७ मतमध्ये ३० सदर मतलाई बदर देखाइएको र राप्रपाका उम्मेदवार पल्टु चौधरीको २५ बदर मतलाई बदर घोषित नगरिएको दाबी गरेका छन्।  सो वडामा कूल खसेको दुई हजार ४४९ मतमध्ये मतगणनामा राप्रपाका पल्टु चौधरीलाई ५९९ मत प्राप्त गरेको भनी विजयी घोषित गरिएको, आफ्नो ५७७ र कांग्रेसका उम्मेदवार मातृकाप्रसाद कहारको २४५ मत देखाइएको पाण्डेले उल्लेख गरेका छन्।

त्यसैगरी, मायादेवी गाउँपालिकाको वडा नं. ४ मा बहुजन शक्ति पार्टीका उम्मेदवार हरिलाल यादवले सोही वडामा स्वतन्त्र उम्मेदवार धनपाल मल्लाहको ६० मतलाई बदर नगरी आफूले पाएको ८० सदर मतलाई बदर घोषित गरिएको दाबी गरेका छन्। मतगणनामा धनपालले ३०४ मत पाउँदा आफ्नो ४५ मत कमी देखाई धनपाललाई विजयी घोषित गरिएको यादवको दाबी छ। सो वडामा कूल एक हजार ५८४ मत खसेको निवेदनमा उल्लेख छ।

यसैगरी, गुल्मीको साविक तुराङ गाविस– ७ हाल चन्द्रकोट गाउँपालिका वडा नं. ८ का माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर रानाले मत परिणाम घोषणा गर्दा माओवादी केन्द्र र कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई रोहवरमा नराखिएको उल्लेख गरेका छन्।

सो वडाको जनता बालनिकेतन मावि, ज्ञानोदय मावि मजुवा क र ख केन्द्रमा गरी जम्मा एक हजार ७२८ मत खसेकोमा एमाले उम्मेदवार नन्दराम अर्यालको ६२०, माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर रानाको ६०८ र कांग्रेस उम्मेदवार टीकाराम अर्यालको ४१० मत देखाइएको तर माओवादी केन्द्र र कांग्रेस उम्मेदवारलाई रोहवरमा राख्न अस्वीकार गरिएको रानाको दाबी छ।

असार १६ गते वडा सदस्य बाबुराम, गाउँपालिकामा उपाध्यक्ष उम्मेदवार मीना बोहरा र आफूले पुनः मतगणनाको लागि निवेदन दिए पनि पुनः मतगणना नगरिएको रानाले उल्लेख गरेका छन्।

विजयी उम्मेदवारहरू, निर्वाचन अधिकृतहरू र केहीमा केन्द्रीय निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको चारवटै मुद्दामा उच्च अदालतका न्यायाधीशहरू ईश्वरराज आचार्य, हेमराज पन्त र हरिप्रसाद भण्डारीको छुट्टाछुट्टै इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।

आइतबारसम्म दायर मुद्दाहरूमा वादीका तर्फबाट अधिवक्ताहरू गोविन्द मरासिनी, मनोजकुमार चौधरी, पशुपति भण्डारीलगायतले बहस गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.