|

ओखलढुंगा :  ओखलढुंगाको प्रबुद्ध मावि च्यानमलाई सरकारले नमुना विद्यालय घोषणा गरेको छ। निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जिल्लाको सुनकोसी गाउँपालिकास्थित च्यानममा रहेको प्रबुद्ध माविलाई राष्ट्रियस्तरमा नमुना घोषणा गरिएको हो। ओखलढुंगाको प्रबुद्ध माविसहित प्रदेश नम्बर १ का ४० विद्यालय निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि नमुना घोषित भएका छन्। शिक्षा विभागले प्रदेश नम्बर १ का ४० वटा विद्यालयसहित देशभरका १ सय ६७ विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको हो।

विद्यालय छनोटमा जिल्ला शिक्षा कार्यलयबाट भएको प्रारम्भीक मूल्यांकन तथा शिक्षा विभागबाट खटिएका अधिकृत कर्मचारीको टोलिले स्थलगत अवलोकन सहितको मूल्यांकन गरेका थिए। नमुना विद्यालय छनोट भएपछि प्रबुद्ध मावि च्यानमका विद्यालय परिवार र स्थानीयमा खुसियाली छाएको छ।

आफूहरु अध्ययनरत विद्यालय नमुना विद्यालय घोषणा भएसँगै विद्यालयमा खुसियाली छाएको विद्यार्थीहरु बताउँछन्। ‘निजी र सहरका विद्यालयमा पढ्ने साथीहरुको फुर्तिका बीचमा अब हामी पनि देशकै नमुना विद्यालयमा पढेका हौं भन्न पाउने भयौं’ एक विद्यार्थीले भने।

प्रबुद्ध मावि नमुना घोषणा भएपछि खुसी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सुनकोसी गाउँपालिकाका प्रमुख रुद्र अधिकारीले आगामी दिनमा विद्यालयलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताए। उनले आफूहरुको मिहिनेत र प्रयास निरन्तर रहने भन्दै अहिले विद्यालयले विभिन्न क्षेत्रबाट पाएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वाससमेत व्यक्त गरे।

प्रबुद्ध माविका प्रधानाध्यापक टंकलाल गिरीले भने, 'आफ्नो विद्यालय नमुना छनोट भएकोमा अब यो विद्यालयलाई जिल्लाकै प्रतिष्ठित विद्यालय बनाउने मात्र हाम्रो उद्देश्य होइन। प्रदेश हुँदै देशकै नमुना विद्यालय बनाउने अभियान थाल्ने छौं। यो अभियानमा सबैको साथ र सहयोग आवश्यक छ।'

विद्यालयलाई सरकारले नमुना घोषणा गर्ने अवस्थासम्म पुर्‍याउन शिक्षक, अभिभावक र शुभचिन्तकहरुको भूमिका महत्वपूर्ण रहेको छ। प्रबुद्ध मावि प्राविधिक शिक्षा, प्रोजेक्टर सहितकका प्रविधिकको प्रयोग लगायतका कारण जिल्लामा चर्चामा रहेको विद्यालय हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.