|

 बागलुङ : रक्तदानको महत्वबारे विश्वभर सन्देश प्रवाह गर्न विश्व साइकलयात्रा सुरु गरेका दुई नेपाली साइकल यात्री जापान पुगेका छन्। पर्वत पाङराङका भेषराज कँडेल र झापा कन्काईका युवराज मैनालीले ६ महिनाअघि सुरु गरेको यात्रा १५ देश घुमेपछि जापान पुगेको हो। 

जापान पुग्दा १६ देशको यात्रा पूरा भएको टेलिफोनमा टोकियोबाट साइकल यात्री भेषराज कँडेलले थाहा खबरलाई बताए। उनीहरुलाई जापानमा रहेका प्रवासी नेपालीले त्यहाँ स्वागतसमेत गरेको कँडेलले जनाएका छन्।रगतको अभावमा विश्वभर कसैले पनि ज्यान गुमाउन नपारोस् भन्ने सन्देश प्रवाह गर्नु आफ्नो उद्देश्य रहेको उनीहरुको भनाइ छ।

‘नेपाल र विश्वभरसमेत धेरै मानिसको रगत अभावमा हुने मृत्युको खबरले मनमा निकै पीडा हुन्थ्यो’, उनले भने, ‘के गर्न सकिन्छ भनेर सोच्दै गर्दा हामीले यो अभियान सुरु गर्‍यौं, रक्तदान नै जीवन दान हो भन्ने कुरा व्यवहरमै स्थापित गर्ने हाम्रो मनसाय हो।’

साइकल यात्राका क्रममा उनीहरु यसअघि भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, म्यानमार, भियतनाम, कम्बोडिया, लओस, थाइल्याण्ड, मलेसिया, सिंगापुर, ब्रुनाई, इन्डोनेसिया, फिलिपिन्स र ताइवान पुगिसकेका छन्।

पाँच वर्षभित्र १ सय ५० देश पुग्ने उनीहरुको लक्ष्य रहेको छ। भिन्न देशमा पुग्दा त्यहाँ रहेका नेपालीले खाना, बसाइ तथा आर्थिक सहयोगसमेत गर्ने गरेका छन्। ‘रक्तदानले रगत दिने व्यक्ति कमजोर हुन्छ भन्ने बुझाई छ, यो सत्य होइन’, कँडेलले भने, ‘यसको अन्त्य होस् भनेर म आफैंले अहिलेसम्म २५ पटक रक्दान दान गरिसकेको  छु।’

विश्व साइकल यात्रा सुरु गर्नुअघि नेपालका अधिकांश जिल्ला साइकलबाट पुगेर रक्तदानबारे सन्देश प्रवाह गरेको अर्का यात्री युवराज मैनालीले जानकारी दिए ।‘यात्राका क्रममा पुगेका देशमा हामीले बुद्धको देश नेपाल भ्रमण गर्नका लागि निम्तो समेत दिने गरेका छौँ’, मैनालीले टेलीफोनमै भने, ‘यो मौकामा पर्यटन प्रवर्द्धनको सन्देशसमेत दिइरहेका छौं’ उनले भने।

आफूहरुले स्वैच्छिक रुपमा सुरु गरेको यो अभियानमा पछिल्लो समय अन्य संघसंस्थाले समेत सहयोगका लागि चासो दिने गरेको उनले बताए। ‘अहिलेसम्म सरकारीस्तरबाट कुनै सहयोग लिएका छैनौं’ उनले थपे, ‘राज्यको समेत सहयोग भए यो अभियानले थप उपलब्धि हासिल गर्ने थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.