|

काठमाडौँ: विगत १९ वर्षदेखि नेपाली साहित्यको उत्थानमा अनवरत रूपमा क्रियाशील वनिता प्रकाशन तथा वनिता सहित्यिक पारिवरिक त्रैमासिकको १९ वार्षिकोत्सवको अवसरमा साहित्य, कला तथा समाज सेवामा योगदान पुर्‍याउने १३ व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरिएको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. नरेन्द्र चापागाईं स्मृति वनिता साहित्य सम्मान- २०७३ बाट समालोचक डा. लक्ष्मणप्रसाद गौतम सम्मानित भएका छन्। यसरी नै पाँच हजार रुपैयाँ राशिको वनिताश्री देवकुमारी कथा विशिष्ट सम्मान\पुरस्कार- २०७३ बाट कथाकार हरिहर खनाल पुरस्कृत भएका छन् भने गोपालप्रसाद रिमाल काव्य वनिता सर्वश्री सम्मान- २०७३ बाट कवि वासुदेव अधिकारी सम्मानित भएका छन्।

यसरी नै नमुना कला वनिता सम्मान- २०७३ फेसन डिजाइनर\प्रशिक्षक कुसमा श्रेष्ठ सम्मानित भएकी छन् भने १० हजार रुपैयाँ राशिको भद्रकुमारी-प्रा.डा. उषा ठाकुर भाषाविशेष वनिता सम्मान\पुरस्कार- २०७३ साहित्यकार राजेन्द्र विमललाई प्रदान गरिएको छ।

१० हजार रुपैयाँ राशिको देवकुमारी थापा बालसाहित्य वनिता सम्मान\पुरस्कार- २०७३ बाल साहित्यकार ध्रुव घिमिरेलाई प्रदान गरिएको छ। पाँच हजार रुपैयाँ राशिको व्यथित काव्य वनिता पुरस्कार- २०७३ कवि मोमिला जोशीलाई प्रदान गरिएको छ भने १० हजार रुपैयाँ राशिको हरिमाया प्रसाईं वनिता आदर्श नारी सम्मान\पुरस्कार- २०७३ पहिलो पटक दिलशोभा श्रेष्ठलाई प्रदान गरिएको छ।

यसैगरी १० हजार रुपैयाँ राशिको उन्नति शिला गीत वनिता पुरस्कार- २०७३ रचनाकार कल्पना अधिकारीलाई, पाँच/पाँच हजार रुपैयाँ राशिको वनिता विशेष वसुश्री-मधु पुरस्कार- २०७३ समाजसेवी दिनेश तामाङ र सञ्चारकर्मी उषा लोहनीलाई प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

वनिताकी प्रकाशकऽ सम्पादक साहित्यकार लक्ष्मी उप्रेतीका अनुसार पाँच हजार रुपैयाँ राशिको जलेश्वरी बालप्रतिभा वनिता पुरस्कार-२०७३ – बालप्रतिभा रदीक्षा खनाललाई, १० हजार रुपैयाँ राशिको वनिताश्री विशेष पुरुषोत्तम पाण्डेय प्रतिभा पुरस्कार- २०७३ गायिका निशा देसारलाई प्रदान गरिएको छ।

वनिता सहित्यिक पारिवरिक त्रैमासिकको ६८औँ अङ्कलाई साहित्यकार जलेश्वरी श्रेष्ठको पहिलो उपन्यास 'नियति चक्र'माथि विभिन्न लेखक तथा समालोचकहरूको समीक्षा साथै उपन्यासकारको विचार सङ्गृहित विशेषाङ्कका रूपमा लोकार्पणसमेत गरिएको उक्त कार्यक्रममा बालप्रतिभा रदीक्षा खनालले कालात्मक नृत्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा गायिका निशा देसारले आफ्ना लोकप्रिय गीतहरूमध्येबाट केही टुक्रा गाएर सुनाएकी थिइन्।

सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूले आफ्नो मन्तव्य राख्ने क्रममा देशको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गरेका थिए। एक जिम्मेवार नागरिकका रूपमा लेखक, कलाकार तथा साहित्यकारहरूको भूमिका प्रष्ट्याउँदै वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलले राजनीतिले परिस्थिति सहाल्न सक्दैन भने साहित्य नै त्यो मियो बन्छ, जसले देशलाई एकतामा बाँधिराख्छ भन्ने धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.