हातमुख धुन पनि विदेशीको सहयोग : उपप्रधानमन्त्री श्रेष्ठ

|

ओखलढुंगा : ओखलढुंगालाई देशको ४१ औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा बुधबार ओखलढुंगालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो। जिल्लालाई खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, 'हात धुन पनि विदेशी सहयोग माग्नुपर्ने नेपालको अवस्था साह्रै लाजमर्दो छ।' बुधबार ओखलढुंगा जिल्लालाई देशको ४१औं खुला दिसामुक्त जिल्ला घोषणा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

संसारको कैयन देशहरुसँग तुलना गर्ने हो भने अहिले पनि हामी दिसा कसरी गर्ने, हात कसरी धुने भन्ने कुरामै अल्झिरहेको मन्त्री श्रेष्ठले बताए। अब स्थानीय तहको निर्वाचनसँगै मुलुक संघीयता कार्यान्वयनमा गइसकेकोले विकासको गति पनि त्यसरी नै अगाडि बढाउनुपर्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले आगामी महिनाको २५ भित्र नीति र कार्यक्रम बनाउन आग्रह गर्दै  अब सरकारले सिधै  गाउँपालिका र नगरपालिकाको खातामा बजेट पठाउने बताए।

शिक्षामन्त्रीसमेत रहेका श्रेष्ठले भूकम्प प्रभावित १४ जिल्लामा १ सय ८३ वटा विद्यालय ट्रस निर्माणका लागि पैसा निकासासमेत गरेको बताए। एउटा ट्रसका लागि ५ देखि ७ लाख सम्मको बजेट छुट्याएको र ओखलढुंगामा जिल्लामा मात्रै १३ करोडभन्दा बढी रकम पठाएको बताए।

स्थानीय तहले माध्यमिक तहसम्मको नियमन गर्न पाउने भएकोले आवश्यक जनशक्तिका लागि निर्देशिका बनाई ल्याइने उपप्रधानमन्त्री श्रेष्ठले बताए। उनले शिक्षकहरुलाई अब कोरा शिक्षाले मात्रै नहुने भएकोले प्राविधिक र व्यवहारिक शिक्षातिर लाग्न निर्देशन दिए। अस्थायी शिक्षकको मागबारे सरकारले शिक्षा नियमावलीमा परिवर्तन गरी सहुलियत दिने तयारी गरेको पनि उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.