|

ललितपुर: नेपाली हाँस्यव्यंग्य क्षेत्रमा लोकप्रिय जोडी 'मह जोडी'का 'म' अर्थात् मदनकृष्ण श्रेष्ठको आत्मकथा पढ्न पाइने भएको छ। 'मह'का 'ह' अर्थात् हरिवंश आचार्यको आत्मकथा 'चिना हराएको मान्छे' प्रकाशन भएको चार वर्षपछि मदनकृष्णको आत्मकथा प्रकाशन हुन लागेको हो।

मदनकृष्ण श्रेष्ठले बुधबार आत्मकथाको नाम र प्रकाशन मिति घोषणा गरेका छन्। मह जोडीका कलाकार हरिवंशको आत्मकथा आइसकेको र यो पुस्तक भने मदनकृष्णका बारे लेखिएकोले आत्मकथाको नाम 'महको म' राखिएको छ।

पारिवारिक र स्वास्थ्यका कारणले हरिवंशको भन्दा चार वर्षपछि आत्मकथा आएको मदनकृष्णले बताए। '१५ च्याप्टर लेखेपछि श्रीमतीलाई क्यान्सर भयो, मलाई पार्किन्सन भयो', श्रेष्ठले भने, 'त्यसपछि उपाचारमा लागेँ, लेख्न थालेको ६ वर्षजति भए पनि बीचमा दुई वर्ष केही लेखिनँ।'

हरिवंशले आत्मकथा लेख्न सुरु गर्दा भने आफूले लेख्न नचाहेको बताए। उनले भने, 'सामान्य जीवन बिताइरहेको मेरो अटोवायोग्राफी (आत्मकथा) नि के लेख्नु भन्ने लागेको थियो।' अमेरिकामा रहेका आफन्तले लेख्न सुझाव दिएपछि भने लेख्न थालेको उनले बताए। 'दिनमा कोको भेटिए, क-कसको चित्त दुखाएँ भनेर लेखेँ। पछि बाल्यकाल, स्कुल, कलेज, जागिरे जीवन, श्रीमतीसँगको लभ परेको कुरा लेखेँ', उनले भने।

श्रेष्ठले हरिवंशसँग सहयात्रा गरेका सबै कुरा लेखेको र किताब पढेपछि पाठकहरूले धेरै कुरा थाहा पाउने बताए। 'सबै कुरा हरिवंशलाई भन्ने गरेको छु, आत्मकथामा कतिपय कुराचाहिँ हरिवंशलाई समेत नभनेका पनि छन्', उनले भने।

हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठको आत्मकथा आफ्नैजस्तो लागेको बताए। 'आफ्नै किताब निस्केको जस्तो लागेको छ', उनले भने। परिस्थितिले आफूले पहिले नै आत्मकथा लेखेको र त्यसलाई मदनकृष्णको आत्मकथाले पूर्णता दिन लागेको उनले बताए।

प्रकाशन संस्था फाइन प्रिन्टका प्रवन्ध निर्देशक निरज भारीले मदनकृष्णको आत्मकथा 'महको म' भदौ २० गते प्रकाशन हुने जानकारी दिए। मदनकृष्णको वैवाहिक जीवनको ४४ वर्ष पुगेको अवसरमा आत्मकथा प्रकाशन मिति तय गरिएको उनले बताए। कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र प्रकाशक भारीबीच पुस्तक प्रकाशनबारे औपचारिक सम्झौता भएको थियो।

हरिवंश आचार्यले 'मह' जोडी दुवैले छुट्टाछुट्टै आत्मकथा लेखिसकेपछि संयुक्त पुस्तकको तयारी गर्ने बताएका छन्। त्यस्तो पुस्तक हाँस्यव्यंग्य क्षेत्रमा गरेका कामलाई समेटेर गरिने उनले बताए। उनले भने, 'उहाँ (मदनकृष्ण)को आत्मकथा आएपछि 'मह'को संयुक्त किताब ल्याउने तयारी छ। हामीले काम गरेका हाँस्यव्यंग्यहरूको संकलन गरेर पुस्तकको रूपमा ल्याउने तयारीमा छौँ।'

संयुक्त रूपमा निकालिने पुस्तकले भावी पुस्तालाई नेपाली हाँस्यव्यंग्यबारे बुझ्न सहज हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.