|

सुनसरी : दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुनसरी जिल्लाका १४ सय ७७ जना उम्मेदावरको जमानत जफत भएको छ। जिल्लाका १२ स्थानीय तहका विभिन्न पदमा ३ हजार ४ सय ७८ जनाले उम्मेदवार थिए। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रमुख पदमा १ सय ५०, उपप्रमुखमा ६७ जना, वडाध्यक्षमा ३ सय ६१ जनासहित वडा सदस्यहरु समेत जोड्दा जम्मा १४ सय ७७ जनाको जमानत जफत भएको हो। 

इटहरी उपमहानगरपालिकामा सबैभन्दा बढी २ सय ६६ जनाको मानत जफत भएको छ । इटहरीमा १३ जना प्रमुख, १२ जना उपप्रमुख, ६६ जना वडाध्यक्ष गरी २६६ जना उम्मेदवारको जमानत जफत भएको हो। यसैगरी धरान उपमहानगरपालिकामा ९ जना प्रमुख, ९ जना उपप्रमुख र ५० जना वडाध्यक्ष गरी कुल १ सय ९५ जना उम्मेदवारको जमानत जफत भएको छ।

बराह नगरपालिकामा ६ जना प्रमुख, ४ जना उपप्रमुख र ३९ जना वडाध्यक्ष गरी एक सय ४९ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालय जनाएको छ। 

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा १ सय २२ जना उम्मेदवारको जमानत जफत भएको छ। इनरुवामा १५ जना प्रमुख, ६ जना उपप्रमुख र २३ जना वडाध्यक्षको जमानत जफत भएको छ।

दुहबी नगरपालिकामा ४ जना प्रमुख, ३ जना उपप्रमुख र २३ जना वडाध्यक्ष गरी ८० जना उम्मेदवारको जमानत जफत भएको छ। रामधुनी नगरपालिकामा ८ प्रमुख, ६ उपप्रमुख र ३० जडाध्यक्ष गरी जम्मा १ सय ३८ जना उम्मेदवारको जमानत जफत भएको छ। 

गाउँपालिकातर्फ कोशी गाउँपालिकामा सबैभन्दा बढी १ सय १५ जनाको जमानत जफत भएको छ। कोशीमा ८ प्रमुख, ६ उपप्रमुख र २९ वडाध्यक्ष गरी एक सय १५ जनामा जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

गढी गाउँपालिकामा ४ प्रमुख, ३ उपप्रमुख र १६ जना वडाध्यक्ष गरी ६० जना उम्मेदवारको जमानत जफत भएको छ। देवानगञ्ज गाउँपालिकामा ८ जना प्रमुख, ६ जना उपप्रमुख र २८ जना वडाध्यक्ष गरी १ सय ६ जनाको जमानत जफत भएको छ भने, बर्जु गाउँपालिकामा ३ प्रमुख, ३ उपप्रमुख र १४ जना वडाध्यक्षसहित ६२ जनाको जमानत जफत भएकोे छ। 

भोक्राहा गाउँपालिकामा १३ जना अध्यक्ष, ७ जना उपाध्यक्ष र २४ जना वडाध्यक्षसहित १ सय ७ जना उम्मेदवारको जमानत जफत भएको छ।  हरिनगरा गाउँपालिकामा ५ जन प्रमुख, ५ जन उपप्रमुख र १९ जना वडाध्यक्ष गरी ७७ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। 

१४ उम्मेदवारको शुन्य भोट 

पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा मतदाता तथा जनताको उत्साहजनक सहभागिता थियो। मतदाताको सहभागितासँगै विभिन्न पदमा उम्मेदवार बन्नेहरुको पनि कमी थिएन। 

तर धेरै उम्मेदवारले राम्रो मत ल्याउन सकेनन्। धेरैको जमानत जफत भयो। जिल्लाका विभिन्न तहमा प्रमुखको उम्मेदवार बनेका १ सय ३० जनामध्ये १४ जनाले आफ्नै मत समेत पाएनन्।  

इनरुवा नगरपालिकामा प्रमुखको उम्मेदवार रहेका रमेश कुमार थापा र ज्ञानेन्द्र प्रसाद दाहाल, कोशी गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजेश कुमार मण्डल, देवानगञ्ज गाउँपालिकामा अध्यक्षका उम्मेदवार गंगा मेहता, अरुणकुमार कर्ण, डुम्बरलाल यादव, गणेश माली र मुजिवर रहमान अन्सारी, भोक्राहा गाउँपालिकाको अध्यक्षका उम्मेदवार रमेश प्रसाद यादव, नेमी मियाँ र वीरेन्द्र प्रसाद ठाकुर, हरीनगरा गाउँपालिकाका अध्यक्षका उम्मेदवार सियाराम सर्वरिया, रामधुनी नगरपालिकाका प्रमुखका उम्मेदवार सुर्यप्रसाद दाहाल र मनराज दाहालले कुनै मत ल्याउन सकेनन्। 

भोक्राहा गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार रमेश कुमार उराव, दुहवी नगरपालिकाकी उपप्रमुखकी उम्मेदवार कृष्ण कुमारी विश्वकर्मा, इटहरी उपमहानगरपालिकाकी उपप्रमुखकी उमेदवार रुजा घिमिरेले पनि शुन्य मत ल्याए। 

उपप्रमुख\उपाध्यक्षमै सिमित भए महिला 

दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत सुनसरीको १२ वटा स्थानीय तहको उपप्रमुख\उपाध्यक्ष पदमा महिला मात्र निर्वाचित भएका छन्। त्यस्तै, स्थानीय तहको प्रमुख र वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन्। 

सुनसरीका १२ स्थानीय तहमा १२४ वडा छन्। त्यसमध्ये कुल ६४४ वटा पदमा ३ सय ८० जना पूरुष र २ सय ६४ जना महिला निर्वाचित भए। 

३.४५ प्रतिशत मत बदर     

दोस्रो चरणको निर्वाचन अन्तर्गत सुनसरीमा ३.४५ प्रतिशत मत बदर भएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल खसेको मतको ३.४५ प्रतिशत मत बदर भएको हो। 

४ लाख २१ हजार १ सय ५९ मतदाता रहेको सुनसरीमा ३ लाख १३ हजार १६ मत खसेको थियो। जसमध्ये ३ लाख २ हजार २ सय ११ मत सदर भएको र १० हजार ८ सय ५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। 

निर्वाचन कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी भोक्राहा गाउँपालिकामा ७.४३ प्रतिशत र सबैभन्दा कम बराह नगरपालिकामा २.०४ प्रतिशत मत बदर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.