विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना रेका छन्। २ सय ४ वर्षअघि असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो।
आदिकविको जन्मजयन्तीको अवसरमा भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कविता प्रतियोगितामा सहभागी साहित्यकारहरुले भानुभक्त आचार्यसँग सम्बन्धित सिर्जना वाचन गरे। प्रतियोगितामा कवि बाबुराम श्रेष्ठ ‘वर्षा’ पहिलो, भवानी पोखरेल दोस्रो, सरिता तुलाधर तेस्रो र वीरेन्द्रकुमार साह चौथो भए।
साहित्यकार मधु पोखरेल र रामबाबु दाहाल निर्णायक रहेको कार्यक्रममा दुई दर्जनभन्दा बढी कविले सहभागिता जनाए। कार्यक्रममा लावण्य सापकोटा, गोकुल अधिकारी, देवी पन्थी, हरि कट्टेल, मञ्जु शर्मा, मीनकुमार नवोदित, सविता गौतम दाहाल, मान बज्राचार्य, तारानाथ पोखरेल लगायतले अप्रतियोगी सिर्जना प्रस्तुत गरे।
गीतकार डा. नवराज सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, श्रीओम श्रेष्ठ ‘रोदन’, दधिराज सुवेदी लगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
भानु कला केन्द्रले हरेक वर्ष आदिकविको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ। केन्द्रले बिहीबार बिहान भानुक्तको संझनामा रथयात्रा निकाल्दैछ। बिहीबारै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई केन्द्रले सम्मान गर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।