|

वीरगन्ज : ‘सरकारले पक्की घर बनाइदिने भनेपछि फुसको घर भत्काइयो। तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैनौं', त्रिपालको ओतमा सामान राखेकी वीरगन्ज रामगढवाकी कौशीला देवीले भनिन्, ‘पानी परेका बेला बालबच्चालाई लिएर छिमेकीको घरमा शरण लिई रात बिताउनुपरेको छ।' सरकारले राम्रो घर बनाइदेला भन्ने आशामा रहेका कौशलादेवी जस्तै पर्साका गरीब र दलित समुदाय दुई महिनादेखि बिचल्लीमा छन्।

जनता आवास कार्यक्रममार्फत सुरक्षित घरको आश्वासन पाएका उनीहरूले घर भत्काएको महिनौं बितिसक्दा पनि नयाँ घर बनाउन सकेका छैनन्। घर नबन्दा वर्षा र झरीको बेला कष्टकर जीवन बिताउन बाध्य छन्। सरकारले जनता आवास कार्यक्रममार्फत चालु आवमा पर्साका दलित, गरिब, विपन्न समुदायका लागि हजारवटा घर बनाउने योजना सार्वजनिक गरेको थियो। पर्साको पाँचवटै निर्वाचन क्षेत्रमा दुई/दुई सय गरी कुल एक हजार वटा सुरक्षित घर बनाउने योजना छ। सहरी विकास मन्त्रालयले एउटा घरको लागत दुई लाख १४ हजार सात सय रुपैयाँ राखेको छ।

घर निर्माणका लागि मन्त्रालयले जिल्लास्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत घरधनीलाई चार किस्तामा रकम उपलब्ध गराउने प्रावधान छ। तर, सम्बन्धित घरधनीले अहिलेसम्म आवास निर्माणका लागि पहिलो किस्ता बापतको रकमसमेत पाएका छैनन्। पक्की घर बन्ने आश्वासन पाएपछि दलित, गरिब र विपन्न समुदायले वैशाखमै फुसको घर भत्काएर जगसमेत खनिसकेका छन्। तर, जग खनेलगत्तै पहिलो किस्ता पाउने आशामा रहेका अधिकांश गरिब, अति विपन्नले घर भत्काएको तीन महिना बित्दा पनि रकम पाएका छैनन्।

चालु आर्थिक वर्षको भदौमै बजेट आए पनि सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय वीरगन्जले आवास कार्यक्रमको प्रक्रिया असार पहिलो सातादेखि सुरु गरेको छ। जिल्लामा निर्माण गर्नुपर्ने आवासका लागि घरधनी छनोटमा जिल्लाका सांसद र राजनीतिक दलले हस्तक्षेप गरेपछि समयमै प्रक्रिया सुरु गर्न नसकिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय वीरगन्जका प्रमुख सरोजकुमार गोइतले बताए।

‘माननीयले आफ्नो स्वार्थसिद्ध गर्न अनावश्यक बखेडा झिकेर पटकपटक विवाद गर्नुभयो', उनले भने, ‘बजेट भदौमै आए पनि मन्त्रालयबाट कार्यविधि मंसिर-पुसतिर मात्रै आयो, त्यसैले प्रक्रिया अगाडि बढाउन ढिला भएको हो।' पहिलो किस्ताको रकम दुई/तीन दिनभित्रै घरधनीको हातमा पुग्ने गोइतले बताए। ‘निर्माण समितिका संयोजक र इन्जिनियरको संयुक्त नाममा रहेको खातामा पहिलो किस्ताको रकम निकासा भइसकेको छ', उनले भने, ‘दुई तीन दिनमै त्यो रकम घरधनीको हातमा पुग्छ।'

जग खनिसकेका पाँच सय घरका लागि पहिलो किस्ताको रकम खातामा निकासा भइसकेको र बाँकी पाँच सय घरका लागि सम्झौता भइसकेको जनाउँदै गोइतले सम्झौता भइसकेकाले कार्यक्रमका लागि चालु आर्थिक वर्षमा आएको बजेट फ्रिज नहुने दाबी गरे। ‘इन्जिनियर साबले पुरानो घर भत्काएर जग नखनेसम्म पैसा पाइँदैन भनेपछि हतार-हतार फुसको घर भत्कायौं। जग खनेको पनि तीन महिना भइसक्यो, अहिलेसम्म एक सुको पाएका छैनौं', रामगढवाकै रम्भु बैठाले भन्नुभयो, ‘अब यो झरी र वर्षाका बेला बालबच्चा र परिवारको बिचल्ली भएको छ। छिमेकीको घरमा शरण लिएर बस्नुपरेको छ। छिमेकीले पनि बास दिन अप्ठ्यारो मान्छन्। पानी परेका बेला छाता ओढेर रात बिताउनुपर्छ।'

पक्की घर बन्ने आशामा पुरानो वासस्थान तोडेर निर्माण सुरु गरेकाले अहिले छिमेकीको गोठमा बास बस्न बाध्य भएको बिरुवागुठीका मंगल महराले बताए। ‘पक्की घर बन्छ भनेर भएको झुपडी पनि भत्कायौं, उनले भने, 'वर्षाले अन्नपात, लत्ताकपडा सबै भिजेका छन्। बालबच्चालाई अरूको गोठमा त्रिपाल टाँगेर राख्नुपरेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.