|
फाइल फोटो

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा खसेको पहिरोका कारण अवरुद्ध सडक अझै सुचारु भएको छैन।

बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध बनेको सडक राति ८ बजे एकतर्फी खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका सवारीहरुलाई कटाएपछि पहिरो पन्छाउने काम रोकेर बिहान ४ बजेबाट पुनः थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
 
राति पहिरो खस्ने जोखिम बढेकाले काम रोकेर बिहानबाट पहिरो पन्छाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। ‘जोखिममा रहेको २/३ सय गाडी पास गरायौँ, त्यसपछि रोकेर आज बिहानबाट पहिरो पन्छाउन थालिएको छ,’ पन्तले भने।

थप अवरोध नआए १० बजेसम्ममा सडक खुलाउन सकिने अपेक्षा रहेको प्रहरीले जनाएको छ।

यसअघि पनि इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोला र चारकिलो भन्ने स्थानमा पटकपटक पहिरो खसिसकेको छ। सडक विस्तारका क्रममा भित्तो काटिएको क्षेत्रमा बढी पहिरो खसिसकेको छ।

मुग्लिनदेखि कालीखोला हुँदै घुमाउनेसम्मको सडक पहिरोको उच्च जोखिममा छ। सोही स्थाननजिकै यही असार ९ गते बिहान खसेको पहिरोमा परेर ३ प्रहरीको मृत्यु भएको थियो भने एक प्रहरी अझै बेपत्ता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.