साहित्य

आदिकवि भानुभक्तको भाषारामायण र फुटकर रचनाको महत्त्वपूर्ण संस्करण
SHARES

असार २९, २०७४

    काठमाडौैं : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको सेरोफेरोमा नेपालीभाषी धेरैले उनी र उनका कृतिको गुणगान गर्छन्। केही कवि–लेखकहरूले उनको आलोचना गरेको पनि सुनिन्छ। त्यसमध्ये कतिपयले अत्यन्त अनुचित ढङ्गले अयथार्थ आलोचना गरेको पनि पाइन्छ। 

    विभिन्न समयका विभिन्न सम्पादकहरूले मनलागी श्लोक थप्ने, कैयौं शब्द फेर्ने आदि काम भएका कारण पनि भानुभक्तीय रामायणमाको मूल रूप कुन हो भन्नेमा नेपाली भाषाप्रेमी अन्योलग्रस्त छन्।  

    भानुभक्तका र उनका कृतिका विषयमा अध्ययन–अनुसन्धान गर्ने र उनका कृतिहरूको सम्पादन गरी शुद्धरूप प्रकाशनमा ल्याउने खाँचो अनुभव गरिँदै आएका बेला संस्कृत तथा नेपाली भाषाका विद्वान् शिवराज आचार्य कौण्डिन्न्यायनले ‘भानुभक्तकृत भाषारामायण' प्रकाशनमा ल्याएका छन्। कौण्डिन्न्यायनका अनुसार आदिकवि भानुभक्त आचार्यसम्बन्धी झण्डै ५० वर्षदेखिको खोज र अनुसन्धानको परिणाम हो, यो पुस्तक।

    यो कृतिमा रामायणसहित आदिकविका सम्पूर्ण कृतिका साथै रचना गर्दाका विभिन्न सन्दर्भ उल्लेख छन्। आदिकविका जीवनका विभिन्न पाटा तथा उतारचढावलाई समेटिएको छ पुस्तकमा । 

    यस पुस्तकको भूमिकामा भानुप्रतिष्ठानद्वारा प्रकाशित भानुभक्तीय रामायणको समीक्षा गरिएको छ। यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘संस्कृत अध्यात्मरामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन’ भन्ने ग्रन्थको संक्षिप्त समीक्षा पनि गरिएको छ। 

    पुस्तकमा आदिकवि भानुभक्त आचार्यको  (वि.सं.१८७१–१९२५) संक्षिप्त जीवनी संलग्न छ भने भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा र फुटकर कविता पनि समेटिएका छन्। यसमा भानुभक्तले प्रयोग गरेका कठिन शब्दहरूको अर्थ र सबै श्लोकहरूका पाउहरूको अकारादि सूची पनि समावेश छ। 

    पुस्तकको भूमिकामा भानुभक्तकृत भाषारामायणको धार्मिक, दार्शनिक, सांस्कृतिक, भाषिक, साहित्यिक महत्त्वको उदाहरणसहित प्रतिपादन गर्नुका साथै नेपाली राष्ट्रियताको रक्षाका लागि रामायणको सार्थक प्रचारको आवश्यकता पनि देखाइएको छ। 

    साथै नेपाली भाषाका वास्तविक वर्णहरूको विवेचना गर्दै नेपाली भाषामा संस्कृतका ऋ लृ वर्ण नरहेको तर ञ्,ण्,श्,ष् वर्ण रहेको, ङ्ङ्ङ्ङ्, न्न्न्न्, म्म्म्म् आदि दीर्घ व्यञ्जनहरू पनि रहेको आदि तथ्यहरूको समेत समावेश गरिएको छ। 

    २०२५ चैतमा त्रिभुवन युनिभर्सिटी जर्नलमा प्रकाशित लेखमा सर्वप्रथम शिवराज आचार्यले नेपाली भाषामा रहेका भनेर निश्चित गरेर प्रकाशित गराएका अइ्, अउ्, आइ्, आउ्, इउ्, उइ्, एइ्, एउ्, ओइ्, ओउ् यी दश वटा सन्ध्यस्वरका विषयमा पनि जनकारी दिइएको छ। नेपालमा आवश्यक राष्ट्रिय शिक्षापद्धतिका विषयमा विचार र संस्कृतशिक्षाको सुधार तथा वैदिक गुरुकुलीय शिक्षाको यथार्थ स्वरूपका विषयमा पनि जानकारी दिइएको छ। यस पुस्तकको भूमिकामा वैदिक धर्मका विषयमा पनि प्रामाणिक जानकारी समाविष्ट गरिएको छ।

    घाँसीका प्रेरणाले भानुभक्तले कविता लेख्न शुरु गरेको, आदिकविका भनिएका कतिपय रचना मोतिराम भट्टले लेखिदिएको भन्नेजस्ता भ्रम चिर्न पनि पुस्तकले प्रयास गरेको छ।

    आदिकवि भानुभक्त आचार्यको पहिला जीवनचरित्र-लेखक मोतीराम भट्टले प्रकाशित गरेका चित्रमा अत्यावश्यक संशोधन गरिएको छ। वि.सं. १९४८ मा मोतीरामले फाेटाेका अाधारमा बनाउन लगाई प्रकाशनमा ल्याएका रेखाचित्र (स्केच)मा उपर्ना दाहिने काँधमा भई नमिलेको तथा कपाल तथा रामायणको छापिएको पुस्तक हातमा लिएको कुरा नमिल्दो हुन गएको सम्पादक कौण्डिन्न्यायनको भनाइ छ। त्यसैले  पुस्तकको अावरणमा रहेको अादिकविको रेखाचित्र पाठकलाई नयाँ लाग्न सक्छ।पुस्तकमा आदिकविको जन्मस्थल तनहुँ चुँदी र त्यहाँसम्म पुग्ने बाटोको सचित्र वर्णन गरिएका छ।

    अनुसन्धानकै क्रममा कौण्डिन्न्यायनले भानुभक्तकृत भाषारामायणको बालकाण्डदेखि सुन्दरकाण्डसम्म सम्भावित शुद्धपाठ भानुदर्शन पत्रिकाका विभिन्न अङ्क (२०३१–२०३५) मा लेखेका थिए। यसै कामलाई अगाडि बढाएर उनले भानुभक्तकृत भाषारामायणको शुद्ध पाठ निर्धारण गरी ६ वर्षअघि समीक्षात्मक संस्करण प्रकाशनमा ल्याएका थिए। त्यस कृतिमा पनि रामायणका विषयमा अहिलेसम्म भएका सबै कामहरूको समीक्षा गरिएको थियो।

    त्यही पुस्तकलाई परिमार्जन गरी ल्याइएकाे ‘भानुभक्तकृत भाषारामायण'  भानुभक्तका कृतिहरूको अहिलेसम्मकै अनुसन्धानमूलक सुसम्पादित शुद्ध र विशिष्ट संस्करणका रूपमा रहेको दाबी गरिएको छ। यो पुस्तक साङ्ग्रिला पुस्तक प्रालिले छापेको हो।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]