भाषा, साहित्य जगेर्नामा भानुको योगदान अतुलनीय : प्रधानमन्त्री

|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

आदिकवि भानुभक्त आचार्यको २०४औं जयन्तीका अवसरमा बिहीबार भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुभक्तको योगदान अतुलनीय रहेको बताए।

उनले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताए। समारोहमा साहित्यिक प्रतिभा र विद्यार्थीका प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो। प्रधानमन्त्री देउवाले भानुभक्तको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद् गरी भानुभक्तले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्‍याएका थिए।

वि.सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए।

भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घरघरमा लय हालेर पढ्न थालेका थिए। पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन्।

‘प्रश्नोत्तर’ कृतिमा मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने ‘वधूशिक्षा’मा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ। उनका फुटकर कवितामा कान्तिपुर र प्रकृतिको वर्णन, ढिलो प्रशासनतन्त्रलाई व्यङ्ग्य गरिनाका साथै समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गरिएको छ।

भानुजयन्तीकै अवसरमा बुधबार साहित्यिक दौड गरिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर लैनचौर काठमाडौँबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको घर बखुंबहाल, ललितपुरसम्म साहित्यकार लक्ष्मण सापकोटा ‘रामायण’ बोकेर भानुको पहिरनमा दौडिएका थिए।

त्यस्तै बिहीबार बिहान रानीपोखरीबाट भानुभक्तको सम्मानमा प्रभातफेरिको आयोजना गरिएको थियो। भारतको दार्जिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रुपमा मनाउने गरिन्छ।

भानुभक्तको वि. सं. १९२३ असोज ६ गते निधन भएको थियो।

२०४ औं भानुजयन्तीको अवसरमा भानु साहित्यिक दौड सुरु गर्नुअघि राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग काभ्रेका साहित्यिक धावक लक्ष्मण सापकोटा।

२०४ औं भानुजयन्तीको अवसरमा बुधबार साहित्यिक दौड गर्दै लक्ष्मण सापकोटा। लैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको घरबाट ललितपुर, बखुँबहालस्थित वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीका घरसम्म ‘रामायण’ बोकेर भानुको पहिरनमा बिहीबार बिहान दौड गरिएको थियो।

२०४ औं भानुजयन्तीको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको घरबाट भानु साहित्यिक दौड गरेका काभ्रेका साहित्यिक धावक लक्ष्मण सापकोटा शताब्दीपुरुष सत्यमोहन जोशीसँग। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.