|

  • मनोज भट्टराई

ओखलढुंगा : गाउँमा डोजर लगेर बाटो खनिएको छ र जिल्लालाई सुगम घोषणा गरिएको छ। यसको उदाहरण ओखलढुंगाको लिखुकिनारका बस्ती हुन्। जताततै बाटो खनेर सुगम बनाइएका ओखलढुंगाका चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका खिजीदेम्बा गाउँपालिका र छिमेकी जिल्ला रामेछापका उमाकुण्ड गाउँपालिका, लिखु गाउँपालिका र रामेछाप नगरपालिकाका स्थानीय वर्षातको बेला भने सडककै कारण दु:ख भोग्न बाध्य छन्।

यी क्षेत्रका बस्तीहरु वर्षातको बेला सडक भएपनि यातायात सेवाबाट बञ्चित हुनुपरेको छ। यस्तो नियती भोग्ने जनता ओखलढुंगा र रामेछापका मात्रै होइनन् अर्को छिमेकी जिल्ला सोलुखुम्बुका पनि छन्। रामेछापको बाम्ती भण्डार हुँदै सोलुखुम्बुको चौलाखर्क, गोली भकान्जे जानेसडक, खिम्ती देखि भुजी, पिर्ती, गुप्तेश्वर सडक, सैँपु सिरिसेबाट ओखलढुंगाको खिजिफलाटे, गाम्नाङ्गटार सडक, देउराली साँघुटारदेखि घोराखोरी हुदै ओखलढुंगा, साँघुटार यसम गाम्नाङ्गटारका सडकहरू र लिखु किनारका अधिकांश सडक वर्षातको बेला काम नलाग्ने भएका छन्।

यी सडकहरुबाट हिउँदमा मात्र यातायात सेवा मिल्ने गरेको छ। हिउँदमा पनि पानी पर्दा भने काम नलाग्ने हुन्छन्, ती सडक।

रोजगारी र अन्य कामका लागि राजधानी लगायतका सहरमा गएका लिखुकिनारका स्थानीयले जोखिमको यात्रा गर्नुपरिरहेको स्थानीय एवं सञ्चारकर्मी इन्द्र घिषिङले बताए। उनी भन्छन, 'स्थानियको लापारबाही हो कि राज्यको कमजोरी हो यो बाटोमा डोरी लगाएर भैसी डोराए जस्तै गाडी डोर्‍याउनु पर्ने बाध्यता कहिल्यै हटेन। गाडीमा यात्रा गर्दा आङ नै सिरिङ्ग हुन्छ।'

कच्ची सडकहरुमा जताभावीरुपमा ट्रयाक्टर चलाउने गरेकाले पनि सडक बिग्रेको स्थानीयवासीको गुनासो छ। पटकपटक पहिरो जाने र वर्षाको पानीका कारण सडकमा खाल्डाखुल्डी पर्ने गरेका छन्। सडकको अवस्था दिनप्रिदिन खराब बन्दै गइरहेको छ।

जोखिम मोलेर यात्रुवाहक सवारीसाधन चलाउँदा पनि तीनवटै जिल्लाका सम्बन्धित सरकारी अधिकारीहरु मौन रहेको यात्रुहरूको गुनासो छ। ओखलढुंगाको लिखु गाउँपालिका ६ का स्थानीय टुकबहादुर मगरले भने, 'व्यवसायिले पैसाको निम्ति जीर्ण भएका सडकमा सवारीसाधनको क्षमताभन्दा बढी यात्रु र सामानहरु बोक्ने गरेका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.