|

स्थानीय तहको दुई चरणको निर्वाचनपछि दलहरू असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा केन्द्रित भइरहेका छन्। र, चुनावी समीक्षा पनि गरिरहेका छन्। धेरै सिट जित्नेदेखि थोरै सिट जित्नेसम्म सबैजसो दल चुनावमा अन्तर्घात भैरहेको समीक्षा गरेका छन्। कतिपय दलले त तल्लो तहका नेता कार्यकर्तालाई कारबाही समेत गरिसकेका छन्। चुनावी परिणामको समीक्षा लगायतका विषयमा मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको बैठक चलिरहेको छ। संविधान र व्यवस्थाको भण्डाफोर गर्ने भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत चुनावमा भाग लिएको क्रान्तिकारी माओवादीले दुई वटा वडामा जित हात पार्‍यो। उसले चुनावको समीक्षा कसरी गरेको छ त ? रेडियो थाहा सञ्चारका दीपेन्द्र कुँवरले नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग कुराकानी गरेका छन्।


तपाईँहरुले यो चुनावबाट के पाउनुभयो?

चुनावबारे समग्र समीक्षा हुँदैछ। हाम्रो बैठक बसिरहेको छ। हामीले हाम्रो मोर्चा मार्फत जुन उपयोगको नीति लिएका थियौँ, त्यो उपयोग गर्नु ठीक थियो भन्ने नै छ। र, हामीले जित्ने अपेक्षा पनि गरेका थिएनौँ।

नाफा भयो कि घाटा भयो?

अपेक्षा नगरेको भएर घाटा भयो भन्न मिल्दैन। तर केही नगरपालिका र केही वडामा जितिएला भन्ने थियो, जितिएन। यसमा हाम्रा आफ्नै केही कमीकमजोरी पनि रहे। केही कमी कमजोरी र सीमा त हाम्रा पनि उजागर भए।

तर पार्टीकै उम्मेदवारले आफूलाई भोट नहाल्ने, भएको भोट पनि नआउने स्थिति त देखियो नि?  

यो अन्तर्घात भनेर भन्छन् नि, यो सबै जसो पार्टीमा देखियो भनेर भन्नुस्। सबै जसो पार्टीले अन्तर्घातको समीक्षा गरिरहेका छन्।

तपाईँहरुकोमा पनि अन्तर्घात देखियो होइन त?

हाम्रोमा पनि अलि अलि देखियो हेर्नुस्।

यसको कारण के हो? तपाईँले अघि हाम्रा पनि कमीकमजोरी रहे भन्नुभयो।  

नैतिकता र राजनीतिक संस्कार खस्किँदै गएको र ह्रास आएको परिणाम हो यो। हाम्रोमा पनि अलिकति देखा पर्‍यो।

दैलेखमा तपाईँको पार्टीका दुई सय सदस्यले सदस्यता नवीकरण गर्दा पनि ६० भोट मात्रै आयो, दाङमा पनि पार्टी भित्रैबाट भोट नआएको गुनासो आयो। यसलाई कसरी समीक्षा गर्नुभएको छ? कारबाहीको कुरा पनि हुन सक्ला। के सोच्नुभएको छ?

सामान्य समर्थकको कुरा त अलग भयो। तर पार्टी सदस्यबाटै भएको कुरामा त कुनै न कुनै अनुशासनको कारबाही हुन्छ नै। अहिले हामीले निर्णय केही पनि लिएका छैनौँ, छलफलमै छौँ।

अब दुई नम्बर प्रदेशमा चुनाव हुँदैछ। संघीय संसद र प्रदेशको पनि चुनाव हुँदैछ। बहिस्कार गर्ने कि उपयोग?  

दुई नम्बर प्रदेशमा त हामी चुनाव उपयोग गर्नेतिर नै जान्छौं। अरु चुनाव के गर्ने भन्नेबारेमा हामीले केही निर्णय लिएका छैनौं। यसमा अरु कुरा पनि छन्, जस्तो हामीलाई चुनाव चिन्ह दिने कि नदिने? पार्टी दर्ता गर्ने कि नगर्ने? यी कुरामा हामीले राजनीतिक दलसँग कुराकानी पनि गरिरहेका छौँ। अहिलेका प्रधानमन्त्रीसँग पनि हामीले कुराकानी गर्‍यौँ। उत्कृष्ट संविधान पनि भन्ने तर नदिने। हामी त नयाँ दल पनि होइनौं फेरि। एउटा ऐतिहासिक ढंगले हामी आइरहेका छौँ। चुनाव चिन्ह नदिने हो भने त यो सिधै फासीवाद हो भनेर भन्नुस्। हेर्नोस्, त्यो स्थितिमा यसको उपयोग गरेर खासै अर्थ हुन्न। चुनाव चिह्न दिने हो भने के गर्ने भन्नेबारेमा हामी सोच्छौँ।

तर तपाईँ आफैले केन्द्रीय समिति बैठकमा ‘चुनाव बहिस्कार भन्दा उपयोग गाह्रो रै'छ’ भन्नुभएछ। त्यसकारण तपाईँहरू कतै फेरि बहिस्कारमै जानु हुने हो कि?

संसदीय व्यवस्थामा चुनाव बहिस्कार वा उपयोगको प्रश्न कार्यनीतिक प्रश्न हो। उपयोग गरेपछि उपयोग गरेको गर्‍यै र बहिस्कार गरेपछि बहिस्कार गरेको गर्‍यै भन्ने हुन्न। त्यसैले अवस्था हेरेर उपयोग पनि गर्न सकिन्छ र बहिस्कार पनि गर्न सकिन्छ।

उसो भए भनिदिनुस् २०७० सालको संविधान सभा चुनाव बहिस्कार र २०७४ स्थानीय चुनाव उपयोगबाट के सिक्नुभयो?

त्यतिबेला हामीले जुन एजेन्डा उठाएका थियौं, त्यो आधारमा बहिस्कार ठीक थियो। राजनीतिमा पनि मूल्य मान्यता हुन्छ, हामीले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार गएन भनेर कुरा उठाएका थियौँ। बहुदलीय राजनीति भन्ने निर्दलीय प्रधानमन्त्री बनाउने, शक्ति पृथकीकरण भन्ने बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने जस्ता गलत कामहरू भए। यसो गर्नुहुन्न भनेर हामीले राखेका थियौं र त्यो  ठीक थियो। हामीले उठाएका कुरा जायज भएकोले बहिस्कार पनि ठीक थियो। र, अहिले एउटा प्रतिक्रिया काल सुरु भयो भनेर हामीले भनेका छौँ। अर्को भाषामा भन्दा आन्दोलन उभारमा छैन, उतारमा छ। उतारमा भएको बेला उपयोग गर्नु सही हुन्छ भन्ने मूल्याङ्कन गरेर उपयोग गर्‍यौँ।  

तर अहिलेको संविधानले स्थानीय तहलाई जति अधिकार दिएको छ, त्यो आधारमा यो चुनावलाई बलियोसँग उपयोग गरेको भए हुन्थ्यो भन्ने लाग्या छैन? किनकि अब त ५ वर्ष जित्नेले स्थानीय सत्ता चलाउने हो।

बलियोको कुरा गर्दा अहिलेकै चुनावपनि सही ढंगले गएको छैन हेर्नोस्। संरक्षित र स्वायत्त क्षेत्र निर्माण भएको छैन। निर्वाचन त पहिले माथिबाट हुनुपर्थ्यो, त्यो भइरहेको छैन। यी सबै हेर्दा त अहिले पनि मिलेको छैन। मिले पनि नमिलेपनि उपयोगमा जाँदा ठीक होला भनेर गएको हो।

तपाईँहरुले जित्ने अपेक्षा गरेका थिएनौं, जोड पनि लगाएनौ भन्ने जुन कुरा छ नि, यसले जनताबाट कट्ने स्थिति त बन्दैन कतै भन्न खोजेको?

मतदाता नामावलीमा धेरैको नाम थिएन, निर्वाचन चिह्न नहुँदा जनतालाई बुझाउन पनि गाह्रो, प्रचारको समय पनि पाइएन, शक्ति पनि कमजोर थियो, हाम्रा लागि धेरै प्रतिकुलता थियो। त्यो अवस्थामा हामीले गाह्रो छ भनेका हौँ। उठे पछि नजित्ने होइन, तर जित्नका लागि मरिहत्ते गर्ने भन्ने भएन। तालमेलकै कुरा हेर्नोस् अहिलेको।

मतदाता नामावलीमा नाम छुटेको कुरा गर्नुभयो। आयोगले फेरि संकलन गर्दैछ साउन १ गतेदेखि। तपाईँहरू दर्ता गर्नुहुन्छ?

हो, हामीले दर्ता गर्ने भनेका छौँ। अहिलेका लागि त दर्ता गरेरै गइन्छ।

यो पनि पढ्नुस्ः चुनाव उपयोगले वैद्य माओवादीलाई कति फाइदा? वैद्यको विश्लेषणमा कम मत आउनुका ५ कारण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.