|

काठमाडौँः नेपाली लेखक सङ्घका अध्यक्ष प्राज्ञ श्रवण मुकारुङ तथा महासचिव रत्नमणि नेपाल बुधबार दक्षिण कोरियातर्फ प्रस्थान गरेका छन्। 

त्यहाँको साहित्यिक तथा सांस्कृतिक संस्था युरेसिया कल्चरल फोरमको सद्भावपूर्ण निमन्त्रणामा जुलाई १५ देखि १७ सम्म सोलमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक सम्मेलन’मा सहभागी हुन अध्यक्ष मुकारुङ र महासचिव नेपाल त्यसतर्फ गएका हुन्।

नेपाल तथा कोरियाका अतिरिक्त मलेसिया, युक्रेन, इन्डोनेसिया र उज्वेकिस्तानका साहित्यकारहरूको सहभागिता रहने उक्त सम्मेलनमा नेपालका तर्फबाट अध्यक्ष मुकारुङले ‘समकालीन नेपाली साहित्य’सम्बन्धी र महासचिव नेपालले ‘पूर्वीय परम्परामा अङ्कको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै आआफ्ना कविता सुनाउने कार्यक्रम रहेको नेपाली लेखक सङ्घले जनाएको छ। 

सो अवसरमा नेपाली–कोरियाली कविताहरूको सङ्ग्रहको लोकार्पणसमेत गरिने महासचिव नेपालले जानकारी दिए।

लेखक सङ्घ र फोरमबीच भएको सम्झौताबमोजिम  यसअघि फेब्रुअरीमा काठमाडौँमा ‘नेपाल–कोरिया बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलन’ आयोजना भएको थियो। अर्को बृहत् कार्यक्रम पुनः छ महिनाभित्र सोलमा आयोजना हुने फोरमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.