२० महिनाअघि बारपाकलाई केन्द्रबिन्दु बनाएर विनाशकारी महाभूकम्प गएपछि उनको काम बढेको छ

|

गोरखा : ‘ए गाउँले हो, आज गाउँमा ....कार्यक्रम हुँदैछ । सबै जना भनेको समयमा जानुहोला । जसरी पनि जानुपर्छ है गाउँले हो’ बारपाक गाविसको टोल–टोलमा यिनै कुराहरु फलाकेर कराउँछन् बारपाक ८ का बुधबहादुर गुरुङ्ग। उनलाई गाउँले 'जिम्बल' भनेर बोलाउँछन्।

गाउँमा कुनै सभा सम्मेलन भयो भने, गाउँमा कसैलाई आपत विपत परेर सहयोग आवश्यकता पर्‍यो भने गाउँलेलाई यसैगरी खबर गर्ने उनको काम हो। गाउँलेले उनलाई धान पैसा दिएर कटुवाल राखेका हुन्। करिब २० महिनाअघि बारपाकलाई केन्द्रबिन्दु बनाएर विनाशकारी महाभूकम्प गएपछि उनको काम बढेको छ। अनि आम्दानी पनि।

उनी गाउँमा कार्यक्रम भएको दिन बिहान पाँच बजेदेखि कराउँदै हिँड्छन्।  गाउँका सबै ठाउँमा कटुवाल कराई सक्न दुई घण्टा समय लाग्छ। ‘भूकम्पपछि धेरै कार्यक्रमहरु हुन्छन् । गाउँलेलाई जम्मा हुन दिन दिनै जसो कराउनुपर्छ,’ गाउँमा कराउँदै हिँड्ने क्रममा भेट भएका गुरुङले भने ‘सबै गाउँलेले एक घरबाट वर्ष दिनमा एक पाथी धान दिन्छन्। अनि यसरी कराएबापत गाविसले एक दिन कराएको एक सय रुपैयाँ पनि दिन्छ।’

बारपाकमा  अधिकांश कार्यक्रम हिमालय माविको प्रांगणमा हुने गरेको छ। त्यस्ता कार्यक्रमको सूचना उनले नै गाउँलेलाई दिन्छन्। उमेरले ६४ टेकेका उनको अगाडीको दुई वटा दाँत झरिसकेका छन्। गालामा चाउरी परिसकेको छ। तर, पनि गाउँमा कटुवाल भएर कराउने बेलामा तन्नेरी जोश निकालेर कराउने गरेको उनले बताए।

‘गाउँ रेडियो, टिभी, मोबाइल जेजे भएपनि गाउँलेको भरपर्दाे सूचनाको माध्यम भनेको यिनै जिम्बल हुन्’ बारपाकका जीत घलेले भने,‘उनलाई भनेपछि गाउँका कसैले थाहा पाईन भन्न पनि पाउँदैन। भर पक्का छ।’

उनै गुरुङ (जिम्बल) ले टोलटोलमा फलाँक्दै हिँडेको कुरा गाउँलेले पनि ध्यान दिएर सुन्छन्। अनि त्यै सुनेको भरमा कार्यक्रममा भेला हुन्छन्। उनले बारपाकीलाई पञ्चायतकालदेखि नै सूचना सम्प्रेषण गराउँदै आएका हुन्। उनले बारपाक वडा नं. ४ देखि वडा नं. ९ सम्म रहेको ठुलो गाउँमा कटुवालको काम गर्छन्।

अन्य वडामा भने प्रविधिकै प्रयोग वा वडा संयोजकको माध्यमबाट खबर आदान–प्रदान गरिन्छ। बारपाकको वडा नं. ४ देखि वडा नं. ९ सम्म १२ सय भन्दा धेरै घर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.