इलाममा साक्षरता ९७.६ प्रतिशत २०७१/७२ मै पुगेको भएपनि  प्राविधिक समस्याका कारण ढिलो मात्र घोषणा

|

इलाम : सरकारले तोकेका सूचक पूरा गरेसँगै इलामलाई ‘साक्षर जिल्ला’ घोषणा गरिएको छ। नेपालको जनगणना–२०६८ अनुसार २ लाख ९० हजार २ सय ५४ जनसंख्या रहेको इलाममा ९७.६ प्रतिशत जनसंख्या साक्षर भएको पाइएपछि ‘साक्षर जिल्ला’ घोषणा गरिएको हो।

मुलुकका ७५ जिल्लामध्ये इलाम ३७ औं साक्षर जिल्ला बनेको जिल्ला शिक्षा अधिकारी टंक गौतमले बताए। सरकारले सन् २०१५ भित्र सबै नागरिकलाई साक्षर बनाएर सबै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने योजना बनाएको भएपनि अझै ३८ जिल्ला साक्षर बन्न सकेका छैनन्। 

आर्थिक वर्ष २०६८÷०६९ मा राष्ट्रिय साक्षर अभियान सुरु हुँदा इलाममा ८३.७ प्रतिशत जनसंख्या साक्षर थिए। २०६९-७० मा साक्षरता ९३.७ प्रतिशत थियो। २०७०-७१ मा ९४.७ प्रतिशत साक्षर रहेको इलाममा साक्षरता ९७.६ प्रतिशत २०७१/७२ मै पुगेको भएपनि  प्राविधिक समस्याका कारण ढिलो मात्र घोषणा गर्नुपरेको जिशिअ गौतमले बताए।

राष्ट्रिय साक्षरता अभियान सुरु हुँदा इलामका ४० हजार ५ सय २३ जना निरक्षरहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको थियो। जिल्लाका साबिकका २५ गाविसमा सामुदायिक अध्ययन केन्द्र स्थापना गरेर निरक्षर दर घटाइएको गौतमले बताए।

९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्न सक्ने प्रावधान रहेको छ। अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक चुडामणी पौडेलले जिल्ला शिक्षा समितिका अध्यक्ष एवम स्थानिय विकास अधिकारी ध्रुवबहादुर खड्कालाई साक्षरताको प्रमाणपत्र प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.