|

चितवनः चितवनको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी भर्ना छनोटका क्रममा बहिनीको नाममा दिदीले परीक्षा दिएको पाइएको छ।

बारा मनहरवा घर भएका गंगा र जमुना चौधरीले यसरी फर्जी काम गरेको पाइएको हो। उनीहरू जुम्ल्याहा दिदी–बहिनी हुन्।

जुनियर प्रहरी अधिकृत शिक्षालय चितवनका समादेशक तथा प्रहरी नायव महानिरीक्षक रणबहादुर चन्दले छनोटका क्रममा बहिनीको नाममा दिदीले परीक्षा दिएको पाइएको बताए। उनीहरूलाई लोकसेवाको नियमअनुसार कारवाही हुने जानकारी पनि उनले दिए।

प्रहरी जवानमा भर्ना खुलेपछि शिक्षालयमा यही असार २६ गतेदेखि छनोटको क्रम सुरु भएको थियो।

गंगाले जमुनाको नाममा दौडलगायत पहिलो चरणका सबै प्रक्रिया पूरा गरेकी थिइन्। दोस्रो चरणमा स्वास्थ्य परीक्षणका लागि असार २७ गते बुधबार उनीहरूलाई विद्युतीय हाजिरी लिने क्रममा औँठा छाप नमिलेपछि बहिनीको नाममा दिदीले परीक्षा दिएको खुलेको हो।

उनीहरूलाई पक्राउ गरी तत्कालै जिल्ला प्रहरी कर्यालय चितवनमा बुझाइएको चन्दले जानकारी दिए। ‘यस्तै घटना रोक्न यहाँ पहिलो पटक विद्युतीय हाजिरी राखिएको थियो’, उनले भने, ‘जे आशंका थियो, त्यही भयो।’

छनोट समितिले कारवाही गर्ने भएपछि उनीहरूलाई एक दिन हिरासतमा राखेर आज छाडिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। गंगाले भने बहिनीको महिनावारी भएकाले आफूले परीक्षा दिएको बताएको प्रहरीले जनाएको छ। 

साउन ६ गतेसम्म चल्ने छनोटका लागि तीन हजार ३०६ जनाले दरखास्त दिएका जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.