|

विराटनगरः विराटनगर माहानगरपालिकाको कार्यपालिका गठनका लागि माओवादी र कांग्रेसले संयुक्त मनोनयन दर्ता गराएका छन्। 

२९ सदस्यीय कार्यपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष स्वतः रहन्छन् भने नगरसभाले अन्य आठ जना निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ। 

यसअघि निर्वाचित भइसकेका मध्येबाट पाँच जना महिला र नगरभित्रका मतदातामध्येबाट तीन जना दलित वा अल्पसंख्यक सदस्य कार्यपालिकामा निर्वाचित हुनेछन्। 

सोहीअनुसार बिहीबार विराटनगर महानगरपालिकाको कार्यपालिकाका लागि कांग्रेस–माओवादी गठबन्धनले संयुक्त, संघीय समाजवादी फोरम र एमालेको छुट्टाछुट्टै मनोनयन दर्ता भएको छ।

कांग्रेस र माओवादीबाट निर्वाचित भएकामध्येबाट विराटनगर– ५ की बिना मण्डल, विराटनगर– ७ की शिला श्रेष्ठ, विराटनगर– १६ बाट कमला सुब्बा, विराटनगर– १० बाट सुशीला ओझा पोखरेल र विराटनगर– ६ बाट चम्पा खत्री रहेका छन्। उनीहरूमध्ये खत्री माओवादीबाट उम्मेदवार बनेकी हुन्। 

यस्तै, दलित तथा अल्पसंख्यकका तर्फबाट विराटनगर– १२ का गायत्रीकुमार दास, विराटनगर– १ का राजेश भुजेल र विराटनगर– ७ का अरुण खेतान रहेका छन्।
यता, नेकपा एमालेले भने निर्वाचिततर्फबाट विराटनगर– ११ की इन्दिरा गिरी र विराटनगर– ४ की सम्झादेवी सरदार तथा दलित तथा अल्पसंख्यकबाट विराटनगर– १२ का दीपककुमार कर्णको मात्रै मनोनयन दर्ता गराएको छ।

संघीय समाजवादी फोरम नेपालले भने निर्वाचिततर्फबाट विराटनगर– १३ की बिमलादेवी पोद्दार, विराटनगर– १५ की सरितादेवी साह, ललिता पासवान, विराटनगर– १७ की शान्तिदेवी बैठा र विराटनगर– १८ की शैली यादव एवं दलित तथा अल्पसंख्यकबाट विराटनगर– १३ का प्रकाश चौधरी, विराटनगर– १२ का जितेन्द्र ऋषिदेव र विराटनगर– ८ की रेखारानी सिंहको मनोनयन दर्ता गराएको छ।

विराटनगरका ९७ जना प्रतिनिधिमध्ये कांग्रेसले ४५, संघीय समाजवादी फोरम नेपालले २७, एमालेले १४, माओवादी केन्द्रले पाँच र स्वतन्त्रले छवटामा जीत हात पारेका छन्। 

कार्यपालिका निर्माणका लागि आवश्यक बहुमत पुर्‍याउन ४९ जना आवश्यक पर्ने भए पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले ५० मतका साथ बहुमत पुर्‍याएको छ भने एमालेको १४ र संघीय समाजवादीको २७ मत रहेको छ। स्वतन्त्र छ मत कता जान्छ भन्ने अझै प्रष्ट भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.