|

उदयपुर : जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडले गएको आर्थिक वर्षमा एक अर्ब ५० करोडभन्दा माथिको कारोबार गरेको छ। गएको आर्थिक वर्ष २०७३-०७४ को असार मसान्तसम्म आइपुग्दा १ अर्ब ७२ करोड ८४ लाख ९६ हजार २ सय ५८ रुपँयाको कारोबार गरेको उद्योगका सुचना अधिकारी नवल किशोर साहले जानकारी दिए। 

साहका अनुसार गएको आव सुरु भएको साउन १ गतेदेखि असार २९ गतेसम्म आइपुग्दा उद्योगले १९ लाख ९६ हजार ६ सय ३७ बोरा सिमेन्ट बजारमा पठाएको छ। ‘यस चालु आर्थिक वर्ष सकिनै लाग्दा पुग्दा १९ लाख ९६ हजार ६ सय ३७ बोरा सिमेन्ट प्रति बोरा ८ सय ३४ कार दरले बिक्री गरेका हौं,’ सुचना अधिकारी साहले भने, ‘अन्त शुल्क, भ्याट र करसहितको मूल्यमा बिक्री गरेका हौं।’

विद्युत कटौती घट्न थालेपछि उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा वृद्धि भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले बताए। ‘जब कुलमानजीले नेपालमा लोडसेडिङ हटाउँदै लानुभयो। तब विगतका आर्थिक वर्षभन्दा करोबार दोब्बर भयो,’ उनले भने। उदयपुरमा अहिले पनि  दैनिक ५ घण्टा विद्युत कटौती हुने गरेको छ। 

उद्योगमा एक घण्टा विद्युत कटौती हुँदा ४ लाख घाटा हुने गरेको महाप्रबन्धक पौडेलले बताए। दैनिक ८ सय टन उत्पादन क्षमता रहेको उद्योगले अहिले प्रतिदिन ६ सयदेखि ७ सय टन अर्थात् १२ हजारदेखि १४ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आइरहेको छ।

‘एक घण्टा बत्ति कटौती हुँदा चार लाख बराबरको घाटा हुन्छ,’ महाप्रबन्धक पौडेलले भने, ‘वैशाख जेठ महिनामा मात्र ८० पटकभन्दा बढी बत्ती जाँदा करोडौंको क्षति भएको छ।’ 

उनका अनुसार उद्योगको उत्पादन क्षमता दैनिक ८ सय टन भएपनि अहिले बढीमा ७ सयदेखि थोरैमा ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन भइरहेको छ। 

कुन महिनामा कति बोरा सिमेन्ट बिक्री ?

उदयपुर सिमेन्ट उद्योगको बिक्री शाखाका अनुसार अन्त शुल्क, कर, भ्याट सहित जोड्दा प्रतिबोरा ८ सय ३४ रुपैयाँका दर सिमेन्ट बिक्री हुन्छ। ०७३-०७४ आर्थिक वर्ष सुरु भएको साउन महिनामा १० लाख ४ हजार ५ सय ७५ बोरा सिमेन्ट बिक्री भएको छ। भदौमा ५२ हजार ५४० बोरा, असोजमा ९२ हजार २ सय ३५ बोरा, कात्तिकमा १ लाख ३४ हजार ६ सय २७, मंसिरमा १ लाख ५६ हजार ९ सय ८० बोरा, पुसमा १ लाख ०९ हजार ७ सय ४, बोरा, माघमा १ लाख १९ हजार ८ सय १३ बोर, फागुनमा १ लाख ६६ हजार ९ सय ९९बोरा, चैतमा ३ लाख १२ हजार ७ सय ६९ बोरा बिक्री गरेको छ।

त्यस्तै ०७४ साल वैशाखमा २ लाख २० हजार ५ सय ६०, जेठमा ३ लाख २२ हजार ६ सय ५५ र असार २९ गतेसम्म १ लाख ५९ हजार १ सय ८० बोरा सिमेन्ट बिक्री भएको जानकारी उद्योगले दिएको छ। एक बोरामा ५० किलोग्राम हुने गरेको छ।

यसरी उत्पादन बढ्यो

उद्योगका नायब महाप्रबन्धक महेश काफ्‍लेका अनुसार ग्याँस कन्डिसन पावर (जिसिपी) मर्मत गरिएको छ। उनका अनुसार उद्योगका पुराना समानहरु पूर्ण रुपमा मर्मत र चेन्ज गरिएको छ। ‘नयाँ मेसिन थपिन थालेपछि हामी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सबल हुने आशा पलाएको छ,’ नायब महाप्रबन्धक काप्mलेले भने,‘विभिन्न कारणले रुग्ण बनेको यो उद्योगलाई नाफामा सञ्चालन गर्न सफल भएका छौ।’ 

पछिल्लो समय दैनिक ७० लाख देखि १ करोडको सिमेन्ट बिक्री भइरहेको उद्योगको बिक्री शाखाले जानकारी दिएको छ। वार्षिक लक्ष्य एक लाख ५ हजार मेट्रिक टन लिएपनि बुधबारसम्म एक लाख ३ हजार मेट्रिक टन उत्पादन भएको उद्योगले जानकारी दिएको छ। विगतमा प्रत्येक दिन उत्पादन सुरु गरेपछि मेसिन भाँचिने, टुट्ने समस्या अहिले हटेको छ।

टुट्ने मेसिनको तत्काल मर्मत हुने र नयाँ जडानको लागि प्राविधिक राखिएको नायब महाप्रबन्धक काफ्‍‍ले बताए।  उदयपुर सिमेन्ट उद्योग स्थापना भएको १७ वर्षपछि मात्र सिमेन्ट उत्पादनमा निरन्तर सुधार गर्न थालेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.