|

बाँके : वर्षा लागेसँगै बाँकेमा बाढीको संभावित क्षतिबाट बच्नका लागि पूर्व तयारी थालिएको छ। प्रत्येक वर्ष वर्षायाममा बाँकेमा बाढीको प्रकोपले ठूलो धनजनको क्षति हुँदै आएकाले पूर्व तयारी थालिएको हो। 

जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्ला विपद् प्रतिकार्य योजना तयार गरेर कार्यान्वयनमा ल्याएको छ। खोज तथा उद्धार, राहत वितरण, खाद्यन्न, स्वास्थ्य उपचार, बालबालिका तथा महिलाको संरक्षणका लागि संरक्षण, सरसफाई, आश्रय लगायत १० वटा विषयगत क्षेत्र निर्धारण गरी पूर्व तयारी गरेको समितिले जानकारी दिएको छ। 

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ समितिको संयोजक छन्। बाढी आएको बेला राप्ती नदीपारी तत्कालै केहि लैजान नसकिने भएकोले २ लाख रुपैयाँ बराबरको ड्राई फुड (चाउचाउ, बिस्कुट, चिउरा, भुजा, नमकिन) भण्डारण गरिएको पन्थले बताए । ‘बाढी पीडितका लागि रेडक्रसको भवनमा असारको पहिलो सातामै ड्राई फुड भण्डारण गरिएको छ,’ उनले भने। 

बाढी पीडितलाई राहत प्रदान गर्न जिल्ला प्रशासन कार्यालयमा राहत रकम जम्मा गरिएको  उनले बताए।  उनले उद्धार र विपद ब्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखेको जानकारी दिए।

राप्ती नदीमा आएको बाढीबाट कम क्षति हुन नदिन पूर्व सूचनालाई पनि प्रभावकारी बनाइएको उनले जानकारी दिए। राप्ती नदीको बहावको अवस्था देश– विदेशबाट समेत हेर्न सकिने व्यवस्था मिलाइएको उनले बताए। 

पूर्व तयारी स्वरुप रबर बोट प्रयोगात्मक अभ्यास

पूर्व तयारी स्वरुप खोज तथा उद्धारका लागि नेपालगन्जमा रबर बोटको प्रयोगात्मक अभ्यास गरिएको छ। बागेश्वरी मन्दिर परिसरको पोखरीमा प्रयोगात्मक अभ्यास गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक रविलाल पन्थले जानकारी दिए। 

यसअघि नेपाली सेना र सशस्त्र प्रहरीसँग रबर बोट भएपनि जिल्ला दैवी प्रकोप उद्धार समितिसँग यस्तो डुङ्गा थिएन।  ९ लाख ६१ हजार ६५ रुपैयाँ परेको डुङ्गा नेपाल रेडक्रस सोसाईटीले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई प्रदान गरेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.