|

बैतडी : करिब डेढ साता लामो वर्षासँगैको हावाहुरीले बैतडीका विभिन्न स्थानको मकैबालीमा क्षति पुर्‍याएको छ। वर्षासँगैको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिकाका विभिन्न स्थानका मकैबालीमा क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन्। 

सुर्नया गाउँपालिका–७ पत्थरकोट, वडा नं ६ धुलिधार लगायतका क्षेत्रका मकैबालीमा क्षति पुगेको किसानहरूले बताएका छन्। पत्थरकोटमा करिब ३० परिवारको घोगा लाग्दै गरेको मकैबाली नष्ट भएकोे स्थानीय अमर कुँवरले बताए। ‘तीव्र हावाहुरीका कारण मकै ढलेर सखाप भएको छ,’ उनले भने, ‘एक महिनापछि पाक्ने मकै सबै ढलेर बारीमै नष्ट भएको छ।’

यस्तै सुर्नया गाउँपालिका–८ मा ४० परिवारले लगाएको मकैबाली हावाहुरीले नष्ट पारेको स्थानीय महेश साउदले बताए। यसै गाउँपालिकाको वडा नम्बर ६ शंकरपुरमा २५ परिवारले झण्डै ३० हेक्टर बारीमा लगाएको मकै बाली नष्ट भएको स्थानीय सुरेश अवस्थीले गुनासो गरे । ‘मकैका अग्ला बोटभएका कारण हावाहुरीले ठूलो नोक्सानी पुर्‍याएको हो’, उनले भने । 

केही दिनअघि पनि वर्षाले पुरचौंडी नगरपालिकाका विभिन्न स्थानको मकैबाली नष्ट गरेको स्थानीय लालबहादुर भण्डारीले बताए । 

साढे १४ हजार हेक्टर जमीनमा मकै खेती 
जिल्ला कृषि विकास कार्यालय बैतडीका अनुसार बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकैखेती गरिन्छ। मकै जिल्लाको मुख्य खाद्यबाली भए पनि विभिन्न कारणले पछिल्लो समयमा उत्पादन घट्दै गएको कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए। ‘हावाहुरीले ढाल्ने, वन्यजन्तु आएर खाइदिने लगायतका कारणले मकै उत्पादनमा ह्रास आएको छ’, उनले भने । 

क्षतिपूर्ति पाउँदैनन् किसानले 
उत्पादनमा ह्रास आउने भए पनि किसानहरुले भने क्षतिपूर्ति पाउने अवस्था रहेको छैन। जिल्लामा कुनै पनि किसानले बालीबीमा नगरेकाले क्षतिपूर्ति दिन नसकिने सूचना अधिकृत चन्दले बताए । ‘हामीले पटकपटक बालीविमा गर्न आग्रह गर्दा पनि कोही आएनन्,’ चन्दले भने, ‘कसैले पनि विमा नगराएका कारण क्षतिपूर्ति पाउने अवस्था छैन।’ 

प्राकृतिक क्षय र जंगली जनावरका कारण बाली नोक्सानी भए नाममात्रको राहत दिने व्यवस्था भए पनि प्रक्रिया झण्झटिलो भएका कारण किसानहरू त्ससतर्फ आकर्षित छैनन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अब पाेलेर खाए भई हाल्याे नि !