|

लामो समयदेखि जेलमा रहेका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ।

लिउ कलेजोको क्यान्सरबाट पीडित थिए। क्यान्सरका कारण मृत्युको मुखमा पुगेका उनलाई केहीदिन अगाडी मात्रै अस्पताल भर्ना गरिएको थियो। राष्ट्रिय र अन्तराष्ट्रिय दबाबपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेभसाइट मार्फत् सार्वजनिक गरेको छ। उनलाई तीनदिनदेखि गहन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।

लिउको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो। उनको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेको भन्दै अस्पतालले उनको परिवारसँग अनुमति मागेको थियो जुन परिवारले अश्वीकार गरेको थियो।

चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नुपर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने अभियान चलाएको भन्दै सरकारले सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरेको थियो। त्यसपछि सन् २००९ मा उनलाई ११ बर्षे जेल सजायको सुनाएको थियो। निधनका बेलासम्म उनी जेल सजाय भोगिरहेका थिए।

लिउले जेलमै रहेका बेला सन् २०१० मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

कलेजोको क्यान्सरका कारण लिउको जेलमै मृत्यु हुने सम्भावना देखेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। लिउको उपचारका बारेमा चासो दिँदै जर्मनी सरकारका प्रवक्ता स्टेफेन सेइबेर्टले उनको सम्पूर्ण उपचार जिम्मा लिन जर्मनी तयार रहेको बताएका थिए। अन्तर्राष्ट्रिय आग्रहका बारेमा केही नबताएको चीनले भने सम्भव भएसम्मका स्वदेशी उच्च चिकित्सकहरुको संलग्नतामा उनको उपचार गरिएको दावी गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङगले बुधबार चीनको न्यायिक सार्वभौमसत्ता अन्य देशले सम्मान गर्नुपर्ने भन्दै कुनै पनि व्यक्ति विशेषको स्वास्थ्यको विषयलाई लिएर कुनै पनि टीकाटिप्पणी गर्नु आन्तरिक मामिलामा हस्तक्षेप गर्नु सरह हुने बताएका थिए।

गत हप्ता एक जना जर्मन र एक जना अमेरिकी चिकित्सकले लिउलाई भेटेपछि विदेशका सुविधा सम्पन्न अस्पतालमा लगेर उनको उपचार गर्न सकिने बताएका थिए। त्यसलगत्तै उनलाई उपचार गरिरहेको अस्पतालले लिउको शारीरिक अवस्था दिन प्रतिदिन कमजोर भइरहेको प्रतिवेदन प्रकाशन गर्दै आइरहेको थियो। उनलाई भेट्न पनि सिमित व्यक्तिहरुलाई मात्र दिइएको थियो।

ताईवानका राष्ट्रपति चाई इङ–वेनले पनि लिउलाई काराबासमुक्त गर्न र उनले इच्छा गरे अनुसारको स्वतन्त्रतापूर्वक उपचार गराउने हकबाट वन्चित नगर्न बेइजिङगसँग ट्विटरमार्फत आग्रह गरेका थिए। साथै लिउले ताईवानमा उपचार गराउने इच्छा गरेमा त्यसका लागि आफू तयार रहेको उल्लेख गरेका थिए।

लिउको उपचारलाई लिएर अमेरिकाले पनि चासो देखाएको थियो। उसले मंगलबार मात्रै अमेरीकामा लिउलाई उपचारका लागि स्वागत गर्न तयार रहेको बताएको थियो।

लिउको जन्म २८ डिसेम्बर १९५५ मा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.