लाइसेन्स भएकालाई १४ हजार विनालाइसेन्सका लाई ६ हजार तलब

|

गोरखा : भूकम्पको केन्द्रविन्दु गोरखामा पुनर्निर्माणको काम सुरु भइरहेको छ। पुनर्निर्माणका लागि यतिबेला गोरखामा निर्माण सामग्री गाउँ–गाउँसम्म ओसारपसारको काम भइरहेको छ। निर्माण सामाग्री ओसारपोसार अधिकांश जिल्लाको ग्रामीण भेगमा ट्रयाक्टरबाट गरिन्छ।

 यिनै ट्रयाक्टरका चालकहरुबाट गाउँले तथा अन्य सवारी चालकहरु नै त्रासमा बस्ने गरेका छन्। गाउँका कच्ची रुटमा ट्रयाक्टर चलाउने अधिकांश ड्राइभरहरुको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै छैन।

‘धेरैजसो ट्रयाक्टर चलाउने ड्राइभरहरु लाइसेन्स नै नभएका छन्’ गोरखा–भालुस्वाँरा–बारपाक सडक खण्डमा जिप चलाउने चालक सन्तोष धितालले भने, ‘हामी लाइसेन्स भएकाहरु नै सजक भएर चलाउनुपर्छ कहिलेकाहीँ त सिधै हाम्रै गाडीमा हान्न ल्याएको जसरी ल्याउँछन्।’

ट्रयाक्टरका साहुहरुले ट्रयाक्टर ड्राइभरसँग लाइसेन्स छ छैन भन्ने कुरालाई महत्व दिँदैनन्। साहुहरुले जसले ट्रयाक्टर चलाउन सक्छ तर ऊसँग लाइसेन्स छैन उसलाई मासिक ६ हजार रुपैयाँ तलब र अन्य केही खर्च मात्र दिए पुग्ने भएकोले विनालाइसेन्सका ड्राइभरहरु साहुका रोजाइमा समेत पर्ने गरेको चालक धितालले बताए।

गोरखाका लाइसेन्स भएका ट्रयाक्टरहरुले भने १४ हजारभन्दा धेरै तलब र त्यसमा कामको टिप्स लिने गर्छन्। गोरखाको आरुघाट, भच्चेक, बालुवा, बारपाक, बोर्लाङ, लगायतका सडक खण्डमा विनालाइसेन्सका ट्रयाक्टर चालकको आतंक नै रहेको स्थानीयले बताउने गरेका छन्। भच्चेक, बारपाक क्षेत्रमा विनालाइसेन्स ट्रयाक्टर चलाउने चालकहरु धेरै रहेको सार्वजनिक सवारी चालकहरु बताउँछन्।

त्यस क्षेत्रमा ट्रयाक्टर चलाउनेहरु १२ किलोसम्म पनि आउँदैनन् आइहाल्न पर्‍यो भने लाइसेन्सवालाले ल्याउने गरेका छन्। १२ किलो प्रहरी चौकीभन्दा उता ट्राफिक तथा प्रहरीको सक्रियता शून्य भएकोले उनीहरु त्यस क्षेत्रमा भने ढुक्कसँग ट्रयाक्टर चलाउने गर्छन्। पछिल्लो समय गोरखाका ग्रामीण सडकहरुमा ट्रयाक्टर दुर्घटनाहरु समेत बढ्ने गरेको छ।

‘जिल्लामा ट्राफिक प्रहरीको संख्या कम छ’ जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख भोजबहादुर थापाले भने ‘हामीले ग्रामीण क्षेत्रमा रहेका प्रहरी चौकी, पोस्टहरुमा पनि चेकजाँचका लागि भनेका छौं। अब त्यस क्षेत्रमा ट्राफिक आफैंले पनि विस्तारै सक्रियता देखाउने छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.