कांग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेट गरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिए

|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले तदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ। नेपाली कांग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेट गरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन। 

आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए। निर्वाचन आयोगले आगामी साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने योजना बनाएको छ।

तर, राजनीतिक दलहरुले भने जिल्ला सदरमुकामबाटै मतदाता नामावली संकलन गर्दा आम मतदाताले हैरानी व्यहोर्नुपर्ने अवस्था रहेकोतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

कांग्रेसले साउन महिनाभर मतदाता नामावली संकलन गर्न पनि आग्रह गरेको छ। खेतीपातीको यो बेला १५ दिन भित्रमा मतदाता नामावली संकलनको काम नसकिने भएकाले यसको मिति पनि १५ दिन थप्न आग्रह गरिएको कांग्रेस नेता खाडँले बताए। 

निर्वाचन आयोगले भने साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन र १६ गतेदेखि २० गतेसम्म त्यसको अध्यावधिक गर्ने कार्य तालिकानै सार्वजनिक गरेको छ। मंसीर पहिलो हप्ताभित्र प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन समेत सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली संकलनको कामलाई छिटो सक्ने योजना बनाइएको निर्वाचन आयोगले स्पष्ट पारेको छ। 

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काम पनि आगामी साउन १५ गते भित्र गरिसक्न सरकारलाई आग्रह गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.