थाहा संवाद

प्रेम छ भने यौन सम्बन्ध छ कि छैन भनेर प्रश्न सोध्नु नै वाहियात होः आहुति
SHARES

असार ३०, २०७४

    धेरैले प्रेमको विषयमा आआफ्नै परिभाषा दिइरहेका हुन्छन्। तपाईंलाई चाहिँ प्रेम भनेको के हो भन्ने लाग्छ? 

    जीवकै जीवनमा र मानिसको जीवनमा एउटा महत्त्वपूर्ण पक्ष हो– यौन र सन्तान उत्पादन। किनकि सन्तान उत्पादन नभईकन समाज नियमित रूपमा चल्दैन। त्यसको निम्ति उसलाई विपरीत लिङ्गीहरूबीचको यौनको आवश्यकता पर्दछ। त्यो यौन जीवनलाई व्यवस्थित बनाउनका निम्ति मानिसले विभिन्न अवधारणाहरू, व्यवहारहरू निर्माण गरेका छन्। त्योचाहिँ समाजको स्थिति जस्तो हुन्छ, त्यहीअनुसार निर्मित हुन पुगेको हुन्छ। त्यसकारण हरेक युगको प्रेमको परिभाषा फरक फरक हुन्छ। 

    जुन बेलामा परिवार, निजी सम्पत्ति वा राज्य जस्ता चिजहरू थिएनन्, जसलाई आदिम समाज वा आदिम साम्यवादी समाज वा विभिन्न नामले लिइन्छ, त्यस बेलामा निजी सम्पत्ति भन्ने थिएन। त्यतिबेला विपरीत लिङ्गीहरूबीचको सम्बन्ध भनेको स्वतन्त्रतामा आधारित हुन्थ्यो, आफ्नो इच्छामा आधारित हुन्थ्यो र त्यो स्थायी प्रकृतिको हुँदैनथ्यो। बच्चाहरू जन्मिन्थे र त्यो सिङ्गै कुलको बच्चा हुर्काउने जिम्मा हुनपुग्थ्यो।

    कसैको व्यक्तिगत बच्चा भन्ने हुँदैनथ्यो। त्यहाँ बाबुहरू प्रष्ट नचिनिने र आमाहरू मात्रै चिनिने भएको हुनाले आमाको नामबाट नै बच्चाहरू हुर्किन्थे। उनीहरूको गोत्र प्रणाली आमाको नामबाट चल्थ्यो। त्यो बेलाको एउटा सम्बन्ध थियो। यौन सम्बन्धमा आधारित एउटा जीवन थियो। त्यतिबेला के भनिन्थ्यो होला एकले अर्काप्रति गरिने यौनमा आधारित मायालाई? 

    यौन सम्बन्धलाई व्यवस्थित गर्ने पुरुष र महिलाबीचको भावनात्मक सम्बन्धका युगपिच्छे फरक फरक आयामहरू छन्। फरक फरक नामहरू छन्। कैयौँ भाषामा शब्दहरू फरक फरक हुन्छन्। तर कैयौँ भाषामा एउटै शब्दले काम चलाउनुपर्ने हुन्छ। त्यसले गर्दा त्यतिबेला माया भनिन्थ्यो। मायाचाहिँ आम रूपमा प्रचलित कुरा हो। छोराछोरीलाई गर्ने पनि माया, लोग्ने–स्वास्नीको बीचमा हुने पनि माया। 

    प्रेममा मुलतः दुईवटा कुरा आधारभूत हुन्छन्। एउटा, यौन जीवनलाई व्यवस्थित गर्न साथी छनोटको अधिकारसँग सम्बन्धित छ यो। दोस्रो, यो समानतातिर अगाडि बढ्छ। किनकि प्रेमभन्दा अगाडिका जति पनि सम्बन्धहरू छन्, केटाकेटीबीचका, ती असमानतामा आधारित छन्। त्यसले समानताको माग गर्दैन।

    मनपरे पनि, मन नपरे पनि जुराएपछि सँगै बस्नुपर्‍यो। त्यहाँ छनोटको स्वतन्त्रता छैन। आफ्नो निर्णयको स्वतन्त्रता छैन। तर प्रेमको अवधारणा आइसकेपछि दुईवटा आधार छन् यसका। एउटा साथी छनोटको अधिकारसँग सम्बन्धित छ प्रेम भन्ने अवधारणा। दोस्रो, यो पुरुष र महिलाहरूको समानतातिर अगाडि बढ्नेसँग सम्बन्धित छ। जब अर्कोले असमान अनुभूति गर्छ, आफूलाई उत्पीडित अनुभूति गर्छ भने उसले छुट्टिन सक्छ। त्यसकारण महिला र पुरुषबीचका यस्ता सम्बन्धहरूको युगपिच्छे अवधारणाहरू, यसका जीवन व्यवहारहरू फरक छन्। 

    प्रेमको भन्नुस् वा आकर्षणको भन्नुस्, विपरीत लिङ्गीहरूबीचको केन्द्रीय तत्त्व यौन नै हो। खुलाखुला भन्नुपर्‍यो नि आजको समाजमा। त्यो केन्द्रीय तत्त्व प्राप्त गर्नका निम्ति मानिसले आफ्नो हृदयदेखिको भावनादेखि लिएर सबै कुरा मिल्नुपर्ने हुन्छ। त्यो मिल्छ भने त्यो प्रेम भयो।

    तपाईंले प्रेममा रोज्ने स्वतन्त्रता हुन्छ, त्यो भनेको छोड्ने स्वतन्त्रता पनि हो भन्नुभयो। यहाँ प्रेम सम्बन्ध तोडेर जानेहरूलाई चाहिँ धोका दियो, घात गर्‍यो भनेर आरोप प्रत्यारोप गर्ने गरिन्छ। यस्तो आरोप लगाउन मिल्ने कि नमिल्ने? 

    त्योचाहिँ व्यक्तिहरूबीचको आपसी करार वा समझदारीमा भर पर्छ। त्यो अरूले भन्ने कुरा होइन। जस्तो कि उनीहरू प्रेम सम्बन्धमा हुँदा एकले अर्काप्रति कस्तो प्रतिक्रिया जनाएका थिए? एकअर्काप्रति उनीहरूले गरेको प्रतिबद्धता तोड्ने काम भयो भने एकले अर्कोलाई धोकेबाज भन्न सक्ने भयो। तर उनीहरूले कस्तो प्रतिवद्धता गरेका थिए भन्नेमा भर पर्छ। समाजले फलानोले फलानोलाई धोका दियो भनेर भन्न सक्दैन। किन सक्दैन भने समाजसँग उसले प्रतिवद्धता कायम गरेको होइन। 

    जब कोही मान्छे प्रेम सम्बन्धमा गाँसिन्छन् भने उनीहरूले सधैँ बुझ्न सक्नुपर्दछ कि यो मागी विवाह जस्तो सात जन्मको खेल होइन। हिन्दूहरूको मागी विवाहमा जस्तो मारे पाप पाले पुण्यवाला प्रेम होइन त्यो। त्यो त एकअर्काप्रति दासत्व हो। विशेष त महिलाको पुरुषप्रतिको दासत्व हो। मारे पाप पाले पुण्य भनेको त महिलाको पुरुषप्रतिको दासत्व हो। दासत्व भनेको त लडाइँबाट मात्रै मुक्ति हुने कुरा हो। त्यसमा धोका भन्ने हुँदैन। जब कसैले कसैलाई रोज्न पाउँछ भने स्वतः छुट्न पनि पाउँछ। 

    तपाईंले कुनै ढोका खोल्नुहुन्छ भने भित्र जान पाइन्छ भन्नुको मतलब बाहिर निस्किन पनि पाइन्छ भन्ने हो। निस्किने ननिस्किने त उसको कुरा हो। त्यस कारण प्रेममा धोका भयो भनेर आरोपित गर्ने विषय होइन। मान्नुस्, तपाईं कसैलाई प्रेम गर्नुहुन्छ। तर उसले तपाईंलाई अस्वीकार गरिदियो, केही समयपछि वा कुनै मुद्धामा र उसले अर्को मान्छेसँग आफ्नो सम्बन्ध बनायो भने तपाईं यदि साँच्चै उसलाई प्रेम गर्नुहुन्छ भने त तपाईं त खुशी हुनुपर्ने हो नि! किनकि तपाईंले प्रेम गरेको मान्छेको खुसी तपाईं चाहानुहुन्छ भनेपछि त उसलाई त्यसो गर्दा खुसी हुन्छ नि त! 

    तर यो त त्यति व्यावहारिक कुरा होइन नि! आफूलाई पर्दा त गाह्रो हुन्छ नि! 

    यो त चेतनाको कुरा हो किनकि मानिसहरू अहिले पनि प्रेम विवाह गर्न गरिराखेका छन्। विवाह गर्न जब कोही प्रेम गर्छ भने त ऊ त सामन्तवादमै छ नि! 

    त्यसो भए प्रेमचाहिँ केको लागि गर्नुपर्ने थियो त?

    प्रेम त स्वाभाविक रूपमा उसको जीवनको आवश्यकता भयो। एउटा उसको यौनको आवश्यकता होला। अर्को उसको मानसिक रूपमा उसलाई तन्दुरुस्त बनाइराख्नका लागि आवश्यकता होला। जे पनि आवश्यकता होला नि! त्यसकारण मानिसलाई स्वाभाविक रूपमा विपरीत लिङ्गीहरूको साथ चाहिन्छ वयस्क भएपछि, भनिसकेपछि त उसका यावत आवश्यकताहरू हुन्छन्।

    उनीहरू सँगै बस्ने, सँगै बच्चा पैदा गर्ने ठाउँसम्म पुग्न पनि सक्छन्। धेरैजसो पुग्छन् नै। तर कोही पुग्दैन। तपाईं कुनै गाडी चढ्नुहुन्छ र निश्चित ठाउँको निम्ति यात्रा गर्नुहुन्छ भने अधिकांश गाडीहरू पुग्छन्। कुनैकुनै नपुग्न पनि सक्छन्। 

    भनेपछि पुग्नुपर्ने ठाउँ त विवाह नै हो त उसो भए?

    विवाह होइन। पुग्नुपर्ने ठाउँचाहिँ उनीहरू सह-जीवन सुरु गर्ने ठाउँमा हो। विवाह भनेको र सह-जीवन भनेको फरक फरक कुरा हो। ठीक छ, अहिलेको समाजमा बुझ्नका लागि विवाह नै भनौँ। तर विवाह भइसकेपछिचाहिँ तोड्न हुँदैन भन्ने बुझिन्छ नेपालमा। विवाह बन्धनमा बाँधियो भनिन्छ। बन्धनमा कोही किन बाँधिने त? स्वतन्त्रता पो खोज्छ मान्छेले। त्यसकारण छुट्न सक्ने स्वतन्त्रतासहितको सम्बन्ध नै हुन्छ प्रेम भनेको। 

    मेरो विचार त विवाह भनेको पनि त्यही हो। विवाह नै यदि कसैले भनिहाल्छ भने पनि आजको समयअनुसारको विवाहको परिभाषा गर्नुपर्‍यो। हिजोको विवाह भनेको एकअर्कासँग गाँसिएपछि महिला सात जुनीसम्म छुट्न पाएनन्। पुरुषको निम्ति त हावा कुरा हो, लेख्या मात्रै हो। अपवादले बाहेक कसैले मान्ने होइन। ऊ वाध्य थिएन। अहिलेको नयाँ विवाहको परिभाषा गर्ने हो भनेचाहिँ उनीहरूले स्वतन्त्रतामा आधारित, प्रेममा आधारित र समानतामा आधारित सह-जीवन सुरु गर्ने। त्यसलाई विवाह भन्ने हो भने विवाहको नयाँ परिभाषा हुन्छ। कुनै पक्षलाई छुट्न मन लाग्छ भने छुट्न पाउने स्वतन्त्रतासहितको सह-जीवन हुन्छ। अबको विवाह त्यस्तो हुनुपर्छ। 

    त्यो त हामीले कसरी भन्ने कसले के गरिराको हो भनेर? तर मुख्य कुरा के हो भने सरल कुरा छ, समाजशास्त्रीय ढंगले सोच्दाखेरी विपरीत लिङ्गीहरूबीचको आकर्षण, त्यो जुनै प्रकारको होस्, त्यसको केन्द्रीय तत्त्व यौन हो। अरू कुरा धेरै फूलबुट्टा भर्नुपरेन। 

    तर अहिले जति पनि युवाहरू प्रेम भनेर गरिरहेका छन्, उनीहरूचाहिँ प्रेम भनेपछि विवाह नै गर्नुपर्छ भन्ने सोचाइ राख्छन्। उसो भए उनीहरूले प्रेम नै गरेका होइनन् त?

    प्रेमको भन्नुस् वा आकर्षणको भन्नुस्, विपरीत लिङ्गीहरूबीचको केन्द्रीय तत्त्व यौन नै हो। खुलाखुला भन्नुपर्‍यो नि आजको समाजमा। त्यो केन्द्रीय तत्त्व प्राप्त गर्नका निम्ति मानिसले आफ्नो हृदयदेखिको भावनादेखि लिएर सबै कुरा मिल्नुपर्ने हुन्छ। त्यो मिल्छ भने त्यो प्रेम भयो। त्यो विवाहमा परिणत हुन पनि सक्छ, नहुन पनि सक्छ। विवाहमा परिणत हुनुभन्दा पहिले नै टुट्न पनि सक्छ, विवाह गरिसकेपछि टुट्न पनि सक्छ वा नटुट्न पनि सक्छ। धेरैजसो टुट्दैन। 

    विपरीत लिङ्गीहरूबीचको केन्द्रीय तत्त्व यौन हो भनेर मान्ने हो भने विवाहमा पुग्नुभन्दा अघि उनीहरूबीचमा हुने यौन सम्बन्ध स्वाभाविक नै हो?

    पहिलो कुरा के हो भने प्रेम छ भने यौन सम्बन्ध छ कि छैन भनेर प्रश्न सोध्नु नै वाहियात कुरा हो। त्यो उनीहरू दुई जना के चाहन्छन् भन्ने विषय हो। प्रेममा हुँदा यौन सम्बन्ध नराख्न पनि सक्छन् या राख्न पनि सक्छन्, त्यो त उनीहरूको कुरा भयो।

    प्रेमको स्तरमा पुग्ने भनेको त सम्पूर्ण रूपमा एकले अर्कोलाई समर्पित गर्ने स्तरमा पुग्ने भनेको हो। प्रेमको स्तरमा पुग्ने भनेको त एकले अर्कोलाई खुसी पार्दाखेरी आफूलाई आनन्द हुने चरणमा पुग्नु भनेको हो। त्यो चरणमा पुगेका मान्छेहरूको बीचमा यौन सम्बन्ध छ कि छैन भनेर कसैले सोच्नु वा सोध्नु नै हाँस्यास्पद कुरा हो। 

    तर केही मान्छेहरू प्रेम अहिले विकृत भयो भन्छन्। पहिले प्रेम सम्बन्धमा यौन सम्बन्ध मिसिँदैनथ्यो तर अहिलेचाहिँ एक दुई पटक भेटेपछि यौन सम्बन्ध राख्नतिर लाग्छन्, त्यसैले विकृत भयो प्रेम सम्बन्ध भन्छन् नि!

    उनीहरूले प्रेम भनेको के हो भनेर नबुझेको भयो त्यो त। जो मान्छे प्रेममै छैन के, उसले प्रेमीहरूको आलोचना गरेर किन समय खेर फाल्नुपर्‍यो र? व्यक्तिगत स्वतन्त्रता भन्ने अनि त्यसले त्यो गरेको विकृति भयो भन्ने? त्यस्तो पनि हुन्छ? त्यो हुँदैन। त्यो त अदालतले पनि मान्दैन। नेपालको सर्वोच्च अदालत असाध्यै ‘र्‍याडिकल’ भनिन्छ। कतिपयले त पुरातनपन्थी पनि भन्छन्।

    तर अदालतले पनि मान्दैन यो कुरा किनकि अदालतले बच्चा जन्मिनुलाई विवाह भएको मान्दैन। बच्चा जन्मेकोलाई वैधानितकता दिन्छ। बच्चालाई वैधानिक बनाउँछ। तर उनीहरूको बीचमा विवाह भएको मान्दैन। 

    विवाह नभईकन पनि बच्चा जन्मिन सक्छ भन्या के हो? नेपालको जस्तो सर्वोच्च अदालतले समेत पनि प्रेममा यौन सम्बन्ध हुन सक्दछ, बच्चा पनि जन्मिन सक्दछ र त्यो पनि वैधानिक हो भनिसक्यो भनेपछि अनि यो के विकृति हो?

    संसारका सबभन्दा ठूला क्रान्तिकारीहरू सबभन्दा ठूला प्रेमीहरू थिए। इसा मसिह धेरै ठूला प्रेमी हुन्। वेश्याको कोठामा पनि उनी प्रेमपूर्वक जान्थे। उनको मृत्युमा उनको लाश कुरेर बस्नेमध्ये एकजना वेश्या थिइन्। त्यसकारण प्रेम एउटा आम मानिसको जीवनको प्रगतिको बाधक चिज होइन। त्यसको सहयोगी चिज हो।

    प्रेम गर्नेहरू कति स्वतन्त्र छन् नेपाली समाजमा? 

    नेपाली समाज वा अर्को देशको समाजभन्दा पनि त्यो समाजको चरित्र कस्तो हो भन्नेमा भरपर्छ। व्यक्तिगत स्वतन्त्रता वा छनोटको अधिकार भनेको पूँजीवादी समाजमा मात्रै हुन्छ। पूँजीवादी समाजभन्दा अगाडिका अथवा सामन्तवादी समाजमा व्यक्तिगत स्वतन्त्रता हुँदैन। व्यक्तिगत स्वतन्त्रता नभएपछि त प्रेमको स्वतन्त्रता हुने कुरै भएन। पूँजीवादी समाजमा मात्रै प्रेमको स्वतन्त्रता हुन्छ।

    त्यसबाहेक पनि सामन्तवादी समाजमा केही जनजाति समुदायहरूमा कविला युगको एक प्रकारको अवशेष जस्तो उनीहरूमा केही आफ्नो कुल जातभित्रचाहिँ जोडी छनोटको स्वतन्त्रता भएजस्तो देखिन्थ्यो। त्यहाँ केही प्रेम विवाह जस्ता छनोट गरेर हिँड्ने, भाग्नेजस्ता कामहरू हुन्थे तर मुलतः पूँजीवादी समाजमा मात्रै प्रेमको स्वतन्त्रता हुन्छ। 

    अहिले नेपाली समाज पूँजीवादी समाज नै हो तर सामन्तवाद संस्कृतिको क्षेत्रमा यावत रूपमा जकडिएर बसेको छ। जस्तोः मुस्लिम समाज भन्नुस्, मधेसी समाज भन्नुस्, त्यसैगरी सुदूरपश्चिमको कर्णाली नदी काटेर गइसकेपछि पहाडी भूभाग भन्नुस्, जहाँ महिलालाई करिबकरिब पुरुषसरहको मानिस नै ठानिँदैन। पुरुषले मात्रै प्रेम गर्न चाहेर हुँदैन नि! महिलालाई पनि छनोटको स्वतन्त्रता हुनुपर्‍यो। त्यति भएपछि मात्रै प्रेम सम्बन्ध विकास हुन्छ। त्यसकारण नेपाली समाज अहिले प्रेमका सन्दर्भमा संघर्षशील समाज भन्न सकिन्छ। त्यो दिशामा जानका निम्ति संघर्ष गरिरहेको। 

    अभिभावकहरूले पनि आफूले रोजेर विवाह गरेकै राम्रो भन्ने मौखिक सहमतिसम्म पुगेको अवस्था छ। साँच्चै आफ्नो घरमा त्यो परिघटना घट्दा असाध्यै ठूलो बबण्डर हुने तर बाहिर बोल्दाखेरीचाहिँ ‘रोजेरै गर्‍या राम्रो नि’ भन्न मौखिक सहमति गर्ने ठाउँसम्म पुगेको छ। तर आम युवाहरूको निम्तिचाहिँ प्रेम अहिले पनि आधारभूत रूपमा संघर्षकै विषय हो, लडाइँकै विषय हो। 

    अहिले प्रेम गर्नेहरूले समाजबाट जे जस्ता उल्झनहरू व्यहोरिरहनुपरेको छ, त्यो हट्ने अवस्थामा कहिले पुग्ला नेपाली समाज?

    समाजवादी समाजविना त यो सम्भव छैन। पूँजीवाद रहेसम्म त यसका पनि सीमा छन्। समान्तवाद भन्दा पूँजीवाद धेरै नै प्रगतिशील छ। यसले व्यक्तिगत स्वतन्त्रता दिन्छ। तर व्यक्तिगत स्वतन्त्रता यसले सम्पत्तिको कठघरामा थुपारिदिन्छ। जति सम्पत्ति भयो, त्यति स्वतन्त्रता हुन्छ। जति सम्पत्ति कम भयो, त्यति कम स्वतन्त्रता हुन्छ। 

    त्यसकारण समाजवादी समाजको निर्माणविना त प्रेमको पनि उन्नयन सम्भव छैन। स्वतन्त्रतायुक्त प्रेमको समाज सम्भव छैन। तैपनि हिजोको सामन्तवादको दाँजोमा चाहिँ नेपाली समाजमा जति धेरै पूँजीवादको विकास हुन्छ, जति धेरै पूँजीवादी संस्कृतिको व्यावहारिक रूपमा लागु हुँदै जान्छ, प्रेमको विषय पनि त्यति नै सरल हुँदै जान्छ। 

    तपाईंले कतै भन्नुभएको थियो– अहिले प्रेम गर्नेहरू जसरी न्युरोडमा सँगै आइसक्रिम खाएर हिँडिरहेका छन्, यो स्वतन्त्रतासम्म आइपुग्नका लागि इतिहासमा प्रेम गर्नेहरू शंखमूलमा काटिएका पनि छन्। त्यो हिजोको अवस्था कति जटिल थियो?

    नेपाली समाजमा विवाहका अथवा सामाजिक यौन जीवनका भनौँ न, सह-जीवनका ३/४ वटा आयामहरू थिए। एउटा मागी विवाह, अर्को गन्धर्व विवाह अथवा भागी विवाह, तेस्रोचाहिँ लुटी विवाह। पश्चिमका खसहरू र जनजाति समुदायमा मनपरेकी केटीलाई केटाले लुटेर लाने चलन थियो। यी तीन प्रकारका विवाहहरू नेपाली समाजमा थिए। 

    वि. सं. १९९० पछि नेपालमा लोकतान्त्रिक आन्दोलन पनि चल्न थाल्यो। शिक्षाको पनि बिस्तारै विकास भयो, त्रिचन्द्र कलेज खुल्ने, बनारस गएर पढ्ने चलन बढ्न थाल्यो। बनारस गएर पढ्ने नेपालका युवाहरूले हिन्दी फिल्म हेर्न थाले। प्रेममा आधारित फिल्महरू बन्थे।

    पढेर पनि फर्केका, जान्ने बुझ्ने भएर पनि फर्केका, प्रेम गरेको फिल्म पनि हेरेर फर्केका भएपछि स्वाभाविक रूपमा उसलाई आफ्नो जोडीचाहिँ मैले छान्न पाउनुपर्छ भन्ने सोचाइ हुने नै भयो। उसले बाबुआमालाई भन्यो, मैले केटी हेर्न पाउनुपर्छ। अब कमाउन सक्ने भएर आएको छोरा, पढेर आएको छोरा, उसको कुरा नमान्न गाह्रो भयो अनि केटी देखाइदिन थाले। केटी देखाइदिने भनेको केटीले पनि हेर्ने कुरा भयो। 

    खासै हेरेर त के हुन्थ्यो र! तैपनि त्यहाँबाट सुरु हुन्छ प्रेमको भु्रण नेपालमा। जोडी छनोटको भु्रण। बिस्तारै समाज अगाडि बढ्दै गयो र नेपालमा कलकारखानाहरू खुल्न थाले। पाँच विकास क्षेत्रमा औद्योगिक क्षेत्रहरू खुल्न थाले। शहर बजारहरू खुल्न थाले। एअरपोर्टहरू बन्न थाले। पूँजीवाद विकास हुन थाल्यो। 

    कलेजहरूमा मान्छेहरू भेटघाट हुन थाल्यो। यो क्रममा जाँदा छनोटको स्वतन्त्रता बिस्तारै अगाडि बढेर भाउजु, मामाहरू कोठाबाहिर बसेर भित्रचाहिँ केटा र केटीलाई २०/२५ मिनेट सँगै कुरा गर्न दिनेसम्म अगाडि बढ्यो। त्यहाँबाट अगाडि आएर अहिले आइपुग्दाखेरी चाहिँ मौखिक स्वीकारोक्तिको रूपमा आफैँले रोजेर गरेको राम्रो भन्ने ठाउँसम्म अहिले पुग्यो। 

    पूँजीवादी समाजले सामन्तवादी समाजलाई जति कमजोर पार्दै गएको छ, त्यति नै यो (छनोटको स्वतन्त्रता) अगाडि बढ्दै आएको छ। यसो गर्नका निम्ति पनि यो त्यत्तिकै भएको त होइन। त्यहाँ त विद्रोहीहरू थिए र छलाङ मार्दै आएको छ। जङ्गबहादुरको मुलुकी ऐनलाई हेर्ने हो भने राणाकालमा अन्तरजातीय विवाह गरेकाहरू कम्तीमा पनि जेल पर्थे। नत्र भने उनीहरूले काटिनसमेत पथ्र्यो। शंखमूलमा लगेर काटिन्थ्यो, काठमाडौँमा। 

    प्रेम गर्नेहरू धेरैचाहिँ जोसँग प्रेम गरेको हुन्छ, उसैसँग विवाह गर्नु नै जीवनको लक्ष्य हो भन्ने सोच्छन्। के प्रेम जीवनको लक्ष्य हुनसक्छ? 

    महिला पुरुषले एउटा सह-जीवन सुरु नगर्दासम्म त्यो सह-जीवनलाई उनीहरूले लक्ष्य बनाउन सक्छन्। त्यो सह-जीवनमा प्रवेश गर्नुभन्दा अगाडिचाहिँ प्रेम एउटा सह-जीवनको लक्ष्य बन्न सक्छ। तर जीवन त उसको त्यसपछि पनि बाँकी रहन्छ। एकले अर्कालाई त पाइसक्यो नि! त्यसपछि त जीवनमा नयाँ काम गर्ने लक्ष्य हुन्छ होला नि त! 

    सम्पत्ति कमाउन मन लाग्छ होला, बच्चाबच्चीलाई राम्रो जीवन दिऊँ भन्ने सपना हुन्छ होला। कसैको कवि बन्ने सपना हुन्छ होला, कसैको चार्टर एकाउन्टेण्ट बन्ने हुन्छ होला। जीवनको लक्ष्य त प्रेम हुँदै हुँदैन, जीवनको एउटा खण्डको लक्ष्यचाहिँ प्रेम हुनसक्छ। तर त्यो मूल लक्ष्यको अधीनमा हुन्छ। 

    संसारका सबभन्दा ठूला क्रान्तिकारीहरू सबभन्दा ठूला प्रेमीहरू थिए। इसा मसिह धेरै ठूला प्रेमी हुन्। वेश्याको कोठामा पनि उनी प्रेमपूर्वक जान्थे। उनको मृत्युमा उनको लाश कुरेर बस्नेमध्ये एकजना वेश्या थिइन्। त्यसकारण प्रेम एउटा आम मानिसको जीवनको प्रगतिको बाधक चिज होइन। त्यसको सहयोगी चिज हो। त्यसकारण यो जीवनको मूल लक्ष्यको अधीनमा हुन्छ।

    (थाहा सञ्चार नेटवर्कमार्फत् सोमबार राती सवा ९ बजे देशभरका ११० भन्दा धेरै रेडियोबाट एकै साथ प्रसारण हुने कार्यक्रम ‘बहकिने मन’मा साहित्यकार आहुतिसँग महावीर विश्वकर्माले गर्नुभएको कुराकानीको संपादित अंशः प्र.सं.) 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]