होटल व्यवसायीहरुले उपमहानगरलाई सफा, सुन्दर र सुरक्षित बनाउनका लागि थालिने अभियान र कार्यक्रममा साथ दिने प्रतिबद्धता जनाए

|

बाँके : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले शहर सफा राख्नका लागि होटल व्यवसायीहरुले साथ दिनुपर्ने बताएका छन्। होटल व्यवसायी संघ बाँकेले नेपालगन्ज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उपमहानगर प्रमुख राणाले सरसफाइमा ध्यान दिन होटल व्यवसायीलाई आग्रह गरे। 

सेकुवाको धुवाँले सहर दुर्गन्धित बनाइरहेको उनले बताए।   धुवाँले मासु खाने र नखाने दुबैलाई असर गरिरहेकोले सडक छेउमा सेकुवा नपोल्न सुझाव दिए। ‘भारतबाट आएका धेरैजसो पर्यटक मासु नखाने हुन्छन्, सेकुवाको धुवाँले खानेलाई त आकर्षित गर्ला, तर नखानेलाई यसले नकारात्मक असर पार्छ, यसले नगरको सौन्दर्य र गरिमामा ठेस पुगेको छ,’ प्रमुख राणाले भने।

उनले  अबदेखि नेपालगन्जका होटल व्यवसायीलाई कसैले दुख दिन नपाउने बताए। होटल व्यवसायीको कुनै गल्ती नहुँदासमेत अनाहकमा प्रहरी, प्रशासनले दुख दिने गरेको औँल्याउँदै उनले आफ्नो सुरक्षाका लागि होटल व्यवसायी आफैं पनि सजग हुनुपर्ने बताए।

‘नगरलाई सफा, सुन्दर, हराभरा र सुरक्षित बनाउने दायित्व होटल व्यवसायीको पनि हो,’ उनले भने।  व्यवसाय दर्ता गरेर मात्र होटल संचालन गर्न र राज्यलाई कर तिर्न उनले व्यवसायीहरुलाई सुझाव दिए।

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले होटलबाट निस्केको फोहर व्यवस्थापन गरिदिए नेपालगन्जलाई सफा र सुन्दर बनाउन मद्दत पुग्ने बताइन्। 

उनले नेपालगन्जलाई सफा, सुन्दर र हराभरा बनाउन सकिए पर्यटन प्रबद्र्धन हुने बताइन्। ‘हाम्रो नेपालगन्ज, राम्रो नेपालगन्ज बनाउने अभियानमा होटल व्यवसायीको साथ चाहिएको छ,’ उनले भनिन्। 

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष निम बहादुर थापाले नेपालगन्जको विकासमा उपमहानगरपालिकाले गर्ने हरेक गतिविधिमा संघले साथ दिने प्रतिबद्धता व्यक्त गरे। उनीसँगै कार्यक्रममा सहभागी थुप्रै होटल व्यवसायीहरुले उपमहानगरलाई सफा, सुन्दर र सुरक्षित बनाउनका लागि थालिने अभियान र कार्यक्रममा साथ दिने प्रतिबद्धता जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.