|

काठमाडौँ: राजधानीमा दैनिक २५ जना झाडापखाला भएर अस्पतालसम्म पुग्ने अध्ययनले देखाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ र काठमाडौँ खानेपानी लिमिटेडले गरेको अध्ययनमा उक्त तथ्य फेलापरेको हो।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौँका १५ अस्पतालमा गरेको अध्ययनअनुसार उक्त तथ्यांक पाइएकाे बताएको हो।

यस्तै, जेठ महिनामा मात्र काठमाडौँ उपत्यकामा दुई हजार जनालाई झाडापखाला भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

'वर्षायाम सुरु भएको हुँदा बिरामी ह्वात्तै बढ्न सक्ने जोखिम रहेको छ', उनले भने, 'यसका लागि कार्यालयले सरसफाई, पानी शुद्धीकरण तथा जनचेतना बिस्तारलगायतका कार्य गर्दै आएको छ।'

राजधानीको ६६ प्रतिशत पानीमा कोलिफर्म

वर्षायामसँगै उपत्यकाको पानीमा झाडापखाला तथा हैजा फैलाउन सक्ने कोलिफर्म अत्यधिक पाइएको छ। उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका घरमा प्रयोग हुने खानेपानी परीक्षण गर्दा ७० प्रतिशतसम्म हैजा र झाडापखाला सार्ने जीवाणु पाइएको हो। उपत्यकावासीको खानेपानीमा पाइएको कोलिफर्म जीवाणु दिसामा पाइने जीवाणु हो, जुन जीवाणुले हैजा तथा झाडापखाला सार्ने गर्दछ।  काठमाडौँवासीले प्रयोग गर्दै आएको पानीमा ६६ प्रतिशत कोलिफर्म भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख डा. महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकाको पानीमा कोलिफर्म भएकोले पानीलाई उमालेर खानुपर्ने बताए।

धाराको पानी, ट्या‌ंकरको पानी र जारकै पानी भए पनि पानी प्रदूषित हुनसक्छ भन्ने जान्दाजान्दै पनि सतर्कता नअपनाएका कारण यस्तो समस्या देखिएको उनले बताए।

यता, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का ल्याब प्रुमुख ज्ञानेन्द्रबहादुर कार्कीले भने केयुकेएलले वितरण गर्ने पानी शुद्ध भएको दाबी गरे। उनले काठमाडौँमा विभिन्न खालका पानी व्यवसायीले वितरण गर्दै आएको र धेरै खाने पानी अयोग्य हुने भएकाले जनतालाई सचेत हुन अनुरोध गरे। त्यस्ता पानीलाई परीक्षण गरी स्टिकरसमेत लगाएर मात्र बिक्री वितरण गर्न दिइएको पनि कार्कीले बताए।

नीलो स्टिकर टाँसेको पानी खानयोग्य

काठमाडौँ खाने पानी लिमिटेडले बजारमा विभिन्न व्यवसायीहरूले वितरण गर्दै आएको पानीलाई उक्त पानीको गुणस्तर परीक्षण गरी पानीको गुणस्तरको आधारमा स्टिकर टाँस्दै आएको छ।

उनका अनुसार अहिले काठमाडौँमा नीलो, हरियो र पहेँलो तीन प्रकारका स्टिकर भएका पानीहरू वितरण हुँदै आएका छन्। काठमाडौँ खानेपानी लिमिटेडले आठवटा ट्याङ्करबाट वितरण गर्दै आएको पानीमा नीलो स्टिकर छ, जुन पानी नउमाली पनि खानको लागि उत्तम रहको कार्कीले बताए।

हरियो स्टिकर घरायसी प्रयोजनका लागि प्रयोग गर्न साथै उमालेर खान सकिने र पहेँलो स्टिकर भएको पानी भने खान अयोग्य रहेको कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.