|

रुकुमः कुनै पनि क्षेत्रमा काम गर्नका लागि आफैँसँग पैसा हुनुपर्छ भन्ने छैन। ईच्छाशक्ति हुने हो भने जुनसुकै उपाय अपनाएर पनि पैसा जुटाएर मान्छेहरू आफ्नो उद्देश्य पूरा गरेका हुन्छन्। 

काम र व्यवसायबाट प्रत्यक्ष आम्दानी हुने व्यापार व्यवसायमा यस्ता उदाहरण धेरै हुने भए पनि सामाजिक र आम्दानीको कुनै विश्वासिलो आधार नभएका क्षेत्रमा भने कमै मात्रमा हुन्छन्।

आफ्नो सांगीतिक एल्बम निकाल्न आफ्नै भाउजुका गहना बैंकमा राखेका छन् रुकुमका राजेन्द्रप्रसाद खड्काले। 

रुकुमको सानीभेरी गाउँपालिका– ११, काफलबोटका खड्काले यसरी नै पछिल्लो समय जलवायु परिवर्तन र पूर्ण सरसफाई तथा स्वस्थ जीवनसम्बन्धी दुईवटा गीत बजारमा ल्याएका छन्। 

अडियो बजारमा ल्याएपछि भिडियोका लागि उनी अहिले आर्थिक स्रोत जुटाउन जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूमा प्रस्ताव लिएर घुमिरहेका छन्। देशव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन, यसको समस्या, न्यूनीकरणका उपाय र स्थानीयस्तरमा अपनाउनुपर्ने कुराहरू गीतको माध्यमबाट समेटेर चेतना दिन खोजिएको नयाँ गीत ‘जलवायु परिवर्तन’ केही महिनाअघि मात्र बजारमा ल्याएका छन् उनले। पूर्ण सरसफाई र स्वस्थ जीवनका लागि चेतना दिने गीत अघिल्लो वर्ष नै ल्याइसकेका छन्।

‘म अहिले यी दुई गीतको भिडियोका लागि विभिन्न विषयगत कार्यालयहरूमा प्रस्ताव पेस गरेर आर्थिक सहयोगका लागि अनुरोध गरिहेको छु’, सदरमुकाम खलंगामा भेटिएका उनले भने, ‘अडियो त भाउजुका सुन बैंकमा राखेर निकालियो, अब यी दुई गीतको भिडियो बनाउनका लागि आर्थिक रकम चाहिने भयो, त्यसकारण विभिन्न कार्यालयहरूमा डुलिरहेको छु।’

सहयोगका लागि धेरै ठाउँमा सकारात्मक पाएको तर विश्वस्त हुन भने नसकेको उनले बताए। जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाई कार्यालय, जिल्ला जलवायु परिवर्तन कार्यक्रम, गाउँपालिका कार्यालय, स्वास्थ्य चौकी अर्मालगायतका अन्य स्वास्थ्य क्षेत्रमा सहयोगका लागि प्रस्ताव पेश गरेका उनले केही ठाउँबाट सानोतिनो सहयोग पाएका छन् भने कहिले सहयोग गर्ने बाचा दिएका छन्।

‘मेरो गीतसंगीत क्षेत्रमा रुचि त छ तर सामाजिक रूपान्तरण र समृद्धिका गीतहरू निकालेर रुकुमलाई परिवर्तन गर्न चाहन्छु’, उनले भने।

एचके डिजिटलमार्फत बजारमा ल्याएका उनका गीतमा स्वर आफ्नै छ भने राजेन्द्र खड्काको लय÷शब्द रहेको छ। त्यसका साथै जमुना सेर्पाली, संगीता सोना, तिलकबाबु खड्कालगायतका कलाकारहरूले पनि साथ दिएका छन्। उनले यसअघि ‘परदेशीको पीडा’ र तीज गीतसमेत बजारमा ल्याइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.