|

कञ्चनपुर : प्रहरीले चोरीका सवारी साधनलाई यातायात व्यवस्था कार्यालयको मिलोमतोमा वैध वनाएर बेच्‍ने गिरोहका दुई व्यक्तिलाई पक्राउ गरेको छ। भारतबाट अवैध रुपमा भित्रिएका चार पाङ्ग्रे सवारी साधनलाई यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलेमतोमा वैध बनाई बेचबिखन गर्ने गिरोहका नाइके कैलालीको भजनी ३ का ३७ वर्षिय गोकुल श्रेष्ठ र उनका सहयोगी भीमदत्त नगरपालिका ४ का २५ वर्षिय हिमाल जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुबाट प्रहरीले ८ वटा कार, नगद एक लाख रुपैयँ, ११ थान बिल बुक, दुई थान ल्यापटप, एक थान सुनको सिक्री, बैङ्क अफ काठमाडौंको नाममा जारी ११ लाख र चार लाखको चेक दुई थान, विभिन्न बैङ्कका तीन थान चेक बुक लगायतका सामानहरु बरामद गरिएको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए। 

प्रहरीले उक्त गिरोहले भारतीय तस्करहरुसँग मिलेर नेपाल गाडी भित्र्याउने र विभिन्न भन्सार कार्यालयबाट लिलाम सकार गरेको फर्जी कागजात बनाएर सेती र महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता गरेर बिक्री गर्ने गरेको बताएको छ।

श्रेष्ठ र जोशीले म १ च ५२५ नम्बरको कार धवलागिरी अञ्चल यातायात कार्यालयमा अञ्चलीकरण गर्ने क्रममा  किर्ते कागजात बनाएपछि घटनाको रहस्य पत्ता लागेको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। 

उनले पक्राउ परेका दुबै जना विरुद्ध सरकारी छाप किर्ते मुद्दा चलाइने बताए। उक्त गिरोहले महाकाली अञ्चल व्यवस्था कार्यालयमा चोरीका सात वटा कार र १५ वटा मोटरसाइकल तथा सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा एउटा कार र सात वटा रोयल इन्फिल्ड मोटरसाइकललाई कर्मचारीसँगको मिलेमतोमा वैध बनाएर बेचबिखन गरेको प्रहरीले बताएको छ।

यद्यपी प्रहरीले यस्तो काममा मिलेमतो गर्ने यातायात व्यवस्था कार्यालयका कर्मचारीको भने नाम खुलाएको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.