३४ उम्मेदवारबाट १७ जना छनोट हुँदै

|

काठमाडौँ: शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधरणसभामा दिनभर व्यवसायीहरू व्यस्त भए। रात परेपछि भने उनीहरू भोट हाल्न लाइनमा बसेका छन्।

प्रधानमन्त्रीबाट उद्‍घाटन गराउने तयारी गरिएको २५औँ साधारणसभाको लागि बिहान ८ बजे नै तोकिएको स्थान आर्मी अफिसर्स क्लबमा व्यवसायीहरू आइपुगेका थिए। साढे ९ बज्दा नबज्दै श्रममन्त्रीलगायतका उच्च पदस्थ अतिथिहरू त्यहाँ आइपुगेका थिए। तर प्रधानमन्त्रीको आगमन ढिला हुने भएका कारण कार्यक्रम निर्धारित समयमा सुरु हुन सकेन। संघका महासचिव तथा कार्यक्रमका प्रस्तोता रोहन गुरुङ प्रधानमन्त्री आउन ढिला हुने भयो भन्दै सवा १० बजे मात्रै स्टेजमा पुगे।

तर साढे ८ बजे भनिएको कार्यक्रम सवा १० बजे सञ्चलानको लागि मञ्चमा गएका प्रस्तोता हतारमा देखिँदैन थिए। प्रस्तोताको पट्यारलाग्दो शैलीले अतिथि आसनग्रहण गराउँदा पौने ११ भयो, तर प्रधानमन्त्री आएनन्।

प्रधानमन्त्री नआए पनि उद्‍घाटन छोडेर कार्यक्रम अघि बढाउने प्रस्तोता गुरुङले जानकारी गराउँदै राष्ट्रगानको लागि सबैलाई उठ्न र प्राविधिकलाई राष्ट्रगान बजाउन आग्रह गरे। तर, बजेन राष्ट्रगान। प्रधानमन्त्री नै आएपछि बजाउने सहमति भयो। त्यसपछि स्वागत मन्तव्यको लागि संघका अध्यक्ष विमल ढकाललाई मञ्चमा निम्त्याए प्रस्तोताले। तर ढकाल गएनन्। उनी नगएपछि 'प्रधानमन्त्री आएपछि मात्रै बोल्ने अरे, केही समय धैर्य गर्नुपर्‍यो' भने।

साढे ८ बजे आउने भनेका प्रधानमन्त्री साढे ११ बजे कार्यक्रममा उपस्थित भएपछि मात्रै कार्यक्रम अघि बढ्यो। त्यसपछि सटिक स्वागत मन्तव्य अध्यक्ष ढकाललले राखे भने हतारमा देखिएका प्रधानमन्त्रीले स्वागत मन्तव्यपछि आफूलाइ बोल्ने समय मिलाउन आग्रह गरे। करिव पाँच मिनेटमै उनले आफ्नो धारणा राखे।

यसरी ढिलाइ भयो

तोकिएको समयभन्दा झण्डै चार घण्टा पछि कार्यक्रम सुरु भएपछि मतदान पनि शुक्रबार दिउँसो गर्ने तालिका प्रभावित बन्यो। संघका अध्यक्ष, प्रधानमन्त्री र श्रम सचिवले सटिक मन्तव्य दिए तापनि अन्य अतिथिले लाम्बेतान भाषण गर्दा साढे १ बजे पनि सकिएन बन्द सत्र, जबकि ११ बजे भित्र सकि सक्ने व्यवस्थापनको योजना थियो।त्यसपछि राखिएको खाना खाने कार्यक्रमले आधा दिन सकियो।

 बन्द सत्रमा लफडा

उद्घाटन सत्र ढिला भएपछि छिट्टै मतदान गराउने बताएको निर्वाचन समितिले सकेसम्म छिटो बन्द सत्र सक्न आग्रह गरेको थियो। तर ठीक उल्टो भयो। बन्द सत्र बेलुकी ६ बजेसम्म पनि सकिएन। वर्तमान कार्यसमितिमा लोकतान्त्रिक र प्रगतिशील प्यानलबाट आएका पदाधिकारीहरूबीच लामो समय भानभन नै भयो। एक पक्षले अध्यक्षले काम गर्न नसकेको दाबी गर्दै अध्यक्षको आलोचना गरे भने अर्को पक्षले भने अध्यक्षलाई काम गर्न नदिएको आरोप लगाए। 'दुई समूहबाट वर्तमान अध्यक्ष र महासचिव दुवै अध्यक्षका उम्मेदवार छन्, एकअर्काबीच आरोप प्रत्यारोप बढी नै देखियो। त्यसैले ढिला हुन पुग्यो', बन्द सत्रमा सहभागी एक व्यवसायीले भने।

सात बजेपछि भोट हाल्न लाइन!

सामान्यतया: भोटिङ बिहान तथा दिउँसोको समयमा हुने गर्छ। भोट गर्दा गर्दै रात पर्नु स्वाभाविक पनि हो। तर वैदशिक रोजगार व्यवसायी संघको चुनावमा भने बेलुकी सात बजेपछि मात्रै मतदाता लाइनमा उभिए।

सवा ७ बज्दा बल्ल भोट हाल्न सुरु गरिएको छ। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष विमल ढकालको नेतृत्वमा लोकतान्त्रिक संयुक्त व्यावसायिक प्यानल र वर्तमान महासचिव रोहन गुरुङ नेतृत्वमा प्रगतिशील संयुक्त व्यावसायिक प्यानलले गरी ३४ जनाले उम्मेदवारी दिएका छन्। मतदानबाट सात पदाधिकारीसहित १७ जनाको कार्यसमितिका लागि ८४७ जनाले मतदान गर्नेछन्। अन्य चार सदस्य भने निर्वाचित कार्यसमितिले पूर्व अध्यक्षमध्येबाट चयन गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.