|

काठमाडौं : नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्ववियु कार्यालयमा तालाबन्दी गरेका छन्। यसअघि शुल्क वृद्धिका विषयमा विरोध जनाउँदै विद्यार्थीहरुले बुधबारदेखि क्याम्पस प्रशासनमा लगाएको ताला अझै खुलेको छैन। 

त्रिभुवन विश्व विद्यालयले नियमित तथा पुन:परीक्षाको परीक्षा शुल्क बढाउने निर्णय गरेपछि विद्यार्थीहरु त्यसको विरोधमा छन्। आफ्ना माग पूरा गर्नका लागि दिएको अल्टिमेटम समाप्त भइसक्दा पनि माग पूरा गर्ने सम्बन्धमा प्रशासन तथा स्ववियूले चासो नदिएको कारण तालाबन्दीमा उत्रनुपरेको अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष कृष्ण दाहालले बताए। 

दुइ विद्यार्थी संगठनले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि तत्काल फिर्ता हुनुपर्ने, स्ववियु कपको हिसाब सार्वजनिक गर्नुपर्ने, नाजुक अवस्थामा रहेको महिला तथा पुरुष छात्रवासको शौचालय सुधार गर्नुपर्ने लगायतका ५ बुँदे माग सार्वजनिक गरेका थिए। उनीहरुले शुक्रबार १० बजेसम्मका लागि माग सम्बोधन गर्न अल्टिमेटम समेत दिएका थिए। 

परीक्षा शुल्क बढाउँदा समेत स्ववियु मौन बसेकाले विद्यार्थीहरु मारमा परेको दाहालले बताए। उनले स्ववियु अध्यक्ष आफ्नो माउ पार्टीका स्वार्थ अनुरुप चलेको र उनले विद्यार्थीका समस्याप्रति चासो नदेखाएको आरोप लगाए। 

नेवि संघका सभापती आदर्श लामिछानेले पटक–पटक शुल्क वृद्धि फिर्ता गर्न माग गरेपनि प्रशासन तथा स्ववियुले बेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए। प्रशासन तथा स्ववियु कार्यालयमा तालाबन्दी गरेपनि कक्षा संचालन नियमित रुपमा भइरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.