|

काठमाडौँ:  मञ्चमा दुईओटा परालले छाएका घर छन्। दुवै घरको बीचमा अलि पछाडि एउटा रूख छ, जसको छहारीमा छ जना मादल, हार्मोनियम, तवला, गीतार बजाइरहेका वाद्यवादक छन्। मञ्चमा दुईवटै घरबाट निस्केका महिला र पुरुष स्वर मिलाएर भानुक्तको रामायणका पंक्तिहरू वाचन गरिरहेका छन्:

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्‌को गरूँ हित् भनी।

ब्रह्मा ताहिँ थिया पर्‍या चरणमा खूसी गराया पनि।।

क्या सोध्‌छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।

ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्‍या यो तसै।।

शार्दूलविक्रीडित छन्दमा लेखिएको भानुभक्तको रामायणका यी लाइनलाई झन् मनमोहक बनाएको थियो, लोचन भट्टराईको संगीतले। गायक/गायिकाहरूको सुन्दर स्वरमा रामायणले उपस्थित जनलाई मन्त्रमुग्ध बनायो। कार्यक्रमको सुरुवाती प्रस्तुति सकिँदा उपस्थित दर्शक/श्रोताको तालीको गडगडाहटले हल गुञ्जायमान भयो।

सांस्कृतिक संस्थान र भानु प्रतिष्ठानले शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा आदिकवि भानुभक्तको २०४औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको 'भानु संगीत लहरी- २०७४' को दृश्य थियो यो। भानुभक्तको सम्झनामा आयोजना गरिएको कार्यक्रमका साक्षीका रूपमा शताब्दी पुरुष सत्यमोहन जोशी, प्रधानन्यायाधीश गोपाल पराजुली, साहित्यकार, कलाकार, विद्यार्थीलगायत उपस्थित थिए।

भानुभक्तको रामायणका श्लोक वाचन गरेर शान्त बनेको हलमा एकाएक चराको आवाज सुनियो। उक्त आवाजले आफ्नो प्रस्तुति दिने पालो पर्खिरहेका एम्बिसन एकेडेमीका विद्यार्थी छात्रछात्रा डराए। चराको आवाज जसै विलौनामा परिणत हुँदै गयो, उनीहरू मुग्ध भए। चरीको आवाज विलौनामा परिणत भयो। त्यो विलौना सुनाउन मञ्चमा थिइन्, गायिका एवं संगीतकार लोचन भट्टराई। उनको स्वर चरीको विलौनामा यसरी पोखियो:

न सक्छौ यी आँसू टपटप टिपी चप्प पिउन

न सक्छौ यी भुत्ला लिइकन कुनै बस्त्र सिउन।

कवि शिरोमणि लेखनाथ पौड्यालको कविता 'चरीको विलाप'मा लोचनको स्वर र संगीतले उपस्थितलाई मौन बनायो। हलको वातावरण चरीको विलापमै विलुप्त भयो। उक्त विलापलाई पछ्याएको थियो, महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'प्रश्नोत्तर' कविताले।

राष्ट्रिय नाचघरका गायक/गायिकाको स्वर र लोचनको संगीतमा देवकोटाले यसरी प्रश्न गरे:

के हो अहो! अमृत त्यो सुरदेव पान?
सच्चा कमाइ गरिखानु भनेर जान।
खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ।

सिद्दिचरण श्रेष्ठको नेपाली वीरत्व जगाउने कविता 'परिचय' वाचन गर्न आइपुगे, रूपक चौधरी। उनलाई संगीतमा साथ दिएकी थिइन् लोचनले नै। कविता सुन्ने दर्शक दिर्घामा थिए, सिद्दिचरण श्रेष्ठका छोरा रवीचरण श्रेष्ठ। हातका औँला हार्मोनियममा नचाउँदै नेपाली वीरताको गाथा बोकेको कविता वाचन गर्न थाले चौधरी:

नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु,

वैरी नै होस् तर छु बहुतै दीनमाथि दयालु।

तातो रातो रगत रिपुको प्यून हर्दम तयार

मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार।।

रूपकको मन्दाक्रान्ता छन्दमा वाचन भएको यो कवितालाई पछ्याएको थियो राष्ट्रकवि माधवप्रसाद घिमिरेको 'गौरी' कविताको सामूहिक वाचनले। यो कवितामा पनि नाचघरका कलाकारको सामूहिक वाचन र लोचनको संगीत संयोजन रहेको थियो।

भानुभक्तलाई सम्झिन आयोजना गरेको कार्यक्रममा उपस्थित थिए, उनका खनाति प्रा.डा. व्रतराज आचार्य र प्रमोद आचार्य। त्यहाँ उनकी खनातिनी प्रभा आचार्य भट्टराईको कविता 'छन्द' वाचन गरेकी थिइन् लोचन भट्टराईले।

फेरि सुन्ने पालो आयो भानुभक्तलाई नै, जसलाई सुन्दर रूपमा प्रस्तुत गरेका थिए नाचघरका कलाकारहरूले। लोचनको संगीत संयोजनमा 'वसन्ततिलका' छन्दमा यी लाइनहरू गुञ्जिए:

भर् जन्म घाँसतिर मन् दिई धन् कमायो। 

नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो।।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो।

मो भानुभक्त धनी भैकन आज यस्तो।।

कवि डा. देवी नेपालको सुन्दर कार्यक्रम सञ्चालनले उपस्थितमा झनै रौनक थपिएको थियो। त्यसमा झनै रौनक थप्न आए गायक दामोदर अधिकारी र संगीतकार अर्जुन पोखरेल। दामोदरको स्वरकै लागि लेखिएको जस्तो लाग्ने कविता थियो डा. रामप्रसाद ज्ञवालीको 'चाहिँदैन।' समाजमा देखावटी प्रयोजनका लागि व्यापक बनेका चीजहरू नचाहिने उल्लेख गरिएका ज्ञवालीका शब्दलाई दामोदरले दम दिएका थिए।

त्यसपछि, बुद्ध जन्मेको प्राकृतिक रूपले रमणीय देशका रहनसहन र रितीरिवाजलाई एकअर्को ठाउँमा पुर्‍याउन सके झन सुन्दर र शान्त हुने शब्द रहेको कविताको पालो आयो। देवी नेपालको 'बुद्धको देश' झापाको रहनसहन पश्चिमको दार्चुलामा देख्न पाइयोस् र दार्चुलाको देउडा सप्तरीमा देख्न पाइयोस् भन्ने आसयको कविता वाचन गर्न आएका थिए, गायक तुलसी पराजुली।

चपला अवलाहरु एक सुरमा

गुनकेसरिको फुल ली शिरमा

हिँडन्या सखि लीकन ओरिपरि

अमरावति कान्तिपुरी नगरी।

भानुभक्तको यो कविता लिएर मञ्चमा उक्लिएका थिए, एम्बिसन एकेडेमीका विद्यार्थीहरू। तोटक छन्दको यो कविता वाचनसँगै मिसिएको थियो लोचन भट्टराईको संगीत।

कार्यक्रमको सुरुदेखि कवितामा डुबेका शताब्दी पुरुष सत्यमोहन जोशीले बालबालिकादेखि गायक/गायिकाका कविता गायनमा रोचकता भेटेछन्। उनले भने, 'यो प्रस्तुतिमा बडो रोचकता भेटेँ। हाम्रो परम्परा र मौलिकतामा लोकलहरीलाई प्रस्तुत गरिएको छ।' उनले नेपाली समाजको र इतिहासको मौलिकता कायम राख्नका लागि यस्ता कार्यक्रम आयोजना गरिरहनुपर्ने बताए। उनले नेपाली समाजको अन्वेषणका लागि आफ्नै विगतिर फर्किनुपर्ने बताए। अहिलेका लेखक, अग्रजहरूमा पनि भानुभक्तको जस्तो दूरदृष्टि हुनुपर्नेमा जोड दिए।

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि कविताको सांगीतिक प्रस्तुतिले छोएछ। सांगीतिक प्रस्तुतिको प्रशंसा गर्दै उनले नेपाली भाषाको स्थापना र बिस्तारमा भानुभक्तको अतुलनीय योगदान रहेकोले उनलाई सम्झिनुपर्ने बताए। उनले भने, 'जसरी हामी पितृलाई सम्झन्छौँ, त्यसरी नै भानुलाई पनि सम्झनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.