|

  • सौगात श्रेष्ठ

बर्दिया : ठाकुरबाबा नगरपालिका–२ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका शिवराम थारु चुनाव हुने दिनसम्म आफ्नै जित हुनेमा ढुक्क थिए। तर जब मतगणना सुरु भयो, त्यसपछि नेकपा माओवादी केन्द्रका हरिराम थारुले अग्रता लिए। अनि शिवरामलाई भित्राभित्रै लाग्यो, ‘किन एक मतले जित्छु या त एकै मतले हार्छु।’ अनुमान सही निस्कियो। तर उनको अनुकुल निस्किएन। 

शिवराम थारु वडाध्यक्षमा १ मतले पराजित भए। चाखलाग्दो विषय के छ भने ५१ वर्षका शिवराम १ मतले पराजित भएको यो चौथो चुनाव हो। यसका अलावामा एकपटक उनी २ मतले पनि पराजित भएका छन्। अर्थात जीवनका ५ दशक पार गर्दासम्म अहिलेजस्तो पीडा उनले ५ पटक भोगिसकेका छन्।  

२० वर्ष अघि २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा उनी निर्विरोध वडा अध्यक्ष चयन भएका थिए। त्यसपछि उनी बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र अन्तर्गतको श्रीराम नगर उपभोक्ता समितिको अध्यक्षमा चुनावमा उठे। पहिलोपटक यस चुनावमा उनी १ मतले पराजित भए।

त्यसपछि थारु समुदाय विकास मञ्च भुरीगाउँको अध्यक्षमा उठे। यहाँ पनि १ मतले हारे। यस्तै, नगरपालिकाको वडा नागरिक मञ्च अध्यक्ष चयनका लागि भएको चुनावमा पनि शिवनारायण १ मतले नै हारे।

क्याम्पस व्यवस्थापन समितिमा पनि यस्तै नमिठो हारको अनुभव उनीसँग छ। त्यहाँ उनी २ मतान्तरले पराजित भए। तीनपटकसम्म अध्यक्ष पदमा १ मत अन्तरले र एकपटक क्याम्पस व्यवस्थापन समितिको सदस्यमा २ मत अन्तरले हारेका शिवनारायण यसपटक आशावादी थिए। ५० मतले पछि परेको अवस्थाबाट मतान्तर घटाउँदै उनी बराबरीको अवस्थामा पनि पुगे। 

अन्तिम  ३ मत गन्न बाँकी छदाँ उनी १ मतले मात्रै पछि थिए। त्यसपछि २ मत गन्दा १ मत शिवरामको पक्षमा आयो।  अर्थात दुबै उम्मेदवारबीच बराबर भयो।अब अन्तिम मतले नै विजयी हुने उम्मेदवारको फैसला गर्ने भयो। 

अन्तिमको मतपत्र गणनाका लागि पल्टाइयो। तर शिवनारायणको भाग्य पल्टिएन। अन्तिम मत नेकपा माओवादी केन्द्रका हरिराम थारुको पक्षमा आयो। 
१ मतको अन्तरले हार्ने मामिलामा ह्याट्रिक गरिसकेका शिवनारायण फेरि उस्तै अवस्थाबाट गुज्रिए।  

माओवादीका हरिराम थारु ९३२ मतसहित विजयी भएको घोषणा भयो। ९३१ मत ल्याएका शिवराम पराजित भए। १ मतले पराजित भएका शिवराम थारुले मतदाताहरुलाई धन्यवाद् दिदैं भन्ने गरेका छन्। ‘मलाई तपाईहरुले साथ दिनुभएको हो। तर के गर्नु भाग्यले साथ दिएन।’

थाहाखबरसँगको कुराकानीमा उनले भने,‘ अब चुनाव लड्दा ज्योतिषलाई हेराएर मात्रै लड्छु। ज्योतिषले तैले जित्छस् भनेपछि मात्रै उठ्छु।’ उनका बुझाईमा चुनाव हुनअघि जितको हिसाब-किताब गर्न जति सजिलो हुन्छ। चुनाव सकिएर मतगणना भइराख्दा नतिजा पक्षमा आउँछ वा विपक्षमा भने अड्कल लगाउन त्यति नै गाह्रो हुन्छ।

अझ प्रतिस्पर्धी र आफ्नो मत उस्तै–उस्तै आउन थाल्यो भने छट्पटी र व्यग्रता बढ्छ। भाग्य भन्नुस् वा अरु केही, यस्तो घटना उनको जीवनमा पटक–पटक घट्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.