|

धनकुटा : हेर्दा कलिलो देखिने पशुझैं अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका धनकुटाका एक युवा विगत १० वर्षदेखि खोरमा जीवन बिताउन बाध्य भएका छन्। गरिब परिवारमा जन्मिएका धनकुटा नगरपालिका–३ सिप्तेनका १८ वर्षीय रुद्रबहादुर राई बाँस र टिनले बारिएको चौघेरामा दैनिकी जीवन जिउन बाध्य भएका हुन्।

बिहान सबेरै खोलेफाँडो खुवाएर अरूको मेलापातमा जाने बाबुआमा रुद्रबहादुरलाई खोरमा थुनेर साँझ अबेर मात्र घरमा आउने गरेको बताउँछन्।जन्मिदै अपाङ्गता भएका रुद्रबहादुर हिँडडुल गर्न त परको कुरा बोल्न पनि सक्दैनन्। आमा गंगामाया र बाबु मानबहादुर राईका दुई मध्येका कान्छा सन्तान रहेका रुद्रबहादुर चार पाउ टेकेर मुस्किलले बामे सर्न भने सक्छन्। दिनभर दिसापिसाब ओछ्यानमा नै गर्ने रुद्रबहादुर अपाङ्गतासँगै सुस्तसमेत रहेको आमा गंगामायाले बताइन्।

आर्थिक स्थिति अति कमजोर रहेको राई परिवारमा जेठो सन्तानका रुपमा रहेकी २४ वर्षीया रामदेवी राई वैदेशिक रोजगारीमा गएर आमाबाबु र भाइको मुहार फेर्न भन्दै साहुसँग ऋण खोजेर एक महिनाअगाडि काठमाडौंतिर गएकी बाबु मानबहादुरले बताए।

सम्पत्तिका नाममा रहेको एक घरसमेत भूकम्पले क्षति गरेको र तीन रोपनी पाखो बारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि छोरा रुद्रबहादुरलाई खोरमा थुनेर अर्काको घरदैलो मेलापातमा काम खोज्न बिहान सबेरै घरबाट निस्कनुपर्ने बाध्यता रहेको आमा गंगामाया बताउँछिन्।  सरकारले छोरा रुद्रबहादुरको अपाङ्गता भत्ताबापत दिने मासिक दुई हजारले नुन तेल जुटाउने गरेका मानबहादुर छाक टार्न छोरालाई खोरमा थुनेर सधैं दुबैजना बनिबुतोमा लाग्नुपर्ने बाध्यता रहेको बताउँछन्।

भगवानले सन्तानमार्फत ठगेपछि गरिबमाथि गरिब बन्नु परेको आमा गंगामायाले दुखेसो गरिन्। घरधन्दा र किसानी मेलापातबाहेक कुनै सीप नभएका दम्पती दैनिक काम पाउन नसके भोकभोकै बस्नुपर्ने अवस्था रहेको छ।

घरमा हेरचाह गर्ने मानिसको अभावमा खोरमा थुनिएका रुद्रबहादुर हाउभाउ र इसारा मात्र गर्ने गरे पनि केही वर्षअघि घरमा पालिएको सुँगुरले दायाँ कान खाइदिएपछि सुस्त भएका बाबु मानबहादुरले बताए। आफ्नो सन्तान दिनभर भोकैतिर्खै छोडेर काम गर्दा याद आए पनि मुटु मिचेर काम गर्नुपर्ने र साँझपख मात्रै घर पुगेर छोराको हेरचाह गर्नुपर्ने बाध्यता भएको आमा गंगामायाले भक्कानिँदै बताइन।

उनले भनिन्, ‘आफूले जन्माएको सन्तान हो, बाँचेसम्म दुःखसुख गरेर भ्याएसम्म स्याहार गरेका छौँ नि तर उसैको पालनका लागि आएको भत्ताले पनि केही मिठो खानेकुरासमेत दिन नसक्नुले आफैंलाई धिक्कार्दै बस्नुपरेको छ।’ विपन्नताका कारण खर्च अभावमा उपचार गराउन सदरमुकामको अस्पतालसम्म पनि पुर्‍याउन नसकिएको राई दम्पतीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.